म्याग्दी । ०७६ साल चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चीज उद्योग अझैसम्म सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि ०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चीज उद्योग बन्द भएका थिए ।
बन्दाबन्दी खुकुलो भई आन्तरिक पर्यटक आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग नभएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको व्यवसायीले बताए ।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चीज उद्योग ०७६ साल चैतदेखि बन्द अवस्थामा छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चीजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज कुहिएर खेर गएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको घारको हिमालय चीज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए ।
उनका अनुसार गत वर्ष बन्दाबन्दी सुरु भएपछि चीजको माग घटेको छ । स्टक रहेको चिज स्थानीयलाई ५ सय रुपैयाँ प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चीज उद्योग पूर्ण रूपमा बन्द गरिएको हो ।
चीज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न थालेको स्थानीय बताउँछन् । घारको हिमालय चीज उद्योगमा ३५ कृषक आबद्ध छन् । उनीहरूले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् ।
नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३ सय लिटर दूध उत्पादन गरी चीज उद्योग सञ्चालन भएको थियो । उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषकले धमाधम गाई नै बिक्री गर्न थालेको स्थानीय लीलबहादुर खड्काले जानकारी दिए ।
घारका ३५ अगुवा कृषक मिलेर ०७१ सालमा हिमालय चीज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिक रूपमा चीज उत्पादन गर्दै आएका छन् । त्यतिबेला २० लाख रुपैयाँको लगानीमा कृषकले चीज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै ३२ लाख पुर्याएका थिए । रासस