सार्वजनिक बिदामा नयाँ अभ्यास

सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेकका सार्वजनिक बिदाका दिन खोल्ने निर्णय गरेको छ । नेपालमा बिदा धेरै भएको र त्यसले सार्वजनिक सेवा प्रवाह निकै कमजोर बनाएको भनी सरकारको आलोचना भइरहेको छ । हुँदाहुँदा सरकारपिच्छे नै बिदाको दिन घोषणा गर्ने अभ्यास भइरहेको छ । वर्तमान सरकारले फागुन १ लाई ‘जनयुद्ध’ दिवस मनाउन बिदा दिने निर्णय गर्‍यो । यस्ता बिदा दिँदै जाने हो भने बिदाको दिनको सूची लामै हुनसक्छ । जथाभावी बिदा दिन थाल्दा बढेको जनआक्रोश मत्थर पार्न सरकारले अत्यावश्यक कार्यालयलाई शनिवारबाहेक सार्वजनिक बिदा नदिने अवधारणा अघि ल्याएको हुन सक्छ । यद्यपि सरकारको यो निर्णय कसरी कार्यान्वयन हुन्छ अहिले नै केही भन्न सकिँदैन । वास्तविकताचाहिँ अहिले भइरहेको बिदा धेरै हो, त्यस्ता बिदा कटौती नगरी हुँदैन । तर, फेरि पनि सस्तो लोकप्रियताका लागि बैंक र वित्तीय संस्थामात्रै बिदाका दिन खोल्ने र सरकारी कार्यालय ‘खुलेका छन्’ भनेर  प्रचार मात्र गरियो भने यसको औचित्य सिद्ध हुँदैन । सार्वजनिक सेवाप्रवाह प्रभावकारी हुने गरी तथा अर्थतन्त्रलाई सहयोग पुग्ने गरी सार्वजनिक  बिदा पुनरवलोकन हुनैपर्छ ।  २०७९ सालमा शनिवारबाहेक ४३ दिनभन्दा बढी सार्वजनिक बिदाको व्यवस्था गरियो । बिदा बढी हुँदा अर्थतन्त्रमा अर्बौंको घाटा हुने भनी निजीक्षेत्रले बताउँदै आएको छ ।  यति हुँदाहुँदै पनि विमान दुर्घटनादेखि विदेशी विशिष्ट पाहुनाको आगमनसम्ममा सरकारले बिदा दिन रोकेको छैन । नेपालमा सार्वजनिक बिदाका बारेमा निकै बहस र अनेकथरी प्रयोग भए पनि पर्याप्त अध्ययन भएको छैन । हप्ताको २ दिन बिदा दिएपछि सरकारी काम प्रभावित भएको भनी हटाइएको थियो । त्यही बिदा केही अघि २–३ महीना लागू गरेर हटाइयो । कहिले खर्च घटाउने, कहिले पर्यटनमा सहयोग पुग्ने त कहिले पेट्रोल खपत घटाउनेभन्दै यस्तो निर्णय भए पनि तिनले कुनै परिणाम दिन सकेनन् । यसो हुनुमा नेपालमा सरकारी कार्यालयमा कर्मचारीको उत्पादकत्व होइन, १०–५ को हाजिरीको आधारमा दिइने तलबमान कारण हो भन्न सकिन्छ । सरकारले उत्पादकत्वलाई आधार मानेर कर्मचारीको तलबमान निर्धारण गर्ने हो भने सरकारी सेवा प्रवाहमा सुधार आउन सक्छ । तर, कर्मचारी वर्ग यस्तो प्रणालीको सदैव विरोधी रहँदै आएको छ । नेपालमा सार्वजनिक बिदा धेरै भएकाले यसलाई घटाउन पर्व बिदा र सार्वजनिक बिदाको ठोस नीति बनाउन आवश्यक छ । सार्वजनिक बिदा भनेको राष्ट्रिय महत्त्वको दिन दिइने बिदा हो । यस्तो बिदा वर्षमा ३/४ ओटाभन्दा बढी हुनु हुँदैन । विश्वको अभ्यास पनि यस्तै खालको छ । तर, पर्व बिदा भने अलिक धेरै हुन्छ तर यो बिदा सबैलाई एकैचोटि दिइँदैन । अहिले सरकारले ल्याएको अवधारणाअनुसार काम गर्ने हो भने शनिवार र केही राष्ट्रिय बिदाबाहेक अन्य बिदाका दिनमा सबै कार्यालय खुलाउनुपर्छ ।   