अवैध कारोबारको छायामा सीमाक्षेत्रको व्यवसाय : अवैध कारोबार रोक्न सरकार किन उदासीन ?

नेपालका दक्षिणी क्षेत्रमा करीब १७०० किलोमीटर भारतसँग सिमाना जोडिएको छ । यो भूभाग प्राय: तराई क्षेत्रमा पर्छ । तराई क्षेत्रको जनसंख्या कुल जनसंख्याको ४७ प्रतिशत रहेको छ । मेचीदेखि महाकालीसम्म दक्षिण सीमामा ससाना शहर रहेका र त्यहाँ भारतीय बजारसँग मिल्दोजुल्दो बजार छ । भारतले उदार नीति लिई तेस्रो मुलुकसहित चीनको सामान नपाइएसम्म सीमाक्षेत्रका भारतीय उपभोक्ताले किन्ने चिनियाँसहित विदेशी सामानको कारोबार नेपाली सीमाक्षेत्रमा हुने गरेको थियो । तर, भारतले खुला नीति लिएपछि क्रमश: यो व्यवसाय कमजोर हुँदै गयो ।  नेपालबाट सीमाक्षेत्रमा खाद्यान्नसहित उपभोग्य सामान लत्ताकपडा, हार्डवेयरका सामान, शैक्षिक सामग्री र औद्योगिक कच्चा पदार्थ आदिको कारोबार हुन्छ । सन् १९७०–८० को दशकसम्म नेपालमा खाद्यान्न भारतभन्दा सस्तो भएकोले यहाँबाट खाद्यान्नसहित दलहन भारततर्फ जाने गरेको थियो । नेपाल र भारतबीच खुला सिमाना रहेको छ । सीमाक्षेत्रको बाटोघाटो भन्सार चौकीबाहेक अन्यत्र अधिकांश ठाउँ, ग्रामीण क्षेत्रबाट दुवै देशका नागरिक निर्बाधरूपमा आवागमन गर्न सक्छन् । सयौं वर्षदेखिको रोटीबेटीको सम्बन्धले यहाँ दुवैतर्फका नागरिकबीच सामाजिक सम्बन्ध छ । नागरिकताको नियम कडा नहुँदासम्म कतिपयले दोहोरो नागरिकता पनि लिएका थिए । नागरिकताको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपालले २०६३ सालमा बृहद् रूपमा सरल प्रक्रियाबाट नागरिकता वितरण गरेपछि यो समस्या धेरै हदसम्म समाधान भयो ।  सीमाक्षेत्रमा अनुगमन अत्यन्त फितलो छ । भ्रष्ट राजनीतिक नेतृत्व, माफिया, अवैध कारोबारी आदिको सेटिङमा स्थानीय प्रशासन र प्रहरीले पटकपटक तस्करीको लाइन खोल्ने र अवैध कारोबारलाई सहज रूपले काठमाडौंसम्म पठाउने गर्छन् । राजस्व चोर्नु एक गम्भीर अपराध मानी त्यस्ता तङ्खवलाई कठोरतापूर्वक कारबाही हुनुपर्छ । राणाकालमा नेपालमा भन्सार ठेक्का लगाउने समयदेखि नै सीमाक्षेत्रका दुवै देशका नागरिकले एकआपसमा व्यवसाय गर्ने र दरिलो भन्सार असुली प्रक्रिया नहुँदा मूल भन्सारबाहेक अन्यत्रबाट भन्सारविना नै सामान आदानप्रदान गरिन्थ्यो । दुवै देशको सीमाक्षेत्रका बासिन्दामध्ये केही व्यक्ति वा समूहले यसलाई पेशाको रूपमा अँगालेका थिए । नेपालमा जब भ्याट लागू भयो त्यसबेलादेखि सीमाक्षेत्रको कारोबार पनि बिस्तारै व्यवस्थित हुँदै गयो । भारतमा जीएसटी लागू भएपछि त यो कारोबार थप व्यवस्थित र पारदर्शी हुन दबाब बढिरहेको छ ।  सीमाक्षेत्रमा अवैध कारोबार रोेक्न भारतले कडा सुरक्षा प्रबन्ध गरेको छ । भारतमा सीमा सुरक्षाका लागि बोर्डर सुरक्षा फोर्सको गठन गरी सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी खटाएको छ । उपभोग्य सामानसहित सीमाक्षेत्रमा हुने अवैध कारोबार, लागू पदार्थको कारोबार, तेस्रो मुलुकबाट आएको सामान भारततर्फ चोरीनिकासीलाई रोकथाम गर्न भारतीय सुरक्षाकर्मी संवेदनशील छन् । नेपालतर्फबाट पनि सशस्त्र प्रहरी बलले सीमाको चौकी खडा गरेको छ । सशस्त्र प्रहरीसहित नेपाल प्रहरीले भन्सारमा सुरक्षा प्रदान गर्छ । चेकजाँचपछि आन्तरिक ढुवानीमा नेपाल प्रहरीेले ठाउँठाउँमा बिलबीजक जाँच गर्ने, राजस्व अनुसन्धान विभागले चेक गर्ने र अवैध कारोबार भए कारबाही गरिरहेको छ ।  