साउन ३२, टोकियो (जापान) । जापानको अर्थतन्त्रमा वृद्धि भएको छ ।
मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार अप्रिल–जुन त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) अघिल्लो त्रैमासको तुलनामा शून्य दशमलव ३ प्रतिशतले बढेको छ । अर्थतन्त्र दुई त्रैमासयता पहिलो पटक बढेको हो ।
वार्षिक रुपमा भने वृद्धिको यो आकार १ दशमलव ३ प्रतिशत धेरै हो । अर्थतन्त्रको आकार बढेको भएपनि वृद्धिको दरले अघिल्लो त्रैमासको संकुचनबाट भने अर्थतन्त्रलाई माथि ल्याउन सकेन । जनवरी मार्च त्रैमासमा जापानी अर्थतन्त्र वार्षिक ३ दशमलव ७ प्रतिशतले खुम्चिएको थियो ।
समीक्षा अवधिमा अघिल्लो त्रैमासको तुलनामा निर्यात २ दशमलव ९ प्रतिशतले बढेको छ । कर्पोरेट पूँजीगत लगानीमा पनि १ दशमलव ७ प्रतिशतको वृद्धि देखिएको छ । तर उपभोक्ता खर्च भने शून्य दशमलव ८ प्रतिशतले मात्रै बढेको छ ।
समीक्षा सार्वजनिक लगानी भने १ दशमलव ५ प्रतिशतले खुम्चिएको छ । कोरोना भाइरस विरोधी खोप खरीद र चिप आयातका कारण आयातमा उल्लेख्य वृद्धि हुँदा जीडीपीमा नकारात्मक प्रभाव पारेको छ । एजेन्सी