कोशीका दूध उत्पादकले पाएनन् २५ करोड भुक्तानी

विराटनगर। कोशी प्रदेश सरकारले दूध उत्पादकको समस्या समाधान गर्न दुग्धजन्य पदार्थ निर्यातमा ४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ विक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादकको ६ महीनादेखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएपछि प्रदेश सरकारले निर्यातमा अनुदान दिन लागेको हो ।  उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मंगलवार आयोजित दूध उत्पादकसँगको अन्तरक्रियामा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले यस प्रदेशका दूध उत्पादकले भोग्दै आएको समस्या समाधान गर्न सरकारले तयारी थालेको बताए । ‘यस प्रदेशमा रहेको विराटनगर दुग्ध वितरण आयोजनालगायत निजी डेरीहरूले उत्पादित दुग्धपदार्थ विक्री नहुँदा किसानको भुक्तानी दिन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले यस प्रदेशमा भण्डारण गरिएको दुग्धजन्य पदार्थ निर्यातका लागि प्रदेश सरकारले अनुदान दिने तयारी गरेको छ ।’ चालू आर्थिक वर्ष (आव) को बजेटमा घ्यू र धूलो दूध निर्यातमा अनुदान दिने भनिएको छ । अनुदान वितरणका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको मन्त्री राईले जानकारी दिए । इलामका दूध उत्पादक भूपेन्द्र गड्तौलाले विराटनगर दुग्ध वितरण आयोजनाले दूधको भुक्तानी नदिँदा गाईबस्तुलाई खुवाउने दाना, छोराछोरीको पठनपाठनका साथै घरव्यवहार चलाउन समस्या भएको बताए । ‘गत असारदेखि विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी दिएको छैन,’ उनले भने, ‘दूधको भुक्तानी रोकेको आयोजनाले दूध किन्न पनि छाडिसकेकाले किसान दोहोरो मारमा परेका छन् ।’  अर्का किसान भरत तिम्सिनाले विराटनगर दुग्ध वितरण आयोजनाले इलामका किसानसँग यसअघि दैनिक ६/७ हजार लिटर दूध किन्ने गरेको तर अहिले ६/७ सय लिटर पनि नकिनिदिएको गुनासो पोखे । ‘ऋणमा गाईबस्तु किनेर दूध उत्पादन गर्दै आएको किसान दूध विक्री नहुँदा टाट पल्टिने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यसअघि विक्री गरेको दूधको भुक्तानी नपाएको पीडा एकातिर छ भने अर्कोतिर उत्पादित दूध नबिकेर गाईबस्तुका लागि दाना किन्न पाएका छैनौं । ऋणको किस्ता तिर्न परेको सकस आफ्नै ठाउँमा छ ।’  छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख प्रमेश्वर चौधरीले किसानबाट संकलित दूधबाट उत्पादित वस्तु नबिकेर थन्क्याउनु पर्दा किसानलाई भुक्तानी दिन नसकेको बताए । उत्पादित दुग्धपदार्थ भण्डारण गरेर लामो समय राख्दा लागत बढिरहेको उनको भनाइ छ । दुग्धजन्य पदार्थलाई निश्चित तापक्रममा राख्दा विद्युत् खपत हुन्छ । ‘६ महीनादेखि संस्थानले किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न सकेको छैन,’ उनले भने, ‘किसानलाई भुक्तानी दिन केन्द्र सरकारसँग ऋण लिन पहल भइरहेको छ । ऋण प्राप्त हुने बित्तिकै किसानलाई भुक्तानी हुन्छ ।’ प्रमुख चौधरीले घ्यू र धूलो दूध निर्यातमा प्रदेश सरकारले छिट्टै सहजीकरण गरिदिए दुग्ध वितरण आयोजना ऋणको भारबाट मुक्त हुने बताए । निजी डेरी सञ्चालकहरूले बंगलादेश, जापानलगायत देशमा दुग्धजन्य पदार्थ निर्यातका लागि प्रयास गरिरहेकाले प्रदेश सरकारले निर्यातमा अनुदान दिन लागेको हो ।  उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले दुग्धजन्य पदार्थ तेस्रो मुलुक निर्यात गर्दा प्रदेश सरकारले दिने अनुदानका लागि कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताए । उनले कार्यविधि मन्त्रिपरिषद्बाट तत्काल पारित गराएर अनुदान वितरण प्रक्रिया शुरू गर्न तथा दूध उत्पादक किसान र व्यवसायीको समस्या समाधान गर्न मन्त्रालय लागिपरेको बताए । 

सम्बन्धित सामग्री

स्टार्टअपमा खेलाँची गर्दै सरकार

सरकारले कर्जाको ब्याजमा सहुलियत दिने र पूँजी नभएका तर आइडिया भएका व्यवसायलाई सघाउने नीति ल्याए पनि ती नीति स्थिर नहुँदा स्टार्टअप इकोसिस्टम विकास गर्ने सरकारी घोषणाबाट अहिलेसम्म कसैले लाभ लिन पाएको छैन काठमाडौं। सरकारले मुलुकमा स्टार्टअप इकोसिस्टम विकास गर्ने बताइरहे पनि उसको व्यवहारले स्टार्टअप व्यवसायको प्रवर्द्धनमा खेलाँची भइरहेको देखाएको छ । सहुलियत कर्जाको पाइपलाइनमा स्टार्टअप उद्यमहरू रहेकै बेला हठात् उक्त प्रक्रिया रोकिने गरी नयाँ कार्यविधि स्वीकृत गरेपछि स्टार्टअप इकोसिस्टम विकास गर्ने सरकारको प्रतिबद्धतामा प्रश्न उठेको हो । सरकारले २०७९ चैतमा सय स्टार्टअप उद्यमलाई सहुलियत कर्जा उपलब्ध गराउने भन्दै आवेदन आह्वान गरेर प्रक्रिया अघि बढाएको थियो । उक्त प्रक्रिया पूरा नहुँदै सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेपछि सहुलियत ऋण प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेका स्टार्टअप उद्यमीहरू हिस्स भएका छन् । सरकारले परियोजना धितोमा सहुलियत ब्याजको कर्जा दिने कार्यक्रम कार्यान्वयनमा ढिलाइ पनि गरिरहेको थियो ।  उद्योग विभागले त्यतिबेला स्टार्टअप कर्जाका लागि आवेदन मागेको थियो । सरकारले उपलब्ध गराउने सहुलियत कर्जा लिएर व्यवसाय उकास्ने उद्देश्य राखेर ३८२ आवेदन परेको थियो । त्यसबाट छानिएका सय स्टार्टअप उद्यमलाई सहुलियत कर्जा उपलब्ध गराउने भनेर सरकारले २५ करोड रुपैयाँ विनियोजनसमेत गरेको थियो । यसैबीच स्वीकृत गरिएको नयाँ कार्यविधिले स्टार्टअप कर्जा कार्यान्वयन गर्ने निकाय नै बदलिदिएपछि उक्त बजेट फ्रिज भएको छ । थप मूल्यांकनको चरणमा पुगेका १६९ ओटा स्टार्टअप उद्यमले उद्योग विभागमार्फत कर्जा नपाउने भएका छन् ।  सरकारले २०७९ फागुन १० गते ‘स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९’ लागू गरेको थियो । उक्त कार्यविधिले उद्योग विभागलाई सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो । सोही कार्यविधिमा टेकेर विभागले प्रतिस्टार्टअप अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने नीति लिएर आवेदन मागेको थियो । त्यसको १ वर्ष नबित्दै सरकारले सोमवार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको हो । अब स्टार्टअप उद्यमलाई कर्जा सहजीकरण गर्ने, आवेदन माग्नेलगायत काम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । राष्ट्रिय योजना आयोगले पनि २०७७ वैशाखमा स्टार्टअप व्यवसायलाई सघाउने भन्दै आवेदन मागेको थियो । सोही वर्ष मङ्सिरमा ६९९ जनाले व्यावसायिक योजनासहित आयोगमा आवेदन दिएका थिए । तिनले पनि सरकारबाट कुनै प्रोत्साहन वा सहयोग पाएनन् ।  