सीमाक्षेत्रमा अवैध कारोबार रोकिएको छैन, बढिरहेको छ । नेपालतर्फको बजार सुनसान हुने र भारततर्फ भरिभराउ हुने अवस्था छ । ठूला कारोबारी पलायन हुनुपर्ने वा अवैध कारोबारको सञ्जालमा छिर्नुपर्ने परिस्थिति देखिन थालेको छ । वैध कारोबारीभन्दा अवैध कारोबारी किन बलियो बन्दै छन् ? सीमाक्षेत्रमा किन वैध कारोबार फस्टाउन सकेन र अवैध कारोबारले प्रश्रय पायो ? अध्ययन जरुरी छ । सीमाक्षेत्रका व्यवसायीलाई वैध कारोबारमा अनेकौं समस्या छन् । सरकारको नीति व्यवसायमैत्री छैन, सरकारबाट गरिने अतिनियमनले बेलाबेलामा व्यवसायीहरू समस्यामा पर्छन् । राजस्वको दर उच्च छ, राजस्वको दर कायम गर्दा छिमेकी देशमा लगाइएको जीएसटी आदिलाई विचार नगरी हचुवाको भरमा राजस्व दर तोकेको छ । भन्सार प्रशासन अनुदार हुँदा वैध बाटोबाट कारोबार गर्नुभन्दा अवैध बाटो सहज छ ।  सरकारको नीति वैध व्यवसायमैत्री छैन । कोभिडपछिको आर्थिक मन्दी र डलर सञ्चितिमा आएको कमीलाई देखाएर धेरै वस्तुको आयातमा प्रतिबन्ध लगायो । एलसी खोल्न पहिले नै ११० प्रतिशत रकम लाग्ने व्यवस्था गर्‍यो । व्यवसायीले क्रेताबाट पाइरहेको उधारो सुविधाको कटौती गर्‍यो । ठूला सामानबाहेक अन्य उपभोग्य, निर्माण तथा लत्ताकपडा जुत्ताचप्पलसहित आवश्यक सामानहरू उद्यमी व्यवसायीहरूले सीमाक्षेत्रसम्म मगाएर त्यहाँबाट अवैध बाटोबाट स्वदेश भित्त्याउन थाले । उद्योगी व्यवसायीलाई राज्यले विकल्प दिएन, कुनै पनि व्यवसायीले एकै पटक आफ्नो कारोबार चटक्क छोड्न सक्दैनन् । कारोबार छोड्ने भनेको उसको पुस्तांैदेखिको पेशा छुट्नु हो । बजारमा लेनदेन हुन्छ, बैंकमा ऋण हुन्छ । त्यो सबै बिग्रिनु हो र त्यस्तो व्यवसायी भोलि बेरोजगार हुनु हो । अर्को कुनै विकल्प भएसम्म कुनै पनि व्यवसायी बेरोजगार हुन चाहँदैन ।  सरकारका उच्च पदस्थ अधिकारीहरू वीरगञ्ज उद्योग वाणिज्य संघमा छलफलमा आउँदा सङ्घले स्पष्ट रूपमा सरकारको तत्कालीन नीतिले अवैध कारोबार फस्टाउने र एकपटक कुनै व्यवसायी अवैध कारोबारको सञ्जालमा फसेपछि त्यो उपाय छोड्न नसक्ने भएकाले मुलुकका लागि यो आत्मघाती हुनेहुँदा यस्तो नीति सच्याउन अनुरोध गरेको थियो । तर, संघको अनुरोधलाई बेवास्ता गरियो । अहिले राज्यले चाहेर पनि अवैध कारोबार रोकिने अवस्था छैन । सरकारी नीति, सरकारी कर्मचारी, प्रहरीहरू अहिले पनि सुध्रिएका छैनन् ।  अवैध कारोबारको रोकथामका लागि अब के गर्ने त ? सर्वप्रथम सरकारले अवैध कारोबार रोक्न चाहेको हो कि होइन ? यो स्पष्ट हुन जरुरी छ । सरकारमा रहेका केही समूहले विभिन्न माफिया, सिन्डिकेटधारीहरू, भ्रष्ट कर्मचारीहरूसँग मिलेर अवैध कारोबार चलाइरहेका छन् । त्यस्तो कारोबारबाट प्राप्त हुने रकमले आफ्नो भलो हुने, पार्टी चलाउने अथवा समानान्तर अर्थतन्त्र खडा गरी त्यसको बलले राज्य सत्तामा सधैं हाबी भइरहने हो भने अवैध कारोबार कहिल्यै पनि नियन्त्रण हुँदैन, अझ बढेर जान्छ । सरकार अवैध कारोबार