मंसिर २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा सोमवार चितवनको माडी नगरपालिका - ३ मा रहेको माडि माध्यामिक विद्यालयमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन, भ्रष्टाचारको कारण र असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी शिक्षक तथा शैक्षिक क्षेत्रको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो ।
माडी क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य संघ संस्थालाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी सचेतना र शिक्षा प्रदान गर्ने, आयोगको काम कारबाहीको बारेमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको अख्तियारले बतएको छ ।
कार्यक्रममा अख्तियारको हेटौंडा कार्यालयका उप- सचिव विष्णु सापकोटाले भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संस्था तथा नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यालयका शाखा अधिकृत नर बहादुर आलेले भ्रष्टाचारको सैद्धान्तिक पक्ष र आयोगका काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष पुरन महतोले कार्यक्रममा मन्तव्य राख्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमको संख्यालाई थप गर्दै जानु पर्ने बताए ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय भद्र भलादमी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरूसमेत गरी ८९ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरुले भ्रष्टाचार न्यूनिकरणका लागि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने तथा भ्रष्टाचारलाई जैरेदेखि निमुल पार्न सबैले पहल गर्नुपर्ने विषयमा जोड दिएका थिए।