खासमा नेपालमा धार्मिक चाडपर्वमा बिदा दिनुको अर्थ राष्ट्रिय महत्त्व दिनु हो । त्यही भएर सबै जातजातिले आआफ्नो चाडपर्वमा राष्ट्रिय बिदाको माग गर्ने गरेका छन् । सरकार पनि यसमा उदार देखिँदै आएको छ । बहुजातीय र बहुधार्मिक मुलुकमा सबै धर्म र सम्प्रदायलाई आआफ्नो परम्पराअनुसार बिदा दिनु पर्छ । तर, यो बिदा सबैलाई दिने गरी अनिवार्य गरिनु हुँदैन । वर्ष दिनमा १०–१५ दिन यस्तो बिदा दिन सकिन्छ तर यो बिदा स्वैच्छिक हुनुपर्छ । आआफ्नो चाडपर्वमा सम्बद्ध कर्मचारीले बिदा लिन पाउँछन् तर सरकारी कार्यालय भने शनिवारबाहेक सधैं खुला रहनु पर्छ । यो व्यवस्था भए बिदाका कारण नागरिकका काम रोकिँदैनन् । सार्वजनिक बिदाका बारेमा पर्याप्त अध्ययन गरी सरकारले विद्यमान बिदाको प्रणालीमा परिवर्तन गर्नैपर्छ । अहिले शनिवारबाहेकका सार्वजनिक बिदामा केही सरकारी कार्यालय खुला राख्ने भनिएको छ तर सबै कार्यालय नखोल्ने हो भने सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्दैन किनभने धेरैजसो सरकारी सेवा विभिन्न कार्यालयसँग जोडिएका हुन्छन् । अत: सार्वजनिक सेवाप्रवाह प्रभावकारी हुने गरी तथा अर्थतन्त्रलाई सहयोग पुग्ने गरी सार्वजनिक बिदा पुनरवलोकन हुनैपर्छ । 

सम्बन्धित सामग्री

बिदा माने विकास !

स्थानीय चुनावको मतगणना जारी छ । एमालेमाथि कांग्रेस भारी छ । सडकमा फोहोर थुपारी छ । देशैभर बिदामाथि बिदाको उर्दी जारी छ । पेट्रोलियममा मूल्यवृद्धिको लगातार सवारी छ । यातायातको भाडा बढाउने फेरि अर्को तयारी छ । सरकार बिन्दास छ । जनता जिन्दावादमा व्यस्त छन् । काम गरेर खानुपर्नेहरू, कर तिर्नुपर्नेहरू थपिएको बिदाका कारण व्यवसाय चौपट हुँदै गएकोमा त्रस्त छन् । केही गर्नु नपर्नेहरू बिदा थपिएकोमा मस्त छन् । हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयबारे पक्षविपक्षमा आआफ्ना तर्क छन् । किनकि सबैका आआफ्ना अर्थ छन्, आआफ्ना स्वार्थ छन् । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि ।    दुईदिने बिदाले खासगरी महिलाहरूको कल्याण हुन्छ रे । एक दिन लुगा धुने, घर सरसफाइ गर्ने । अर्को दिन पूरै दिनभरि सुत्ने वा बाहिर घुम्न जाने मौका उनीहरूलाई जुर्छ रे । दुईदिने बिदाले आन्तरिक पर्यटन पनि बढ्छ रे । अब विदेशी पर्यटक पनि नचाहिने भो जस्तो छ । त्यस्तै दुई दिन बिदा भएसि करेसाबारीमा तरकारी धेरै फल्छ रे । यसको मतलब अब भारतबाट तरकारी आयात हट्ने भो, नभए पनि स्वात्तै घट्ने भो । बिदा दिए मानिस सुतिरहन्छन्, कोेची कोची खाँदैनन् अनि खाद्यान्नको आयात पनि घट्छ भनेरै सरकारले योे निन्जा टेक्निक लगाएको जस्तो छ । बिदाको दुरुपयोग होला भनेर सरकारले तास र दारु आयातमा प्रतिबन्ध लगाएर मात्र दुईदिने बिदाको घोषणा गर्‍यो । नत्र त बिदा बढाउँदै उत्पादन वृद्धि गर्ने सरकारको नीति फेल खान्थ्यो । अनि अब पनि कसैले भन्न सक्छ नेपालमा दूरदर्शी नेता र नीति निर्माताहरू छैनन् भनेर ?   