लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठनपाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन पाठन सुरु गरेका हुन ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को बाल मन्दिर माध्यामिक विद्यालयमा पढाइ सुरु भएकै दिन ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । कक्षा एकदेखि पाँचसम्मका विधार्थीको उपस्थिति केही कम भए पनि माथिल्लो कक्षाका विधार्थीको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको सुरक्षाका लागि विधार्थी तथा शिक्षकका लागि अनिवार्य मास्ककाे प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको उहाँले बताउनुभयो । सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।