चितवन । घरभाडा समायोजनबारेको निर्णय कार्यान्वयन गराउन फेन्सी व्यवसायी संघ, चितवनले उद्योग वाणिज्य संघ, चितवनलाई ध्यानाकर्षण गराएको छ । फेन्सी व्यवसायी संघले गत चैत २१ को निर्णय कार्यान्वयन गराउन आइतवार उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
फेन्सी व्यवसायी संघको उक्त दिन बसेको बैठकले पसल/व्यवसाय सञ्चालन भएका घरकाे भाडा समायोजनका लागि घरधनीसँग पहल गरिदिन उद्योग वाणिज्य संघलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
फेन्सी व्यवसायी संघका अध्यक्ष शंकरप्रसाद घिमिरेसहितको टोलीले उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको कार्यकक्षमै गएर ध्यानकर्षण पत्र पेश गरेको थियो । त्यसपछि प्रतिक्रिया दिंंँदै फेन्सी व्यवसायी संघका अध्यक्ष घिमिरेले घरभाडाकै कारण चितवनका व्यवसायी तनावमा रहेको बताए ।
व्यवसायीको समस्या पर्दा पनि व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघका कुनै पनि पदाधिकारी नआएको भन्दै उनले यसले व्यवसायीहरू दुःखी भएको प्रतिक्रिया दिए ।
फेन्सी व्यवसायी संघ, चितवनका पूर्वअध्यक्ष हेमराज पौडेलले घरभाडाकै कारण पछिल्लो केही समययता करिब १० प्रतिशतभन्दा बढी व्यवसायी पेसाबाट पलायन भइसकेको बताए ।
उद्योग वाणिज्य संघ, चितवनका उपाध्यक्ष एवम् वस्तुगत संघतर्फका संयोजक शिरीष पन्तले भने बजारमा आफै घरधनी र आफै बहालवाला भएकाले यो समस्या आफैबाट शुरु गर्नुपर्ने बताए । ‘एकाधबाहेक हामी सबैजना आफ्नो घर भाडामा लगाएर आफू पनि भाडामै व्यापार गर्नेहरू छौं,’ उनले भने, ‘त्यसैले आफू भाडावाला मात्र नभई घरधनी पनि हौं भन्ने बिर्सन हुँदैन ।’ घरधनीले गत वैशाखबाटै १० प्रतिशतका दरले भाडा बढाउने कुरा सार्वजनिक भएकाले उनले त्यसमा सहमति नजनाउन व्यवसायीलाई आग्रह गरे ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले गत चैत २१ मा भएको निर्णयलाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउने आश्वासन दिए । चैतमा भएको निर्णयअनुसार घरधनीसँग बसेर छलफल गरिने र जतिसक्दो चाँडो समस्या समाधान गर्ने आश्वासन दिए । ‘त्यसबीचमा हाम्रो तर्फबाट तयार गर्नुपर्ने बजेट र कर्जा पुँजीसम्बन्धी विषयमा अलि बढी ध्यान केन्द्रित हुँदा यता ध्यान दिन नपाएको हो,’ उनले भने, ‘अब हामी छिट्टै बैठक बसेर यस विषयलाई कार्यान्वयनमा ल्याउँछौं ।’
यो समस्या जिल्लाभरकै समस्या भएकोले अन्य वाणिज्य संघसँग पनि छलफल चलिरहेको उनले बताए । कोरोना भाइरस संक्रमण जोखिमले असर पारेको समयमा पनि उद्योग वाणिज्य संघको निर्णय करिब ७० प्रतिशतले कार्यान्वयन गरेको भन्दै यसपटक पनि सकेसम्म पूर्ण कार्यान्वयन गराउने गरी काम गर्ने उनको भनाइ छ ।
आर्थिक मन्दीका कारण व्यापार चौपट भएको भन्दै विगत केही महिनादेखि घरभाडाको समस्या उठान हुँदै आएको छ । त्यसलाई समाधान गराउने विषयमा व्यावसायिक संस्थाका हरेकजसो कार्यक्रममा उद्योग वाणिज्य संघले नेतृत्व लिएर पहल गर्नुपर्ने माग संघअन्तर्गतका वस्तुगत संघहरूले गर्दै आएका छन् ।