चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएको छ । गाउँपालिकाले इच्छाकामना–२ स्थित ‘हपनी कृषक समूह’लाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले कृषक समूहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।
पहाडी भूगोलका कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९/८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको पालिकाले जानकारी दिएको छ । पालिकाले २५ लाख ३५ हजार रुपैयाँको लागतमा कृषि एम्बुलेन्स खरीद गरी समूहलाई उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए । लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले बेहोरेको र बाँकी २५ प्रतिशत रकम समूहले जम्मा गरेको उनको भनाइ छ ।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिएसँगै बजारीकरणका लागि कृषि एम्बुलेन्स हस्तान्तरण गरेका हौं,’ उनले भने, ‘यसले कृषि उपजको उचित मूल्य पाउने र खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’ एम्बुलेन्स सञ्चालनमा आएसँगै वडा नम्बर १ र २ का काउले, हपनी, मायाटार लगायतका स्थानीय लाभान्वित हुनेछन् ।