चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएको छ । गाउँपालिकाले इच्छाकामना–२ स्थित ‘हपनी कृषक समूह’लाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले कृषक समूहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।
पहाडी भूगोलका कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९/८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको पालिकाले जानकारी दिएको छ । पालिकाले २५ लाख ३५ हजार रुपैयाँको लागतमा कृषि एम्बुलेन्स खरीद गरी समूहलाई उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए । लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले बेहोरेको र बाँकी २५ प्रतिशत रकम समूहले जम्मा गरेको उनको भनाइ छ ।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिएसँगै बजारीकरणका लागि कृषि एम्बुलेन्स हस्तान्तरण गरेका हौं,’ उनले भने, ‘यसले कृषि उपजको उचित मूल्य पाउने र खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’ एम्बुलेन्स सञ्चालनमा आएसँगै वडा नम्बर १ र २ का काउले, हपनी, मायाटार लगायतका स्थानीय लाभान्वित हुनेछन् ।
दाङ । दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने विश्वास गरिएको छ । साथै पालिकाले वडा नम्बर ८ सिस हनियाँ नयाँ बजारमा तरकारी सङ्कलन तथा विक्री केन्द्र पनि स्थापना गरेको छ ।
अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन गरेर विक्री केन्द्रसम्म ढुवानी गर्नेछ । बिघौँबिघा तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या हटेको राप्ती गाउँपालिका–४ का कृषक खुशीराम थारुले बताए ।
“घरपरिवार सबैले दिनभर बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहजभएको छ”, थारुले भने ।
वडा नम्बर ३ का कृषक गोताराम चौधरीले पनि करिब १८ कट्ठामा विभिन्न जातका तरकारी रोपेका छन् । अहिले उनको खेतबारीमा लौका, काँक्रा, करेला, भिँडी तयारी अवस्थामा छन् । तर, ढुवानी गरेर बजारसम्म लैजान समस्या भइरहेको छ । कति तरकारी टिपेर घर लिएर राख्दा कुहिएको छ भने केहि बजार लगेर विक्री गरेको उनको भनाइ छ ।
उनका अनुसार आफै बोकेर बजारसम्म लैजान गाह्रो छ, सार्वजनिक गाडीमा लैजाँदा भाडा महँगो भन्छन्, त्यही भएर मान्छेलाई मजुरी दिएर बारीबाट बजारसम्म लग्ने गरेको थिए, अब सजिलो हुने भयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकको समस्यालाई मध्यनजर गर्दै तरकारी सङ्कलन तथा विक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए । “कृषकले उत्पादन गरेका तरकारी सही समयमा बजार नपुग्दा कृषकले व्यहोर्नुपरेको क्षतिलाई हामीले गम्भीर रुपमा लिएका छौँ, अब छिट्टै बजारीकरणका लागि पनि पहल गर्ने छौँ”, अध्यक्ष विष्टले भने ।
लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारुले देउखुरी तरकारीको पकेट क्षेत्र भएको भन्दै कृषकका सवालमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए । देउखुरीमा भएका चारओटै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सके यहाँका कृषकले लामो समयदेखि ढुवानीमा झेल्दै आएका समस्या समाधान हुने उँनले बताए । रासस