सरकारले खासमा चाहिँ पेट्रोलियमको खपत घटाउन दुई दिन बिदा द्या रे । तर उता बिदामा घुम्न जान पाउँदा यसको खपत चाहिँ दोब्बर हुने भा छ रे । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएका कारण गहुँ लगायतमा भाउ बढेर छोइनसक्नु भा छ । अब गहुँको आयात घटाउन पनि कुनै नयाँ बिदाको योजना अघि सार्न म सरकारसँग जोडदार माग गर्दछु । ‘हाउथोर्न इफेक्ट’ भन्ने व्यवस्थापनको एउटा सिद्धान्त छ । यो सिद्धान्तले भन्न त अर्थोकै भन्छ, तर त्यसको नेपाली स्थानीयकरण अनुसार बढी बिदा भयो भने उत्पादकत्व बढ्छ रे । शायद त्यै भएर सरकारले हप्तामा ५ दिन मात्र काम गर्ने भनेर बनाएको होला । अब त्यो पनि घटाउँदै हप्तामा ४ दिन, ३ दिन काम गर्ने बनाउँदै जाऊँ न त, अझ उत्पादकत्व बढ्दै जान्छ कि ! हुन पनि दुनियाँले दुई दिन बिदा गरेर उत्पादकत्व बढाइराछन् भने हाम्रोमा किन नहुने ? विकसित भनिएका सबै देशमा दुईदिने बिदा देखेकै छौं । खाली अहिलेको प्रावधानले सरकारी अफिस बन्द हुँदा पनि प्राइभेट अफिस मात्र खुल्दा के हुने हो भन्ने मात्र प्रश्न हो । हप्तामा दुई दिन बिदा दिने देशहरूमा नेपालमा जस्तो अन्य बिदा यति धेरै त हुन्न होला । अनि उनीहरू कामका दिन राम्रैसँग काम गर्छन् होला । कि हाम्रा सरकारी कर्मचारीले जस्तै ‘सरकारी काम, कैले जाला घाम’ गर्छन् होला हँ ? जसरी अहिले पैसा झिक्न बैंकमा जानु पर्दैन, त्यसैगरी नागरिकता, पासपोर्ट आदि बनाउन सीडीओ अफिस जान नपर्ने भो भने त सरकारी अफिस सातै दिन बन्द गरे पनि भैगो त । शान्तिसुरक्षा आदि केही काम गर्नैपर्ने अवस्था हो भने सीडीओ सापको काम प्रहरी प्रभावलाई सुम्पिदिए पनि भो । सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर । यसै पनि अहिले शनिवार र आइतवार गरेर १०४ र अन्य बिदा ४६ दिन जोड्दा १५० दिन अर्थात् वर्षको ६ महीना त बिदै हुँदो रेछ । योबाहेक एकजना सरकारी कर्मचारीले वर्षमा ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा अनि १२ दिन व्यावि पर्व बिदा पनि पाउँछ । अझ, बेलाबेलामा कहिले कुनै विदेशी नेपाल आउँदा होस् वा कुनै समूहको दबाबको सनकमा सरकारले भोलिपल्ट बिदा हुने भन्ने सूचना अघिल्लो दिन राति ११ बजेतिर उर्दी जारी गरेर दिइने बिदाको त यहाँ हिसाबै छैन । यसरी ६ महीनाभन्दा कम काम गर्ने, ६ महीना काम नगर्ने । यो कुम्भकर्णवाला प्राचीन बिदा प्रणाली ठीकै त होला । किनकि जति धेरै विकास, त्यति धेरै बिदा थपिन्छ रे । