नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको शेयर कारोबार रोक्का भएको छ। सेन्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौता गरेसंगै नेप्सेमा सेन्चुरीको शेयर कारोबार रोक्का भएको हो । प्रभु बैंकको शेयर कारोबार भने यथावत छ ।सेन्चुरीको अन्तिम शेयर मूल्य १९३ रुपैयाँ रहेको छ । मर्जर सफल भएमा मर्जर प्रक्रिया उर भएपछि सेन्चुरी बैंकका शेयरधनीहरुको शेयर प्रभु बैंकको नामबाट नेप्सेमा कारोबार हुने छ । २ बैंकबीच आइतबार मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार सेन्चुरी बैंक सम्मानजनक हैसियतमा प्रभु बैंकमा गाभिने छ । मर्जर तथा प्राप्तिको लागि १:१ को प्रारम्भिक स्वाप तय भएको छ । अन्तिम स्वाप भने डिडिए रिपोर्ट अनुसार तय हुने बताईएको छ।त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् । सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् । विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो। यद्यपि आयकर ऐन अनुसार पाउने लाभकार र कर छुट भने यी दुई बैंकले नपाउँन सक्छन् ।