कर्णाली प्रदेशमा महिला र पुरुष कामदारबिच समान ज्याला लागु हुन सकेको छैन । यहाँका श्रमिक कामदार तथा मजदुर महिलाले पुरुषको तुलनामा आधा मात्र ज्याला पाउने गरेका छन् । कर्णाली प्रदेश मुकाम सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दोहोरी, मसाज पार्लर, स्पा, खाजाघर, भट्टी पसल तथा निजी स्रोतबाट सञ्चालित उद्योग कारखानामा कार्यरत श्रमिक र मजदुर महिलाले समान ज्याला नपाएको गुनासो गरेका छन् । श्रमिक महिला रक्षा सङ्घद्वारा सुर्खेतमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाको अवस्था’ विषयक अन्तर्क्रियामा यस्तो गुनासो गरिएको हो ।