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि । त्यसैले बिदा बढेकोमा खासै चिन्ता गर्नुपर्ने देखिन्न है । बरु फाइदा पो हुन्छ कि ? कुनै तथ्यांकशास्त्रीले एक दिन सरकारी अफिस बिदा हुँदा कति भ्रष्टाचार कम हुन्छ भनेर अध्ययन गरे नि हुने हो । काम नभएको दिन भ्रष्टाचार नहुने भएपछि भ्रष्टाचार पनि पक्कै घट्छ होला । दुई दिन बिदा भनेको सरकारी अफिस मात्र बन्द भा न हो । अरू क्यै भा छैन । अनि केको गुनासो ? यसै पनि बिदा कम हुँदा कुन चैं उत्पादकत्व सरकारी निकायबाट भा छ र ? तर २०५६ सालमा पनि सरकारले हप्तामा दुई दिन बिदा दिने चलन ल्याएको थियो । २० वर्षअघि फेल भएको त्यही अभ्यास अहिले फेरि किन ल्याए, पक्कै क्यै रहस्य होला । ‘अहिलेको आर्थिक मन्दीको अवस्थामा छफफल सीधा हुनुपर्ने थियो, कसरी आयात घटाउने र निर्यात बढाउने भनेर । तर सरकारले अरू कुरा छाडेर बिदा बढाउनेमा गयो’ भन्नुहोला । बिदा बढाउँदै आर्थिक वृद्धिदर पनि बढाउने नीति अंगीकार गरेको हो सरकारले । प्रधानमन्त्री राम्रोसँग बोल्दैनन् भन्दैमा यति धेरै जान्ने सुन्ने सरकारलाई मानिसले बुझ्ने प्रयासै नगर्नु पनि उचित भएन कि ? फेरि सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर । त्यसैले जति बिदा थपियो, उत्ति नै उत्पादकत्व बढ्छ कि हेरौं न त । के बिग्य्रा छ र ? वास्तवमा देश विकास नभाकै बिदा कम भएर पो हो कि ? यति धेरै चाडपर्व र बिदै बिदा भएपछि अब त देशमा विकासले छलाङ कसो नमार्ला हँ ?

दुईदिने सार्वजनिक बिदा र निजीक्षेत्रको मनोविज्ञान

राणा प्रधानमन्त्री देव शमशेरले शुरू गरेको शनिवार बिदाको शृंखलामा अब एक इँटा थप्ने प्रयास भइरहेको छ, जसमा अनेक मनोविज्ञान र तर्कवितर्क आइरहेका छन् । झट्ट हेर्दा यो विषय अनुत्पादक लाग्न सक्छ तर उप्रान्तमा गएर फलदायी हुनेछ ।  १९औं शताब्दीमा शुरू भएको साप्ताहिक २ दिने बिदाबाट उद्योगी व्यवसायी चिन्तित थिए । तर, १९३८ अगावै हेन्री फोर्डले यसलाई समर्थन गरे । हुन त मानिसहरू २ दिन बिदाले कर्मचारीले कार किन्छन् भन्ने फोर्डको अनुमान थियो भन्छन् । विश्वका ठूला देशहरूमा इस्लाम समुदायको शुक्रवार र इसाई समुदायको आइतवारको बिदाको प्रभाव पनि कहीँ कतै यो साप्ताहिक आइतवार र शनिवारको बिदामा रहेको छ । भनिन्छ, बिदा सुविधा हो अधिकार होइन । जाडोको ३ महीना मङ्सिर, पुस र माघ १५ सम्म अर्थात् ७५ दिन १० देखि ४ बजेसम्म तथा अन्य महीना १० देखि ५ बजेसम्म र शुक्रवार १ दिन ३ बजेसम्म र शनिवार पूरै बिदा गर्ने परिपाटी सरकारी कार्यालयमा छ । जेठ १ बाट हप्तामा २ दिन बिदा दिने विषयको प्रावधानले निजीक्षेत्रलाई पीडा भएको छ जबकि लामो समय काम या गुणस्तरीय काम यो सोच्ने बेला भएको छ । निजीक्षेत्रमा स्थान, कामको प्रकृति विशेषले आआफ्नै बिदा प्रणाली छ । यसमा सार्वजनिक बिदा १४ दिन छ र साप्ताहिक बिदा ५२ दिन छ । केही निजी उद्योग व्यवसायमा कार्यालय समयमा पटकपटक ११–१५ मिनेट ढिला पुगेमा १ दिनको बिदा बराबरको तलब काट्नेसम्मको चलन छ । हँसिला कामदार/कर्मचारी र तिनहरूको स्वच्छन्द दिमाग लगाएर गरिएको कामलाई बिर्सनु हुँदैन । कुनै बेला भएको एक हेलिकोप्टर दुर्घटनामा पाइलटलाई