म्याग्दी । नेपाली सेनाले धवलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरेको छ । संकलित फोहोर सेनाले धवलागिरि गाउँपालिकालाई बुझाएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित ८ हजार १६७ मिटर अग्लो हिमालका विभिन्न क्याम्पका साथै पदैलमार्गका थुप्रिएको फोहोर संकलन गरिएको हो ।
संकलन गरेको फोहोर प्रभु हेलिकोप्टरमार्फत शुक्रवार म्याग्दीको ताकममा ल्याएर धवलागिरि गाउँपालिकाका जनप्रतिनिधिलाई बुझाइएको सेनाले बताएको छ । सेनाले संकलन गरेको ५ हजार २० किलो फोहोरमध्ये सड्ने–कुहिने ३०० किलो फोहोर गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो फोहोर रिसाइकल गरी व्यवस्थापनका लागि अवनी भेन्चर्सलाई बुझाइएको छ ।
फोहोर संकलनका क्रममा धवलागिरि बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्वीपमेन्ट सहितका दुईओटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्याम्पतर्फ ९ एनएसीआर लेखिएको हेलिकोप्टरको अवशेष फेला परेको थियो ।
यस्तै हिमाल सफाइकै क्रममा भेटिएका दुईओटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ । यसअघि सन् २००६ मा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा हिमालमा भेटिएका मृतकको पहिचान हुन सकेको थिएन ।