प्रदेश १ भरि असोजपछि इँटा अभाव हुने संकेत

विराटनगर । कोरोना महामारीका कारण भारतीय मजदुर आउन नपाएपछि प्रदेश १ का इँटा उद्योगको उत्पादन रित्तिन थालेको छ । हिउँदमा खोल्नुपर्ने इँटा उद्योगको चिम्नी वरिपरिको अन्तिम लेयर पनि यसै बेला खोलेर इँटा उद्योगले बिक्री गर्न थालेपछि असोजपछि इँटा अभाव देखिएको हो । सोही कारण १८ रुपैयाँ प्रतिगोटा पाउँदै आएको १ नम्बर इँटाको मूल्य २३ रुपैयाँ पुगेको छ । भारतीय मजदुर प्रत्येक वर्ष भदौ अन्तिम देखि असोज महिनामा इँटाभट्टामा आउने र उनीहरू वैशाख लागेपछि फर्कने गरेका थिए । तर, सरकारले कोरोनाको कारण देखाउँदै गत वर्षदेखि भारतको कुचविहारबाट आउने मजदुर ल्याउने अनुमति उद्योगलाई नदिएपछि नेपाली अदक्ष मजदुरबाट इँटा उत्पादन पूर्ण रूपमा हुन नसक्दा अभाव सुरु भएको नेपाल उद्योग परिसंघ अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनका अनुसार उद्योगले अन्तिम लटमा पकाउन चिम्नीमा हालेको इँटा अर्को सिजनको सुरुमा मात्र खाली गर्ने गरेका थिए । तर, यसपटक बजारमा इँटा अभाव भई उपभोक्ताको माग थेग्न नसकेर व्यवसायीले धमाधम डक खाली गरिरहेका छन् । उद्योगले चिम्नी र इँटा पोल्ने टनेल सुरक्षाका लागि अन्तिम राउन्डको उत्पादन डकमै छाड्ने गर्दथे । डक खाली गर्दा बर्खामा टनेल र वाल भत्किएर ठूलो नोक्सानी हुने भएकाले हिउँद लागेपछि मात्र खाली गर्ने गरिएकामा अहिले सबै खाली भइसकेका छन् । यसबाट सुनसरी र मोरङका उपभोक्ताको झन्डै दुई महिनाको माग मात्र धानिने अनुमान व्यवसायीले गरेका छन् । डक खाली गर्दा झन्डै ४ करोड थान इँटा निस्किने अनुमान व्यवसायीको छ । एउटा डकमा करिब १० लाख थान इँटा हुन्छ । अध्यक्ष घिमिरेका अनुसार अब करिव २० प्रतिशत डक मात्र खुल्न बाँकी रहेको र असोजपछि बजारमा इँटा पाउने सम्भावना न्यून छ । मंसिर दोस्रो साताबाट भने नयाँ उत्पादन सुरु हुन्छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण नेपाल–भारत सीमा बन्द हुँदा भारतबाट इँटा बनाउने मजदुर नेपाल आउन पाएनन् । सोही कारण मोरङ र सुनसरीका उद्योगले ९० प्रतिशत उत्पादन कटौती गरे । सामान्य अवस्थामा सुनसरी र मोरङमा सञ्चालित ५५ वटा इँटा उद्योगले वार्षिक २५ करोड थान इँटा उत्पादन गर्दै आएका थिए । गत वर्ष ती उद्योगले १० प्रतिशत मात्र उत्पादन गरेको इँटा उद्योग व्यवसायी संघ कोशीका पूर्वअध्यक्ष महेन्द्र साहले जानकारी दिए । ‘असहज अवस्थाका कारण धेरै उद्योगले इँटा उत्पादन गरेनन् । केही उद्योगले सीमित संख्यामा उत्पादन गरेका छन्,’ उनले भने । उत्पादन घटेका कारण गत फागुन, चैतदेखि नै बजारमा इँटा अभाव देखापरेको थियो । मागको तुलनामा इँटा आपूर्ति नहुँदा यसै अवधिमा मूल्य पनि बढेको छ । प्रतिगोटा १८ रुपैयाँमा पाइने इँटाको अहिलेको बजार मूल्य २३ रुपैयाँसम्म पुगेको छ । अहिले बजारमा न्यूनतम २१ देखि अधिकतम २३ रुपैयाँसम्ममा इँटा बिक्री भइरहेको पूर्वअध्यक्ष साहले बताए । ‘हामीले २१ रुपैयाँमा बेच्दै छौं तर बजारमा २३ रुपैयाँसम्म कारोबार भइरहेको छ’, साहले भने, ‘माग र आपूर्तिको असन्तुलनका कारण बजारमा मूल्य बढेको हो । अहिले मागअनुसार आपूर्ति गर्नसक्ने अवस्था छैन ।’ आगामी सिजनमा अवस्था सामान्य भएको खण्डमा श्रमिक आउन तयार रहेकाले उत्पादन बढ्ने र मूल्य पनि घट्ने व्यवसायी साहले बताए । सामान्य अवस्था भए इँटाको मूल्य बढीमा २० रुपैयाँ कायम हुने उनको भनाइ छ । तर, जारी कोइलाको मूल्यवृद्धि नियन्त्रण नभए मूल्य बढ्ने सम्भावना रहेको उनले सुनाए । नेपालका उद्योगहरूले अहिले अमेरिकाबाट कोइला आयात गर्दै आएका छन् । पानीजहाजको भाडा अन्तर्राष्ट्रिय रूपमा वृद्धि भएको र डलरको मूल्यसमेत बढेका कारण इँटा उत्पादन लागत बढ्ने सम्भावना रहेको उनको बुझाइ छ । इँटा उत्पादन कम भएको समय गत वर्ष सरकारी पूर्वाधार निर्माणको काम पनि न्यून भएका थिए । यसले बजारमा सोचेजति अभावको अवस्था भने नभएको व्यवसायीले बताए । सार्वजनिक र निजी आवास निर्माणको काम पनि विगतको तुलनामा घटेको थियो । तर, उत्पादकले बजारमा मागअनुसार इँटा आपूर्ति गर्न सकेका थिएनन् । उपभोक्ताले सिराहा र सप्तरीबाट सानो साइजको इँटा ल्याएर काम चलाएका थिए । यस पटक भने भारतबाट श्रमिक ल्याउन समस्या नहुने अनुमान व्यवसायीले गरेका छन् । परिसंघले दक्ष श्रमिक ल्याउने कार्यमा सहजीकरण गरिदिन प्रदेश र संघीय सरकारसमक्ष पहल गरेको थियो । परिसंघकै पहलमा संघीय सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन र स्थानीय पालिकाको स्वीकृतिमा श्रमिक ल्याउन सकिने व्यवस्था भएको अध्यक्ष घिमिरेले जानकारी दिए । सरकारले सहजीकरण गरिदिए यसपटक समयमै मजदुर ल्याउन सकिने भएकाले उत्पादन ६० प्रतिशतसम्म गर्न सकिने उनले बताए ।

सम्बन्धित सामग्री

प्रदेश १ मा औषधिको अभाव हुन थाल्यो

कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि प्रदेश १ मा औषधि अभावका संकेत देखापर्न थालेका छन्