वरिष्ठ यात्रुबाट भएको दबाबबाट चालक हतारिएर दुर्घटना भएको विषय स्मरण गर्न जरुरी छ । उत्पादकत्वको कुरा गर्ने हो भने ५ दिन काम गर्दा कर्मचारीबाट गरिएको काममा अलग्गै कार्यक्षमता, दक्षता, लगनशीलता देखिन्छ । २ दिन बिदा गर्दा आन्तरिक पर्यटन बढ्नुका साथै १ दिन परिवारमा रहने, १ दिन सरसामान किनमेल गर्न बजार जाने तथा आफन्त भेटघाट र घरायसी काम गर्ने समय मिल्छ । यसरी दुई दिन बिदा दिँदा उद्योगीव्यवसायीले व्यवसाय मात्र नभएर मनोविज्ञानलाई समेत मनन गर्न जरुरी छ । इन्धन जोगाउने र डलर बचाउने बहानामा यो आए पनि अन्ततोगत्वा यसबाट फाइदा मिल्ने भनेको उद्योगी व्यवसायीलाई नै हो । पुरानो मानसिकता बोकेकाहरूमा सरकारले गलत गर्‍यो भन्ने छ । २ दिनको बिदा कसरी खर्चिने हो तथा ५ दिनमा कामको बढी चाप हुन्छ, काम धेरै छ भन्ने प्रतिक्रिया छ । बौद्धिक, युवा, मननशील तथा जागरुकहरूमा यो कदमप्रति सकारात्मकता छ । फुर्सद भनेको मानिसमा ऊर्जा प्रदान गर्ने औषधि पनि हो । विश्वका १२५ भन्दा बढी देशमा हेर्दा २ दिन साप्ताहिक बिदा दिने परिपाटी छ । २ दिन बिदाको आर्थिक, सामाजिक तथा पारिवारिक एवं व्यक्तिगत पक्षलाई हेर्दा कमाउने जनशक्तिमा समय मिलेकाले खर्च गर्ने परिपाटी बढ्ने, होटेल रेस्टुराँ चल्ने, पर्यटन बढ्ने, बच्चाहरूलाई कामकाजी अभिभावकको समय मिल्ने र बच्चाहरूमा ऊर्जा बढ्ने, घरपरिवारमा मूलतः श्रीमान्श्रीमती बीचको तनाव कम हुने, कृषि उत्पादन बढ्ने, कामको तनावबाट केही मुक्त हुने भएकाले उच्च रक्तचापका रोगी घट्ने आदि सकारात्मक फाइदा हुनेछ । वर्षमा १८० दिन पढाइ हुने हाम्रा विद्यालयहरूमा २ दिन बिदा हुँदा बच्चालाई घरायसी काममा पनि लगाउन सकिन्छ । कृषि उत्पादनमा पनि उनीहरूको योगदान लिन सकिन्छ । तर, बाल श्रम हुनु हुँदैन । स्कूल बस भएका नभएका आदि विषय आए राज्यले नियम बनाउँदा व्यक्ति विशेष हेर्दैन समग्रतामा जानुपर्छ । करेसाबारी र कौसीखेती बढाउन सकिन्छ । साथै कर्मचारी कामदारको सृजनशीलता बढाउन, उत्पादकत्व बढाउन, स्वस्थ्य कामदार/कर्मचारी काममा लगाउन २ दिन बिदा लाभदायक हुन्छ । काम र व्यक्तिगत जीवनका बीच सन्तुलन मिलाउन २ दिन बिदा जरुरी छ । किनभने घरपरिवार व्यवस्थित गरेपछि मात्र हामी कामदार र कर्मचारी पूर्ण प्रतिबद्ध भएर काम गर्न सक्छौं । मानसिक स्वास्थ्यका लागि नसर्ने रोगबाट कामदार र कर्मचारी जोगाउन, उनीहरूलाई काममा टिकाइराख्न, कार्यक्षमता बढाउन, अवश्य नै दुईदिने साप्ताहिक बिदा लाभदायी हुन्छ । बिदा कम्पनीले उपलब्ध गराएको निःशुल्क उपहार मानिन्छ जुन रकमभन्दा बढी महत्त्वपूर्ण हुन्छ । सरकारी कार्यालयको बत्ती, पानी, टेलिफोन, कागज प्रिन्ट, चिया, खाजा, इन्धन निश्चय नै बचाउन सकिन्छ । निजीक्षेत्रको उद्योग व्यवसायमा विद्यमान अधिक कर्मचारी कामदारको स्वरूपमा परिवर्तन गर्न २ दिन बिदाले सहयोग मिल्छ । स्वदेशभित्र