नियन्त्रण गर्न साँच्चै गम्भीर छ भने कामकै माध्यमबाट त्यस्तो गम्भीरता देखिनुपर्छ । अवैध कारोबार हुने प्रथम कारण दुवै देशका बजारमा हुने मूल्यको फरक हो, भारतमा जीएसटी लाग्छ, नेपालमा भ्याट र भन्सार लाग्छ । भारतको जीएसटी सरदर १२–१८ प्रतिशत छ, नेपालमा पनि भ्याट न्यूनतम १३ प्रतिशत र भन्सार ५ प्रतिशतभन्दा माथि छ । अब नेपाल–भारत सीमाक्षेत्रमा सबैभन्दा बढी कारोबार हुने करीब १०० वस्तुको पहिचान गरौं र यस्ता वस्तुमा भारतमा कति प्रतिशत जीएसटी र नेपालमा कति भ्याट र भन्सार लागेको छ, हेरौं ।  ठूला कारोबारी पलायन हुनुपर्ने वा अवैध कारोबारको सञ्जालमा छिर्नुपर्ने परिस्थिति देखिन थालेको छ । वैध कारोबारीभन्दा अवैध कारोबारी किन बलियो बन्दै छन् ? सीमाक्षेत्रमा किन वैध कारोबार फस्टाउन सकेन र अवैध कारोबारले प्रश्रय पायो ?  अवैध कारोबारमा पनि खर्च हुन्छ र भ्याट दरभन्दा बढी खर्च हुन्छ । यस्ता वस्तुलाई जीएसटी वा त्योभन्दा थोरै बढी करको दरमा ल्याउन सकियो भने बिस्तारै यताका कारोबारी वैध बाटोबाट कारोबार गर्दै जाने छन् । भन्सारको राजस्व तिर्ने कुनै पनि कारोबारीका लागि सहज तरीकाले भन्सार तिर्न पाउनुपर्छ । करदाताले अनावश्यक दु:ख पाउनु हुँदैन । भन्सार जाँचपास गरिसकेको सामानलाई बाटोघाटोमा ढुवानी गर्दा थप दु:ख दिनु हुँदैन ।  नेपालको करप्रणाली अत्यन्तै अनुदार छ । व्यवसायीहरू कर प्रशासनभित्रको विकृति, सुशासनको कमी र भ्रष्टाचारले आजित छन् । ‘टर्नओभर ट्याक्स’को अवधारणाअनुरूप ५ करोड रुपैयाँसम्मको कारोबारमा निश्चित कर लिई आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने अवस्था बन्द गरिनुपर्छ । सीमाक्षेत्रमा अनुगमन अत्यन्त फितलो छ । भ्रष्ट राजनीतिक नेतृत्व, माफिया, अवैध कारोबारी आदिको सेटिङमा स्थानीय प्रशासन र प्रहरीले पटकपटक तस्करीको लाइन खोल्ने र अवैध कारोबारलाई सहज रूपले काठमाडौंसम्म पठाउने गर्छन् । राजस्व चोर्नु एक गम्भीर अपराध मानी त्यस्ता तत्त्वलाई कठोरतापूर्वक कारबाही हुनुपर्छ । स्वच्छ र योग्य प्रशासकहरू सीमाक्षेत्रमा खटाइनुपर्छ ।  सीमाक्षेत्रको सीमान्तकृत समुदायको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । त्यस्तो क्षेत्रमा रोजगार छैन । महिला, पुरुष, बच्चा सबै तस्करीमा नै संलग्न छन् । यस्ता क्षेत्रमा उचित शिक्षा छैन्, उद्योग धन्दा छैन । राज्यले सीमाक्षेत्रको आर्थिक अवस्था सुधार गरी तस्करीमा लागेका जनसमुदायलाई अन्य पेशामा लगाउन त्यस्तो क्षेत्रमा नगदेबाली उत्पादन, तरकारी खेती सञ्चालन गर्नुपर्छ । ससाना कुटिर, घरेलु उद्योग स्थापना शीपमूलक कार्यक्रममा जोड दिनुपर्छ । अनौपचारिक क्षेत्रमा चाहिने प्लम्बर, नाई, विद्युत् मिस्त्री, टायल मिस्त्री, राज मिस्त्री, ड्राइभर आदि प्राविधिक शिक्षाका माध्यमबाट त्यहाँ रोजगारी सृजना गर्नुपर्छ । त्यहाँको स्कूल, स्वास्थ्य चौकीजस्ता संस्थाहरूको गुणस्तरमा वृद्धि गर्नुपर्छ । भोलि गएर त्यहाँको बच्चा एक सभ्य नागरिक बन्न सकोस् । यसतर्फ राज्यले दीर्घकालीन नीतिका माध्यमबाट कार्यक्रम सञ्चालन गर्न सकेमा धेरै हदसम्म सीमाक्षेत्रबाट हुने अनधिकृत कारोबार नियन्त्रण हुनेछ ।  गौतम वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

