वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले फोहोरमैलाको व्यावस्थापनका लागि घरघरमै फोहोरमैला छुट्याउने अभियान चलाएको छ । कुहिने र नकुहिने फाहोर घरबाटै छुट्याउँदा व्यवस्थापन सहज हुने भएकाले यो उपाय अपनाइएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए ।
यसका लागि महानगरपालिकाले घरघरमा डस्टबिन वितरण गरेको छ । प्रत्येक घरमा कुहिने र नकुहिने फोहोर राख्न दुईओटा डस्टबिन वितरण गरिएको छ । हरियोमा कुहिने र रातोमा नकुहिने फोहोर राख्न महानगरले आग्रह गरेको छ । घरबाटै छुट्याइएको फोहोर महानगरले संकलन गरी व्यवस्थापन गर्दै आएको छ । महानगरले डस्टबिन निःशुल्क वितरण गरिएको बताएको छ । दोस्रो चरणमा मंगलवार महानगरपालिकाका वडा नं १, २, ३, ११, १३, १४, १५ र १६ का वडावासीलाई वितरण गरेको हो । महानगर प्रमुख सरावगीले डष्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम पनि गरिएको बताए । ‘स्वच्छ तथा सफा वीरगञ्ज महानगरका लागि गरिएको यो प्रयास सफल पार्न नगरवासीको सहयोग र सहकार्यको पनि खाँचो छ,’ सरावगीले भने ।