सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख गङ्गाप्रसाद यादवको आह्वानमा आठौं अर्थात बजेट अधिवेशन सुरु भएको हो । बैठकमा शुभकामना मन्तव्य राख्नु हुँदै नेकपा एमाले संसदीय दलका सदस्य अमरबहादुर साउदले एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारलाई समर्थन यथावत राखेको बताउनुभयो ।  अहिले महामारी र अभावसङ्ग जुध्न ठूलो चुनौती रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले आगामी बजेट कोरोना महामारीसङ्ग जुध्न सक्ने गरि ल्याउन आवश्यक रहेको औंल्याउनुभयो । "विगतबाट पाठ सिक्दै प्रदेश सरकारले कोरोना महामारीसङ्ग जुध्न सक्ने र जनमुखी, जनमैत्री बजेट ल्याउन आवश्यक छ", साउदले भन्नुभयो ।