अवैध कारोबार र अनौपचारिक अर्थतन्त्र

नियमसंगत कारोबार गर्ने व्यवसायीले विभिन्न नाममा अनेक समस्या भोग्ने गरेका समस्या वर्षौंदेखि उठ्दै आएका हुन् । यसै क्रममा वैध बाटोबाट सामान आयात गर्ने व्यवसायीसमेत सरकारको निशानामा पर्न थालेको गुनासो सार्वजनिक भएको छ । अर्कोतर्फ अवैध रूपमा कारोबार गर्नेहरू भने निर्धक्क छन् भन्ने आवाज पनि उद्योगी, व्यवसायीले नै उठाएका छन् ।  सरकारले खुला नाकाबाट भइरहेको चोरीपैठारी रोक्न विशेष पहल लिनुपर्नेमा वैध रूपमा काम गर्नेलाई निचोर्न खोज्नु शोभनीय हुँदैन । अवैध बाटोबाट हुने पैठारी रोक्न नसकिएको अवस्थामा सरकारले वैध बाटो भएर आयात गर्न प्रोत्साहन गर्नु जरुरी हुन्छ । तर, यसमा सरकारी संयन्त्रले गरेको सुधारको पहल प्रभावकारी देखिँदैन । यसको उदाहरणको रूपमा केराउ र छोकडालाई लिन सकिन्छ । सरकारले केराउ र छोकडा आयातमा लगाएको प्रतिबन्ध कायमै छ । तर, आयात प्रतिबन्ध लगाएको वस्तु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । त्यसको स्रोत खोज्न सरकारलाई केले रोकेको छ ? प्रतिबन्ध लागेको वस्तु विक्री गर्न अपराध नै हुन्छ । भारतीय सीमाबाट भित्रिएको वस्तु मुलुकभरका पसलमा पुग्दा सयौं प्रहरी चेकपोस्ट पार गरेर जानुपर्छ । ती ठाउँमा यस्ता वस्तुको चेकजाँच किन गरिएन ? वैध बाटोबाट सामान आयात गरिएका कन्टेनरलाई बिलबीजक देखाउँदा पनि प्रहरी र राजस्व गस्तीले अनेक दु:ख दिएको व्यवसायीको गुनासो छ । त्यसो भए चोरीको सामानचाहिँ किन बीचमा हेरिएन ? यसले अवैध आयातमा मिलेमतो छ भन्ने कुरालाई पुष्टि गर्छ ।  उपभोग्य वस्तुहरूमा चर्को भन्सार शुल्क लिँदा चोरीपैठारी बढेको हो । यदि थोरै भन्सार लगाउने हो भने जोखिम लिएर अवैध तरीकाले कसैले पनि सामान ल्याउँदैन । गाडी नेपालमा ल्याएर दर्ता गर्नुपर्ने भएकाले अवैध बाटोबाट यो भित्रिएको छैन । त्यसबाहेक हरेक उपयोग्य वस्तु चोर बाटोबाट आइरहेको छ । यसले अनौपचारिक अर्थतन्त्रलाई बलियो बनाइरहेको छ । अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । ५० खर्बभन्दा केही बढीको अर्थतन्त्रमा २५ खर्बभन्दा बढी रकम अनौपचारिक अर्थतन्त्रले ओगट्नु भनेको औपचारिक अर्थतन्त्रको समानान्तर अनौपचारिक अर्थतन्त्र हुनु हो । यसरी अनौपचारिक अर्थतन्त्र बढ्दै जाने हो भने अर्थतन्त्र कुनै पनि बेला भयावह बन्न सक्छ । धेरै आर्थिक क्रियाकलाप कानून मिचेर सञ्चालन भइरहेका छन् । ती क्रियाकलाप न सरकारी निकायमा दर्ता छन् न करको दायरामा नै छन् । उत्पादन नाम मात्रको हुने भएकाले अत्यधिक मालवस्तु आयात गर्नुको विकल्प देखिँदैन । तर, चोर बाटोबाट आयात हुँदा सरकारले राजस्व गुमाइरहेको छ भने मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न पनि सकिएको छैन । अर्थतन्त्रमा अहिले देखिएको संकटको एउटा कारण चोरीपैठारी पनि हो ।  