बागलुङ । धवलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा २ महिना ढिला भएको अस्पतालले बताएको छ ।
अस्पतालको स्तरवृद्धि गरी २०० शøयाको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिनेगरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शøयालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकैपटक ४७ जना गम्भीर बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।
अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि ३ करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा २ करोड ४० लाखमा उपलब्ध गराउने एक कम्पनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए ।
चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ छ । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । २ वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ९० लाख लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।
अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शøयाको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस