कोरोना सङ्क्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै दार्चुलाका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । बिहिबार जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
जिल्ला समन्वय समिति र नौ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा बसेको सिसिएमसी बैठकमा जिल्लामा जति सक्दो छिटो कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने गरी काम अघि बढाउने सहमति भएको छ । धनगढीमा रहेको एकमात्र प्रयोगशालाको भर पर्दा पीसीआर रिपोर्ट आउन हप्तौ समय लाग्ने देखिएपछि मेसिन खरिद गर्ने निर्णय गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।