काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
कम्पनीले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । यसअघि ५२ दशमलव ७० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले गत वर्ष भने २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २६ प्रतिशत गरी कुल २५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।