काठमाडौं । कुमारी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो । यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज (कात्तिक १२ गते) हुने भनिएकोमा मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो अवधिभित्र मागबमोजिम आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले जनाएको छ ।
कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता ‘केबीएल डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्कासन गरेको हो । यो ऋणपत्र कुल कित्तामध्ये बैंकले ३० लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरी बाँकी २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन तथा विक्री खुला गरेको हो ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म खरीद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट पनि खरीदका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।