सरकारले कर्जाको ब्याजमा सहुलियत दिने र पूँजी नभएका तर आइडिया भएका व्यवसायलाई सघाउने नीति ल्याए पनि ती नीति स्थिर नहुँदा स्टार्टअप इकोसिस्टम विकास गर्ने सरकारी घोषणाबाट अहिलेसम्म कसैले लाभ लिन पाएको छैन । यसैबीच सरकारले नयाँ कार्यविधि स्वीकृत गरेको छ ।   १ वर्ष नहुँदै कर्जा दिने निकाय फेरियो   अदूरदर्शी कदमले २५ करोड बजेट फ्रिज   सहुलियत ऋणको अन्तिम चरणमा पुगेका स्टार्टअप हिस्स उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसालले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अब औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कार्यान्वयन गर्ने जानकारी दिए । ‘उद्योग विभाग यस सम्बन्धमा विज्ञता भएको निकाय होइन,’ उनले भने, ‘विज्ञता, अनुभव भएको संस्थाबाट काम गर्ने निर्णय भएकाले अब यो कार्यक्रम प्रतिष्ठानले अघि बढाउँछ ।’  उनले गतवर्ष उद्योग विभागमा परेको आवेदनका सम्बन्धमा थप प्रक्रिया अघि नबढ्ने पनि बताए । ‘पुराना आवेदनकर्ता (विभागमा आवेदन दिएका)ले फेरि आवेदन हाल्न पाउँछन्,’ भुसालले भने, ‘गतवर्षको बजेट फ्रिज भएकोले त्यसलाई पुन: शुरू गर्न मिल्दैन ।’ नयाँ आवेदन आह्वान गरिने, सम्बद्ध बैंक र कर्जा सुरक्षण कोषसँग पनि सम्झौताको तयारी रहेको उनले जानकारी दिए । ‘स्टार्टअपका लागि पर्याप्त काम भइरहेको छ,’ भुसालले दाबी गरे, ‘अब यो कार्यविधि कार्यान्वयनमा जाने निश्चित भएको छ । अहिलेको कार्यविधि कार्यान्वयन गर्न सजिलो छ ।’ स्टार्टअप उद्यम कर्जा कार्यान्वयन गराउने निकाय फेरिएसँगै सहजीकरण समितिको संयोजक पनि मन्त्रालयकै हुने व्यवस्था गरिएको छ । समितिमा मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका प्रमुख संयोजक रहने र विभागका महानिर्देशक सदस्य हुने कार्यविधिमा व्यवस्था छ ।  सरकारले स्वीकृत गरेको कार्यविधिले १६ ओटा क्षेत्र तथा उद्यमलाई स्टार्टअप तोकेको छ । कार्यविधिले तोकेका क्षेत्रमा कर्जा प्रवाह हुने र कर्जाको अवधि ५ वर्ष हुने भनिएको छ । कार्यविधिमा कर्जा लिनेले दोस्रो वर्षदेखि साँवा र ब्याजबापतको रकम तिर्न शुरू गर्नुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत हुनेछ ।  नयाँ कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाख रुपैयाँसम्म कर्जाको हकमा एक किस्ता, १५ लाख रुपैयाँसम्मको लागि २ किस्ता र त्योभन्दा माथि २५ लाख रुपैयाँसम्मको हकमा ३ किस्तासम्ममा रकम उपलब्ध गराउनेछ । यो कार्यविधिअनुसार पनि एउटा स्टार्टअपले अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउनेछ । यो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा पनि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष नै कार्यक्रम कार्यान्वयनमा जाने भुसालले दाबी गरे । गतवर्षको कार्यक्रम कार्यान्वयनमा नआउनुमा कर्जा सुरक्षणको विषय पनि रहेको उनले बताए । ‘तर, यो कार्यविधिले उक्त विषय पनि सम्बोधन गरेको छ,’ उनले भने ।  