वैध व्यापार गर्ने र दर्ता भएर कर तिर्ने व्यवसायीमाथि भने सरकारको कर्के हेराइ देखिन्छ । सरकारले भन्सार कार्यालयहरूलाई करको लक्ष्य दिने र त्यो लक्ष्य पूरा गर्न वैध बाटोबाट व्यवसाय गर्नेलाई दु:ख दिने गरेको पाइन्छ । अवैध बाटोबाट सामान आयात गर्नेले कर्मचारीलाई ‘प्रभाव’ मा पारेकाले नै उनीहरूले त्यसलाई रोक्न पर्याप्त ध्यान नदिएका हुन् भन्ने आरोप छ । काजुको भन्सार बढाइएपछि अन्य वस्तु भनी भन्सार छुटाइएको र पछि समातिएको घटनाले यस्तो कार्यमा सरकारी अधिकारीहरूको संलग्नता पुष्टि हुन्छ । उपभोग्य वस्तुहरूमा चर्को भन्सार शुल्क लिँदा चोरीपैठारी बढेको हो । यदि थोरै भन्सार लगाउने हो भने जोखिम लिएर अवैध तरीकाले कसैले पनि सामान ल्याउँदैन । अवैध बाटोबाट आएको सामान बढी मूल्यमा बेचेर उपभोक्तालाई ठगिएको छ । यसले कृत्रिम मूल्यवृद्धि गराएको छ । तर, यसलाई रोक्न सरकारी तदारुकता देखिँदैन । वीरगञ्जमा ७९ रुपैयाँमा विक्री भइरहेको चिनी काठमाडौंमा १३० रुपैयाँमा विक्री हुनु यसको उदाहरण हो । सरकार पनि ठगिने र जनता पनि ठगिने यो अवैध आयात र त्यसले हुर्काएको अनौपचारिक अर्थतन्त्र रोक्न सरकारले सुझबुझको नीति ल्याउनुपर्छ र त्यसको कार्यान्वयनमा ज्यादै होशियार पनि हुनुपर्छ ।

राजस्व चुहावट नियन्त्रणमा विरोधाभास : अवैधसँग साँठगाँठ, वैधलाई पेलान

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले आफ्नो फेसबुक पेजमा लेखे– वीरगञ्जमा चिनीको मूल्य रू. ७९, काठमाडौंमा रू. १४०, चिनी चाहिए वीरगञ्ज आउनुहोस् ।  उनको अभिव्यक्ति तस्करी नियन्त्रणको जिम्मेवारी लिएर बसेका निकायहरूकै ‘मिलेमतो’मा भइरहेको अवैध कारोबारप्रतिको कटाक्षमात्र होइन, यथार्थ नै हो ।  सीमाक्षेत्रमा खटिएका प्रहरी प्रशासनसँगको ‘सेटिङ’मा भारतबाट अवैध रूपमा भित्रिएको चिनी काठमाडौंलगायत देशका मुख्य शहरमा दोब्बर मूल्यमा विक्री भइरहेको छ । ग्रामीण क्षेत्रका उपभोक्ताले त त्योभन्दा पनि बढी मूल्य तिरिरहेका छन् । स्वदेशमा मागको करीब आधा परिमाण उत्पादन भएको र भारतले आफ्नो आपूर्ति व्यवस्थापनका लागि निर्यातमा रोक लगाएको मौका छोपेर तस्करले सीमाक्षेत्रबाट भित्त्याएको चिनी काठमाडौं, नारायणगढ, पोखरालगायत शहर र ग्रामीण क्षेत्रमा पुर्‍याएका छन् ।  सिमानाबाट ती स्थानसम्म पुग्ने बाटोमा ठाउँठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको निगरानीबाट जोगिनुपर्छ । तर, ती कुनै पनि निकायले तस्करीको चिनी ओसारपसार रोकेको देखिएको छैन ।  उपाध्यक्ष गौतमले नै सरकारले काजुको आयातमा लाग्ने राजस्वको दर बढाएपछि अवैध माध्यमबाट भित्रिइरहेको आशयको स्टाटस लेखे । भन्सारले काजुको मूल्यांकन प्रतिकिलो साढे ६ अमेरिकी डलर तोकेको छ । त्यसमा ४३ प्रतिशत राजस्व लिन्छ ।  भन्सारमा उच्च दरको राजस्व लिन थालिएपछि यतिबेला काजु तस्करीको माध्यमबाट भित्रिइरहेको छ । भन्सारबाट यसको जाँचपास खासै नभएको वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकाल बताउँछन् । बजारमा यो सजिलै पाइन्छ, तर मूल्य आकाशिएको छ । सरकारले केराउ र छोकडाको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छैन । बजारमा यी वस्तुको कमी छैन, मूल्य भने चर्को छ । सरकारले आयात अनुमति नदिएका र आयात गर्न पाइने भए पनि भन्सारको रेकर्डमा खासै नदेखिएका वस्तु बजारमा जताततै पाइन्छन् । दुई नम्बरी कारोबारीसँग कानून कार्यान्वयन गर्ने निकायको मिलेमतोविना यो सम्भव नहुने व्यापारी बताउँछन् ।  वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले सरकारले यस्ता अत्यावश्यक सामग्री आयातको अनुमति नदिए पनि अवैध आयात भइरहेको दाबी गरे । केराउ र छोकडा आयातमा प्रतिबन्ध लगाउँदा अवैध माध्यमबाट आपूर्ति भइरहेको उनको भनाइ छ ।  अवैध कारोबारमा संलग्न व्यापारीले कानून कार्यान्वयन गर्ने निकायसँगको ‘साँठगाँठ’मा निर्बाध धन्दा चलाइरहँदा तिनै निकायले अनुगमनका नाममा वैध करोबारीलाई दु:ख दिएको गुनासो निजीक्षेत्रले गरेको छ । उद्योग र व्यापार क्षमताको एक चौथाइमा सीमित भएको अहिलेको अवस्थामा सरकारले सहजीकरण गर्नुपर्नेमा उल्टै हतोत्साहित पार्ने काम गरेको व्यवसायीले बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले वैध कारोबारमा संलग्न व्यवसायी अवैध कारोबारका कारण समस्यामा परेको बताए । वीरगञ्जमा आयोजित एक कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अवैध कारोबार र राजस्व चुहावट नियन्त्रणमा सहयोग गर्न उद्यमी व्यापारीलाई आग्रह गरेपछि अध्यक्ष टेमानीले निजीक्षेत्र सधैं अवैध व्यापारको विपक्षमा रहेको स्पष्ट पारेका थिए ।  ढुंगानाले ठूला र प्रतिष्ठित व्यापारीसमेत अवैध कारोबारमा लागेको बताएका थिए । उनले निजीक्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको भन्दै वैध व्यवसायलाई प्रोत्साहन गर्ने र अवैधलाई निरुत्साहित गरिने बताए । उनले व्यवसायीलाई सरकारको राजस्व लक्ष्यमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । सरकारका तहगत संयन्त्रहरू अवैध व्यापारको नियन्त्रणमा लाग्दा पनि उपलब्धि हात नलाग्नु रहस्यमय भएको टेमानीले दाबी गरे । चुहावट नियन्त्रणका कमीकमजोरी नहटाए गम्भीर आर्थिक संकट आइपर्ने उनले चेतावनी दिए । तहगत सरकारका नीति र नियममा एकरुपता नहुँदा उद्यम, व्यापार असहज बन्दै गएको टेमानीको भनाइ छ ।  उद्योग, व्यवसायमैत्री वातावरण सृजना गर्नुपर्ने तर्क वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालको छ । उद्योग व्यापार समस्यामा परेको अहिलेको अवस्थामा सरकारले सहजीकरण गर्नुपर्ने माग उनले गरे ।  चुहावट नियन्त्रणका नाममा सरकारले लिएको नीतिका कारण उद्योगी, व्यवसायी प्रताडित भएको र उद्योग व्यापारको वातावरण बिग्रिँदै गएको वरिष्ठ उपाध्यक्ष गौतमले बताए । ‘अर्थतन्त्र चलायमान छैन । उद्योग–व्यवसाय बन्द भइरहेका छन् । यस्तो अवस्थामा राजस्वको लक्ष्य कसरी पूरा हुन्छ ?’ उनले प्रश्न गरे । सरकारले अनावश्यक झन्झट दिएकाले उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको उनको गुनासो छ । सरकारले राजस्व असुलीका अड्डाहरूलाई आधारविना राजस्वको लक्ष्य बढाएर दिएकाले त्यसको मारमा निजीक्षेत्र परेको गौतमको भनाइ छ ।

प्रचलित कानूनमा वित्तीय अपराधसम्बन्धी व्यवस्था

