काठमाडौं । सरकारको महत्त्वाकांक्षी योजना मानिएको खोरेत रोग उन्मूलन योजना असफल हुने देखिएको छ । सरकारी बेवास्ता र अपर्याप्त बजेटले योजना असफल हुने देखिएको हो ।
सरकारले २०३० सम्म पूर्णरूपमा नेपालबाट पशुपन्छीमा लाग्ने खोरेत रोग उन्मूलन गर्ने योजना अगाडि बढाएको थियो । यो योजनाअनुसार खुरफट्टा जनावरमा खोरेत विरूद्धको पूर्ण खोप लगाउने भनिए पनि सरकारले आवश्यकता अनुसारको बजेट विनियोजन गरेको छैन ।
खुरफट्टा जनावरमा लगाउनुपर्ने भए पनि सरकारले दिएको बजेटले हाल गाई र भैंसीमा मात्रै खोप लगाउन सकिएको तर अन्य जनावरमा पर्याप्त मात्रामा खोप लगाउन नसकिएको नेपाल लाइभस्टक इन्नोभेसन परियोजनाका आयोजना अनुगमन अधिकृत ईश्वरीप्रसाद खतिवडाले बताए । उनका अनुसार सरकारले हाल वार्षिक १० करोड रुपैयाँ मात्रै खोप आयातको लागि छुट्याउने गरेको छ । यो रकम मागअनुसार अपुग भएको उनको भनाइ छ ।
आयोजनाका अनुसार यो वर्षका लागि ५४ हजार डोज खोपको आयात गरिनुपर्थ्यो । रकम अभावले उक्त परिणामको खोप आयात हुन सकेको छैन । १७ हजार डोज खोप आयात हुन बाँकी रहेको आयोजनाले जनाएको छ ।
उनका अनुसार १ डोज खोपको खरीद मूल्य १५ रुपैयाँ हो । यस आधारमा ५४ लाख डोज खोप खरीद गर्न ८ करोड १० लाख रुपैयाँ आवश्यक पर्छ ।
यस्तै, एक खोप लगाएबापत प्राविधिकलाई पारिश्रमिकस्वरूप १० रुपैयाँ दिनुपर्छ । यसबापत ५ करोड ४० लाख रुपैयाँ छुट्याइनुपर्छ । यससँगै खोपको रेकर्ड राख्ने रेकर्ड बुक छपाइमा पनि खर्च हुने गरेको छ ।
उनका अनुसार यो खोप वर्षमा दुई पटक लगाइन्छ ।
सरकारले पटकपटक गर्ने खर्चलाई एकैपटकको बजेट उपलब्ध गराउन सके सबै पशुमा एकै पटकमा खोप लगाउन सकिने उनको भनाइ छ । सरकारले पर्याप्त मात्रामा बजेट दिन सकेमात्र खोरेत उन्मूलन गर्न सकिने उनले बताए ।
अपर्याप्त बजेटका कारण सबै पशुमा खोप दिन नसक्दा कुनै न कुनै पशुमा यो रोग रहिरहने भएकाले जुनसुकै समयमा महामारीको रूप लिन सक्ने कृषि–अर्थविज्ञ सुशील खड्का बताउँछन् । ‘सरकारले एकैपटक बजेट दिँदैन । वार्षिक किस्ता किस्तामा दिएको बजेट अपर्याप्त छ । यसले सन् २०३० मा त परै जाओस्, यस्तै रहे सन् २०६० सम्म पनि उन्मूलन हुन मुस्किल छ,’ उनले भने ।
‘हाल वार्षिक रूपमा आएको खोपको मात्रा १ तिहाइ मात्रै हो, यसले उन्मूलन गर्ने समभावना नै देखिन्न,’ खतिवडाले अभियानसँग भने, ‘ सन् २०३० आउन अझै ७ वर्ष बाँकी छ । यो सात वर्षमा गर्ने वार्षिक १० करोड लगानी एकैपटक दिए नेपालबाट खोरेत उन्मूलन गर्न सन् २०३० सम्म कुर्नुपर्ने थिएन ।’
खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर, बंगुर, बँदेल, हात्तीलगायत खुरफट्टा जंगली जनावरमा देखा पर्ने सरुवा रोग हो । यसले उत्पादनमा कमी ल्याउनेसँगै पाडा–बाच्छामा मृत्युदर बढाउने गरेको छ ।
यो रोग लागेमा गर्भिणी माउले बच्चा तुहाउँछ । यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भए पनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग नेपालमा बाह्रै महिना तराई, पहाड र हिमाली जिल्लाहरुमा देखा परिरहन्छ । पशु आवतजावत नै रोग प्रकोपको मूल आधार हो ।
नेपालमा कुनै रोगको महामारी फैलिएमा त्यसको असर यहाँका पशुपालक कृषक र उपभोक्तामा मात्र पर्दैन, यसले नेपालले लिएको मासुजन्य बस्तु निर्यातको योजनालाई समेत असर पार्ने विज्ञहरूको भनाइ छ ।
यसबारे पटक पटक मन्त्रालयमा कुरा राखे पनि गम्भीर नभएको खड्काको आरोप छ । सरकारले पर्याप्त बजेट दिए खोरेत उन्मूलन गर्न सहज रहेको खड्का बताउँछन् ।
‘महामारीजन्य पशुपन्छी रोग लागेमा नेपालको पशुपन्छीजन्य बस्तु कुनै पनि देश पठाउन नसकिने अवस्था पनि आउन सक्छ । हामीसँग प्रविधि र प्राविधिक पनि तयारी छन् । खोप स्टोरको लागि प्रशस्त क्षमता भएका उपकरण पनि छन्, तर बजेट अभाव छ,’ उनले भने ।