कर्जा प्रवाह गर्दा बैंकले प्रचलित कानूनबमोजिम निक्षेप सुरक्षण तथा कर्जा सुरक्षण कोषमा कर्जाको सुरक्षण गराउनुपर्ने प्रावधान कार्यविधिमा छ । त्यसअनुसार कर्जा सुरक्षणका लागि उक्त प्रतिष्ठानले प्रवाहित कर्जाको २५ प्रतिशत रकम स्वीकृत बजेटको सीमाभित्र रही स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषमा राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।  अहिलेको कार्यविधिले पनि कर्जाका लागि निवेदन दिने अन्तिम मितिसम्म ७ वर्ष ननाघेको, कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नविन प्रविधि तथा सृजनशील सोचको प्रयोग भएको, कुल चुक्तापूँजी २ लाखदेखि १० लाख रुपैयाँभन्दा बढी नभएको, कारोबार वार्षिक २ करोड रुपैयाँभन्दा बढी नभएकोलगायत मापदण्ड तोकेको छ ।

कोशीका दूध उत्पादक किसानले पाएनन् २५ करोड रुपैयाँ भुक्तानी

कोशी सरकारले दूध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादक किसानको ६ महिनादेखिको २५ करोड भुक्तानी नदिएपछि प्रदेश सरकारले निर्यातका लागि अनुदान दिन लागेको हो ।

प्रदेश १ भरि असोजपछि इँटा अभाव हुने संकेत

विराटनगर । कोरोना महामारीका कारण भारतीय मजदुर आउन नपाएपछि प्रदेश १ का इँटा उद्योगको उत्पादन रित्तिन थालेको छ । हिउँदमा खोल्नुपर्ने इँटा उद्योगको चिम्नी वरिपरिको अन्तिम लेयर पनि यसै बेला खोलेर इँटा उद्योगले बिक्री गर्न थालेपछि असोजपछि इँटा अभाव देखिएको हो । सोही कारण १८ रुपैयाँ प्रतिगोटा पाउँदै आएको १ नम्बर इँटाको मूल्य २३ रुपैयाँ पुगेको छ । भारतीय मजदुर प्रत्येक वर्ष भदौ अन्तिम देखि असोज महिनामा इँटाभट्टामा आउने र उनीहरू वैशाख लागेपछि फर्कने गरेका थिए । तर, सरकारले कोरोनाको कारण देखाउँदै गत वर्षदेखि भारतको कुचविहारबाट आउने मजदुर ल्याउने अनुमति उद्योगलाई नदिएपछि नेपाली अदक्ष मजदुरबाट इँटा उत्पादन पूर्ण रूपमा हुन नसक्दा अभाव सुरु भएको नेपाल उद्योग परिसंघ अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनका अनुसार उद्योगले अन्तिम लटमा पकाउन चिम्नीमा हालेको इँटा अर्को सिजनको सुरुमा मात्र खाली गर्ने गरेका थिए । तर, यसपटक बजारमा इँटा अभाव भई उपभोक्ताको माग थेग्न नसकेर व्यवसायीले धमाधम डक खाली गरिरहेका छन् । उद्योगले चिम्नी र इँटा पोल्ने टनेल सुरक्षाका लागि अन्तिम राउन्डको उत्पादन डकमै छाड्ने गर्दथे । डक खाली गर्दा बर्खामा टनेल र वाल भत्किएर ठूलो नोक्सानी हुने भएकाले हिउँद लागेपछि मात्र खाली गर्ने गरिएकामा अहिले सबै खाली भइसकेका छन् । यसबाट सुनसरी र मोरङका उपभोक्ताको झन्डै दुई महिनाको माग मात्र धानिने अनुमान व्यवसायीले गरेका छन् । डक खाली गर्दा झन्डै ४ करोड थान इँटा निस्किने अनुमान व्यवसायीको छ । एउटा डकमा करिब १० लाख थान इँटा हुन्छ । अध्यक्ष घिमिरेका अनुसार अब करिव २० प्रतिशत डक मात्र खुल्न बाँकी रहेको र असोजपछि बजारमा इँटा पाउने सम्भावना न्यून छ । मंसिर दोस्रो साताबाट भने नयाँ उत्पादन सुरु हुन्छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण नेपाल–भारत सीमा बन्द हुँदा भारतबाट इँटा बनाउने मजदुर नेपाल आउन पाएनन् । सोही कारण मोरङ र सुनसरीका उद्योगले ९० प्रतिशत उत्पादन कटौती गरे । सामान्य अवस्थामा सुनसरी र मोरङमा सञ्चालित ५५ वटा इँटा उद्योगले वार्षिक २५ करोड थान इँटा उत्पादन गर्दै आएका थिए । गत वर्ष ती उद्योगले १० प्रतिशत मात्र उत्पादन गरेको इँटा उद्योग व्यवसायी संघ कोशीका पूर्वअध्यक्ष महेन्द्र साहले जानकारी दिए । ‘असहज अवस्थाका कारण धेरै उद्योगले इँटा उत्पादन गरेनन् । केही उद्योगले सीमित संख्यामा उत्पादन गरेका छन्,’ उनले भने । उत्पादन घटेका कारण गत फागुन, चैतदेखि नै बजारमा इँटा अभाव देखापरेको थियो । मागको तुलनामा इँटा आपूर्ति नहुँदा यसै अवधिमा मूल्य पनि बढेको छ । प्रतिगोटा १८ रुपैयाँमा पाइने इँटाको अहिलेको बजार मूल्य २३ रुपैयाँसम्म पुगेको छ । अहिले बजारमा न्यूनतम २१ देखि अधिकतम २३ रुपैयाँसम्ममा इँटा बिक्री भइरहेको पूर्वअध्यक्ष साहले बताए । ‘हामीले २१ रुपैयाँमा बेच्दै छौं तर बजारमा २३ रुपैयाँसम्म कारोबार भइरहेको छ’, साहले भने, ‘माग र आपूर्तिको असन्तुलनका कारण बजारमा मूल्य बढेको हो । अहिले मागअनुसार आपूर्ति गर्नसक्ने अवस्था छैन ।’ आगामी सिजनमा अवस्था सामान्य भएको खण्डमा श्रमिक आउन तयार रहेकाले उत्पादन बढ्ने र मूल्य पनि घट्ने व्यवसायी साहले बताए । सामान्य अवस्था भए इँटाको मूल्य बढीमा २० रुपैयाँ कायम हुने उनको भनाइ छ । तर, जारी कोइलाको मूल्यवृद्धि नियन्त्रण नभए मूल्य बढ्ने सम्भावना रहेको उनले सुनाए । नेपालका उद्योगहरूले अहिले अमेरिकाबाट कोइला आयात गर्दै आएका छन् । पानीजहाजको भाडा अन्तर्राष्ट्रिय रूपमा वृद्धि भएको र डलरको मूल्यसमेत बढेका कारण इँटा उत्पादन लागत बढ्ने सम्भावना रहेको उनको बुझाइ छ । इँटा उत्पादन कम भएको समय गत वर्ष सरकारी पूर्वाधार निर्माणको काम पनि न्यून भएका थिए । यसले बजारमा सोचेजति अभावको अवस्था भने नभएको व्यवसायीले बताए । सार्वजनिक र निजी आवास निर्माणको काम पनि विगतको तुलनामा घटेको थियो । तर, उत्पादकले बजारमा मागअनुसार इँटा आपूर्ति गर्न सकेका थिएनन् । उपभोक्ताले सिराहा र सप्तरीबाट सानो साइजको इँटा ल्याएर काम चलाएका थिए । यस पटक भने भारतबाट श्रमिक ल्याउन समस्या नहुने अनुमान व्यवसायीले गरेका छन् । परिसंघले दक्ष श्रमिक ल्याउने कार्यमा सहजीकरण गरिदिन प्रदेश र संघीय सरकारसमक्ष पहल गरेको थियो । परिसंघकै पहलमा संघीय सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन र स्थानीय पालिकाको स्वीकृतिमा श्रमिक ल्याउन सकिने व्यवस्था भएको अध्यक्ष घिमिरेले जानकारी दिए । सरकारले सहजीकरण गरिदिए यसपटक समयमै मजदुर ल्याउन सकिने भएकाले उत्पादन ६० प्रतिशतसम्म गर्न सकिने उनले बताए ।