आर्थिक समृद्धिका लागि बैंकिङ प्रणाली सक्षम र सबल हुनुपर्छ । बैंकिङ प्रणालीमा आएको विकाससँगै यससँग सम्बद्ध अपराधहरू पनि बढ्दै गएका छन् । अहिले प्रविधिमा आएको विकाससँगै भुक्तानीका लागि प्रयोग हुने चेक, भुक्तानी कार्ड, मोबाइल बैंकिङ, ईमनी (वालेट) जस्ता विद्युतीय माध्यमको दुरुपयोग गरी कसैको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम निकाल्ने, खाताबाट रकम चोरी गर्ने कार्यले देशमा विस्तारै गति लिन थालेको छ । विदेशबाट पठाएको रकम कोही व्यक्तिमार्फत पठाई कर छल्ने नियतले गरिने हुन्डीको कारोबार पनि छिटपुट रूपमा देखिन थालेको छ । अहिले आफूआफू मिली समूह बनाई रकम उठाउने र पालैपालो लिनेजस्ता ढुकुटीको कारोबार पनि हुन थालेको छ । देशमा विदेशी विनिमयको अवैध कारोबार तथा प्रतिबन्धित मुद्रा निकासी पैठारी गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ विपरीतका अपराध पनि हुने गरेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गर्ने, आतंककारी गतिविधिमा वित्तीय लगानी गर्न सक्ने सम्भावना पनि देखिएको छ । चेक अनादरको कार्य गरेमा भने विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ क सम्बद्ध जिल्ला अदालतमा उजूर गर्न सक्छ । नक्कली कागज र ऋणी खडा गरी ऋण दिने, धितोको गलत मूल्यांकन गर्ने, बैंकबाट लिएको कर्जाको दुरुपयोग गर्ने, बैंकको स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्ने जस्ता अनियमित वित्तीय कारोबार गरी बैंक तथा वित्तीय संस्था ठगी गर्ने कार्य हुँदै आएको छ । यस्तो अपराधलाई कम गर्न बैंकिङ कसूर तथा सजाय ऐन २०६४ निर्माण गरिएको छ । नक्कली कागजातको आधारमा खाता खोली रकम निकाल्न वा उक्त कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्न हुँदैन । काल्पनिक व्यक्तिको नाममा खाता खोली रकम निकल्न तथा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन हुँदैन । कसैले पनि बैंक वा वित्तीय संस्थाबाट अनधिकृत रूपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न, अनधिकृत रूपमा ग्राहकको खाताबाट अरूको खातामा रकमान्तर गर्न वा भुक्तानी दिन हुँदैन । गलत वा झूटो विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी वा नक्कली ऋणी खडा गरी कर्जा लिन वा दिन, धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी कर्जा लिन वा दिन, झूटा विवरणको आधारमा कुनै परियोजनामा लागत रकम अस्वभाविक रूपमा बढाई बढी कर्जा लिन वा दिन, आफ्नो अख्तियारी वा स्वीकृत सीमाभन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्न वा गराउन हुँदैन । बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत वा ऋण दिने अख्तियारप्राप्त व्यक्ति, शेयरधनी वा त्यस्तो व्यक्तिको परिवारका सदस्यले आफ्नो संस्थाबाट कर्जा लिन वा आफ्नो स्वार्थ गासिएको कुनै व्यक्ति वा संस्थाको नाममा कुनै किसिमको ऋण दिन मिल्दैन । अनधिकृत रूपमा यस्ता किसिमका कर्जा लिने वा दिने कार्यलाई बैंकिङ कसूर मानेको छ । कसैले पनि बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जाको दुरुपयोग गर्न हुँदैन । कसैले पनि बैंक वा वित्तीय संस्थाको कुनै कागजात वा खाता, बहीमा लेखिएको कुनै कुरा हटाई वा उडाइ अर्कै मतलब निस्कने बेहोरा पारी मिलाई लेख्ने काम गरी आफूलाई वा अरू कसैलाई फाइदा वा हानिनोक्सानी पुर्‍याई जालसाजीपूर्ण कार्य गर्नु