जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको साधारणसभा आह्वान, आईपिओमा जाने तयारी

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते शनिवार आफ्नै रजिस्टर्ड कार्यालयमा एकसाथ आर्थिक वर्ष ७६/७७ र ७७/७८ को सभा आह्वान गरेको हो  । सभामा आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको सञ्चालक समितिको प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको वार्षिक आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सानी हिसाब, नगद प्रवाह विवरण समेत उपर छलफल तथा अनुमोदन गर्ने, कम्पनी ऐन २०६३ को दफा ७८ को प्रतिवेदन समेत उपर छलफल तथा अनुमोदन गर्ने, र कम्पनीको प्रवन्ध पत्र तथा नियमावली संशोधन (नयाँ ढाँचामा लैजाने समेत) प्रस्ताव पेश हुने छ । सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी समेत गरेको छ । उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।

सम्बन्धित सामग्री

जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट भरिने

काठमाडौं । जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट फिलिङ गरिने भएको छ । उत्पादक कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले यही पुस मसान्तअगावै स्वचालित मेसिनबाट फिलिङ थाल्ने गरी तयारी भइरहेको जानकारी दिएको छ । यसका लागि नयाँ भवन बनाई अत्याधुनिक मेसिनसमेत जडान भइसकेको कम्पनीले जनाएको छ । यही पुस मसान्तसम्म उक्त भवन उद्घाटन गरी उत्पादन थालिने कम्पनीले जनाएको छ ।  नयाँ भवन विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यासको मापदण्डलाई सम्बोधन गर्ने किसिमले तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त भवनमा एच.भी.एसी. प्रणालीमार्फत हावाको शुद्धता कायम राखी सफा कोठाको व्यवस्था गरिएको छ । यस प्रविधिले भवनमा उत्पादित वस्तुलाई दुषित हावाबाट जोगाई जनसुरक्षित, गुणस्तरीय र प्रभावकारी वस्तुको उत्पादनमा टेवा पुर्याउने कम्पनीले जनाएको छ । गुणस्तर र उत्पादन क्षमता बढ्ने ! स्वचालित फिलिङ मेसिनले ‘सन्चो’को गुणस्तर र उत्पादन क्षमतासमेत वृद्धि हुने कम्पनीको भनाइ छ । अहिले मानिसले नै फिलिङ गर्दै आएको सन्चो दैनिक करीब २० हजार सिसी मात्रै उत्पादन भइरहेको छ । जडान गरिएको मेसिन प्रतिघण्टा ६ हजार सिसी उत्पादन क्षमताको रहेको कम्पनीले जनाएको छ ।  २०५६ मङ्सिरबाट उत्पादन थालिएको ‘सन्चो’ २४ वर्षमा प्रयोगकर्तामाझ लोकप्रिय बनेको छ । बढ्दो लोकप्रियताका कारण कम्पनीको विक्री पनि बढेको छ । कम्पनीका अनुसार उत्पादनको शुरुआती समयमा ‘सन्चो’ वार्षिक १० हजार गोटा उत्पादन हुने गरेको थियो । हाल करीब ५० लाख गोटा विक्री वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ ।  ‘सन्चो’ रुघाखोकीलगायत स्वास्थ्य समस्याका लागि उपयोगी मानिएको छ । हाल ‘सन्चो’ ५ एमएलमा उत्पादन हुँदै आएको छ । तर, स्वचालित मेसिन सञ्चालनपछि ‘सन्चो’ १० एमएलमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ‘सन्चो’सँगै हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्ट उत्पादन गर्दै आइरहेको छ ।