केही कार्यालयमा पहिलेदेखि अभ्यास गरिएको हप्तामा २ दिन बिदाले सहज, हल्का, आराम तथा जीवन आनन्दमय भएको उक्त कार्यालयका कामदार र कर्मचारी बताउँछन् । कारखानामा काम गर्ने कामदारका बारेमा उद्योगी व्यवसायीको चासो होला : उत्पादन गर्न कठिन हुन्छ, बजारको मागअनुसार सामान पुर्‍याउन कठिन हुन्छ । तर यो अभ्यास गर्दै गएपछि हट्दै जाने समस्या हो । बिदाबाट कामदारलाई तनावमुक्त बनाई उत्पादकत्व बढाउन सकिन्छ । निजी सरकारी सबै क्षेत्रमा एकनासले यो बिदा लागू गरेमा कृषिक्षेत्रको पनि केही मात्रामा उत्पादकत्व बढ्छ, जसबाट ३० प्रतिशत कृषि आयातलाई तल झारेर डलर जोगाउन सकिन्छ । सबै क्षेत्रमा यो नियम लागू गरेमा मात्र यसको फाइदा लिन सकिन्छ ।   सरकारले नयाँ प्रयास र अभ्यास थालनी गर्दा डराएर सीधा विरोध गर्नु तथा सरकारको इमानदार प्रयासलाई तुहाउन भरमग्दुर प्रयास गर्नुभन्दा यो विषयमा सहयोग गर्नु आम नागरिकको कर्तव्य हुन्छ । विदेशमा गरिएका दुईदिने बिदाको उद्देश्य र हामीकहाँ उद्देश्य फरक भए पनि यो विषयको उठान ठीक समयमा भएको छ । यसलाई निरन्तरता दिनुपर्छ । विगतमा लागू भएन तर आज परिस्थिति अलग छ । घरबाट काम गर्ने चलन थालनी भइसकेको छ । प्रविधिले छलाङ मारेको छ, महामारीले हामीलाई धेरै कुरा सिकाएको छ । तसर्थ हरेक क्षेत्रबाट यस विषयमा मनन गरौं । लेखक नेपाल विज्ञापन संघ (आन) का कार्यकारी निर्देशक हुन् ।

दुई दिन बिदाको अर्थ

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भई तेल आयात गर्न नै कठिन हुने अवस्था आएपछि यसको खपत घटाउने नाममा सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । खर्च घटाउने नाममा यस्तो निर्णय गर्दैगर्दा सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्रीलाई वैदेशिक यात्राको स्वीकृति दिने क्रम पनि जारी राखेको छ । यसले गर्दा सरकारले खर्च घटाउने नाममा सातामा २ दिन बिदा दिने निर्णय गरेको हो वा अन्य कारण भन्ने अन्योल पैदा गरेको छ । सातामा २ दिन बिदा दिँदा केही इन्धन बचत होला । तर, वैदेशिक यात्राका क्रममा हुने खर्चलाई पनि थोरै भन्न मिल्दैन ।  लाभ लागतको हिसाब गर्दा जति दिन कार्यालय बन्द हुन्छ त्यति लाभ हुने रहेछ सरकारको दृष्टिमा । त्यसो भए हप्तामा किन २ दिनमात्रै, चारै दिन बिदा दिए भइहाल्यो नि ! एक महीनाभन्दा बढी समयदेखि यसबारे चर्चा चलेकाले पक्कै पनि सरकारले गम्भीर अध्ययन गरेर यस्तो निर्णय गरेको होला । हप्ताको २ दिन सार्वजनिक बिदा दिने कुरा अहिले अकस्मात् आएको होइन । २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन २ दिन बिदा दिन सिफारिश गरेको थियो । २०५६ बाट शुरू गरिएको दुईदिने बिदा २ वर्ष पनि टिकेन । यसरी २०वर्षअगाडि असफल भएको यही अभ्यास विनापूर्ण तयारी फेरि लागू गर्ने निर्णय गरिएको छ । सातामा २ दिन बिदा दिने निर्णयले खर्च कटौती