हुँदैन । कसैले पनि डेविट कार्ड, क्रेडिट कार्ट, एटीएम कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन दिन हुँदैन । चलअचल सम्पत्ति लीलाम विक्री वा संस्थाको अन्य प्रयोजनका लागि मूल्यांकन गर्दा मूल्यांकनकर्ताले बढी, कम वा गलत मूल्यांकन गर्नु हुँदैन । आफ्नो स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको धितो मूल्यांकन गर्नु हुँदैन । कर्जा वा सुविधा प्राप्त गर्ने प्रयोजनका लागि कुनै व्यक्ति, फर्म वा कम्पनी वा संस्थाले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण तयार गर्न, गराउन लगाउन हुँदैन । लेखापरीक्षकले कुनै व्यक्ति वा संस्थाको नेपाल सरकार, विदेशी दातृ निकाय वा अन्य निकायमा पेश गर्ने एउटै मिति वा अवधिको वित्तीय विवरणमा आफ्नो राय नखुलाई वित्तीय विवरण फरक पर्ने गरी प्रमाणित गर्नु हुँदैन । यस्ता सबै कार्यहरूलाई बैंकिङ कसूरभित्र समेटेर सजायको व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार ऋणीले कर्जा वा त्यसमा लाग्ने ब्याज तथा हर्जाना भाखाभित्र चुक्ता नगरेमा बैंक तथा वित्तीय संस्थाले त्यस्तो ऋणीलाई कानूनबमोजिम कालो सूचीमा राख्न सक्छ । त्यसरी कालो सूचीमा परेको ऋणीले आफूले तिर्नुपर्ने कर्जा नतिरी स्वदेश वा विदेश स्थित बैंक वा वित्तीय संस्थामा खाता खोली रकम राख्न वा त्यस्तो खातालाई निरन्तरता दिन वा सञ्चालन गर्न वा कुनै तरीकाले चल अचल सम्पत्ति खरीद गर्न वा त्यस्तो सम्पत्ति हकभोग गर्न नहुने गरी रोक लगाएको छ । अहिले आफ्नो बैक खातामा निक्षेप नभएको जानीजानी चेक काटी दिई हुने वित्तीय अपराध देखिन थालेका छन् । अहिले जथाभावी चेक जारी गर्नाले अदालतमा चेक अनादरका मुद्दाहरू बढ्न थालेका छन् । चेक अनादरको कार्य गरेमा भने विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ क सम्बद्ध जिल्ला अदालतमा उजूर गर्न सक्छ । देशमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघु वित्तीय संस्था स्थापना भई ग्राहकलाई आधुनिक वित्तीय सेवासुविधा प्रदान गर्न तल्लीन छन् । कामको सिलसिलामा गैरकानूनी लाभ लिने उद्देश्यले यस्ता संस्थामा विभिन्न किसिमका अपराध हुने गरेका छन् । संस्थाको नोक्सानी र आफूलाई फाइदा हुने बदनियतका साथ बैंकिङ प्रणालीभित्र यस्ता आपराधिक कार्य हुने गर्छन् । विभिन्न कानून निर्माणसँगै वित्तीय अपराधको दायरा पनि फराकिलो हुँदै गएको छ । यो आर्थिक अपराधका रूपमा विकसित हुँदै आएको छ । यस्ता अपराधले देशको अर्थ व्यवस्थालाई नै तहसनहस बनाउने गर्छ । अपराधका कारण बैंक तथा वित्तीय संस्था आर्थिक रूपमा कमजोर भई धराशयी भएको अवस्था पनि छ । संस्थालाई प्रगतिको बाटोमा लैजान त्यसभित्रका संस्थापक, सञ्चालक, व्यवस्थापक, कार्यकारी अधिकृत, कर्मचारी, शेयरधनी तथा अन्य अख्तियारीप्राप्त व्यक्तिले कानूनको दायरामा रही आफ्नो कार्य गर्नुपर्छ । वित्तीय कारोबारमा पारदर्शिता, गोप्यता तथा आर्थिक अनुशासन कायम गर्न कम्पनी रजिस्ट्रारको कार्यालय तथा नेपाल राष्ट्र बैंकले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ । यसले अपराधमा कमी आउने निश्चित छ । लेखक अधिवक्ता हुन् ।