जुम्लामा उत्पादन भएको स्याउ अबदेखि सहकारी स्याउको नामबाट बजारमा आउने भएको छ । जिल्ला कृषि सहकारी संघ जुम्लाले सहकारीको नामबाट स्याउलाई बजारमा ल्याउन लागेको हो । संघका अध्यक्ष रामकृष्ण बुढामगरले स्याउलाई आगामी भदौदेखि बजारमा ल्याइने जानकारी दिए । सहकारीको नामबाट स्याउलाई बजारमा ल्याउन प्याकिङका लागि आवश्यक कार्टोन छाप्ने कार्य सकिएको संघले बताएको छ । स्याउलाई नेपालगञ्जसम्म हवाइजहाज र त्यहाँबाट काठमाडौं गाडीबाट ढुवानी गरिनेछ । भण्डारण र बजारका लागि काठमाडौंको भाटभटेनी सुपरमार्केटसँग छलफल भइरहेको केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बताए । जुम्ला कृषि सहकारी संघ केन्द्रीय सहकारी संघअन्तर्गतको एउटा जिल्ला संघ हो ।
यस वर्ष सहकारीको नामबाट १ सय ५० टन स्याउ बजारमा ल्याउन लागिएको छ । त्यसमध्ये ४० टन अग्र्यानिक प्रमाणीकरण गरिएको र बाँकी १ सय १० टन प्रमाणीकरण नभएको स्याउ रहेका छन् । सो स्याउ प्रतिकेजी रू. ७० का दरले बिक्री गरिनेछ । बिक्रीबाट आएको रकम स्थानीय स्याउ उत्पादक किसानलाई वितरण गरिने अध्यक्ष बुढामगरले बताए ।
निक्षेप फिर्ता
करिब एक वर्षअघि खारेजीमा परेको नेपाल विकास बैंकका साना बचतकर्ताहरूको निक्षेप पुरै फिर्ता भएको छ । बैंकका लिक्विडेटर नारायण बजाजले अहिलेसम्म साना तथा ठूला बचतकर्ताका गरी कुल १९ करोड ९५ लाख रुपैयाँ भुक्तानी भइसकेको जानकरी दिएका छन् ।
वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३