गर्ने माध्यम भनेका कर्मचारी मात्र हुन् भन्ने सन्देश गएको छ । कर्मचारीतन्त्र सरकारका लागि आर्थिक रूपमा भार हो भन्ने ठानेर यस्तो निर्णय गरिएको हो भने सरकारी कर्मचारी नालायक हुन् भन्ने सर्वसाधारणले बुझ्न सक्छन् । त्यति मात्र नभई यस्तो निर्णयले सरकार स्वयम् नै सरकारी कार्यालय बन्द हुनुपर्छ भन्ने सोचमा त छैन भन्ने प्रश्न पनि उठेको छ । लाभ लागतको हिसाब गर्दा जति दिन कार्यालय बन्द हुन्छ त्यति लाभ हुने रहेछ सरकारको दृष्टिमा । त्यसो भए हप्तामा किन २ दिनमात्रै, चारै दिन बिदा दिए भइहाल्यो नि ! जनतालाई प्रत्यक्ष सेवा दिने केही सरकारी कार्यालयबाहेक धेरै कार्यालय सधैं बन्द गरे हुन्छ । यतिखेर विदेशी विनिमय सञ्चितिमा समस्या परेको हो भने आम्दानी वृद्धिका योजना अघि सार्नुपर्छ । स्थानीय तहमा सेवाका लागि कार्यालय खोलेर संविधानले व्यवस्था गरेका सबै अधिकार स्थानीय तहलाई व्यावहारिक रूपमा प्रत्यायोजित गर्नुपर्छ । यसरी खर्च कटौती गर्न सकिन्छ ।   सातामा २ दिन बिदा दिँदा कति लिटर पेट्रोल खर्च हुन्छ वा बन्द गर्दा बचत हुन्छ भन्ने हिसाब गरिएको छैन । सरकारी गाडी बिदामा ठप्प हुने होइन । प्रहरी, अस्पताल आदि क्षेत्रमा बिदाका दिनमा पनि काम हुन्छ । सरकारले लाभ र लागतको हिसाब गरेर कुनै पनि निर्णय गर्नुपर्ने हो । तर, कार्यालय बन्द हुँदा प्रभावित भएको सेवाप्रवाहको मूल्यभन्दा पेट्रोलियम पदार्थ जोगाएर गरेको बचत महँगो पर्ने देखिन्छ । पासपोर्ट, नागरिकता, घरजग्गा कारोबारका अफिस बन्द हुन्छन् । त्यस्तै खानेपानी, बिजुली, बैंक आदि पनि बन्द हुन्छन् । यसरी सेवाको अनुमति दिने कार्यालय बन्द हुँदा जनता मर्कामा पर्छन्, व्यवसायहरूलाई पनि समस्या पर्छ । जनताका अत्यावश्यक काम हुन पाउँदैनन् । यसको हिसाबकिताब गरिएको छ कि छैन ? साढे ९ बजेदेखि साढे ५ सम्म अफिस चलाउने प्रयास पहिले पनि भएको हो । त्यो प्रत्युत्पादक भएर नै हटाइएको थियो । प्रत्युत्पादक हुनुको कारण कर्मचारी समयमा अफिस नपुग्नु हो । अहिले पनि त्यस्तै हुने सम्भावना छ । संकटको अवस्थामा सरकारी कर्मचारी कार्यालयमा आएर समस्या समाधान गर्न तथा उत्पादन बढाउने आयात घटाउने प्रतिस्थापन गर्ने आदि छलफलमा लाग्नुपर्ने हो । तर, उनीहरूलाई घरमा बसाउनु कति उपयुक्त हुन्छ ? त्यसैले यो सार्थक किसिमको निर्णय होइन ।

रातमाटे सब–स्टेसनमा नौलो अभ्यास

वैदेशिक रोजगारीबाट बिदामा घर आउँदा भीममाया लिम्बूको पारिवारिक भेटघाट त भयो नै, अर्कै काममा समेत व्यस्त हुनुप¥यो । उहाँको केही समय एमसीए नेपालको आयोजनाका लागि अधिग्रहणमा परेको आफ्नो जग्गा सरकारलाई हस्तान्तरण गर्ने प्रक्रियामा बित्यो । नुवाकोटको बेलकोटगढीस्थित नन्दुटारमा रहेको घरनजिकै उहाँले आफ्नै कमाइले १० वर्षअघि किन्नुभएको एक रोपनी सात आना जग्गा अब बन्ने रातमाटे सब–स्टेसनले ओगट्ने क्षेत्रमा परेको छ ।