न्यूयोर्क (अमेरिका) । अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डेनबर्गले ट्विटरका संस्थापक तथा पूर्वप्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकले १ अर्ब डलर ठगी गरेको र लगानीकर्ताहरूलाई नियतबस झुक्याएको दावी गरेको छ ।
उसले पछिल्लो प्रतिवेदन खुलासा गर्ने क्रममा ट्विटरका संस्थापक डोर्सीको कम्पनी ब्लकले कर छली तथा लगानीकर्ताप्रति धोकाधडी गरेको आरोप लगाएको हो । सर्टसेलर कम्पनी हिन्डेनबर्गले उक्त कम्पनीले लगानीकर्ताहरूलाई प्रभावित गर्न नक्कली प्रयोगकर्ता बनाएको र वित्तीय अपराधीहरूलाई सघाएको पनि आरोप लगाएको छ । कम्पनीको पछिल्लो कुल बजार मूल्य ४४ अर्ब डलर छ रहेको छ । उक्त आरोपलाई कम्पनीले अस्वीकार गरे पनि उसको शेयरमूल्यमा १५ प्रतिशतले गिरावट आइसकेको छ ।
हिन्डेनबर्गले स्क्वायरको नाममा स्थापना हुँदा उक्त कम्पनीले बैंकिङ क्षेत्रमा पहुँच नभएका वा कम पहुँच भएकालाई सघाउने गरी समस्यारहित र जादुमय वित्तीय प्लाटफर्म विकास गरेको दाबी गरेको छ । साथै उसले आफ्नो प्रतिवेदनमा ब्लकको सफलता जादुमय भएको र यसले लगानीकर्तालाई झुक्याएको, मिटरब्याजमा ऋण दिने, नियमन छल्ने र सरकार तथा ग्राहकलाई ठग्नेमा आधारित रहेको भनेको छ ।
उसले पछिल्लो पटक भारतीय अर्बपति व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी ग्रुपलाई निशाना बनाएको थियो । उसले गत जनवरी २४ मा अदानी ग्रुपविरुद्ध १०६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेर अदानीको साम्राज्यलाई डामाडोल बनाइदिएको थियो ।
अदानीको समूहमाथि शेयरमा चलखेल र वित्तीय अनियमितताको आरोप लगाउँदै हिन्डेनबर्गले रिपोर्ट सार्वजनिक गरेपछि अदानीका सबै कम्पनीको शेयरमा पहिरो गएको थियो । त्यसपछि अदानीको समूहले अर्बौं डलरको बजार पूँजीकरण गुमायो ।
त्यसको दुई महीना नबित्दै उसले बिहीवार मात्रै ट्विटमार्फत अर्को ‘टार्गेट’बारे नयाँ रिपोर्ट सार्वजनिक गर्ने बताएको थियो । हिन्डेनबर्ग रिसर्चले डेरिभेटिभ्स, कर्जा र शेयरमा हुने सम्भावित अव्यवस्थापन, हिसाबमा अनियमितता र लुकीछिपी हुने कारोबार आदिको छानबिन गर्ने गरेको छ ।
कम्पनीमा यसअघिका पूर्वकर्मचारी र अनुसन्धानका आधारमा उसले ४० देखि ७५ प्रतिशत प्रयोगकर्ताहरू नक्कली भएको, यसमा ठगीमा संलग्न वा एकै व्यक्तिका अनेकौं प्रोफाइल रहेको तथा लगानीकर्ता झुक्याउन नक्कली प्रयोगकर्ताको संख्यामा अत्यधिक वृद्धि गरेको आरोप लगाएको छ ।
साथै उसले कम्पनीको क्यास एप‚ कालो धन, मानव बेचबिखनलगायत कयौं हत्याका घटना गराउने आपराधिक समूहका लागि सजिलो माध्यम बनेको जस्ता गम्भिर आरोप पनि लगाएको छ । एजेन्सीहरु