लुम्बिनी प्रदेशको तराईका जिल्लामा समुदायस्तरमै डेङ्गु फैलिँदै गएको छ। केही दिनअघिसम्म दाङको घोराही क्षेत्रमा देखिएको डेङ्गुको सङ्क्रमण पछिल्लो समय तुलसीपुर र लमही क्षेत्रमा पनि देखिन सुरु गरेको छ। घोराही समाचारदाता लीलाधर वलीका अनुसार दाङमा सबैभन्दा बढी डेङ्गुका सङ्क्रमित घोराही क्षेत्रमा पाइएका छन्। यो क्षेत्रमा भदौ १६ गतेसम्म करिब डेढ सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। घोराही उपमहानगरपालिकाअन्तर्गतका अस्पतालहरूमा परीक्षणको क्रममा १४८ जनामा डेङ्गु सङ्क्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ। “पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने डेङ्गुको जोखिममा घोराही रहेको छ,” शाखा प्रमुख घर्तीले भन्नुभयो, “त्यही भएकाले स्वास्थ्य सचेतनासँगै बिरामीलाई जथाभावी रूपमा औषधि प्रयोग नगर्नसमेत आग्रह गरेका छौँ।”