भदौ १, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले भदौ २५ गते १८औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले आफ्नै प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस वितरण पश्चात कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको बोनस र हकप्रद पश्चात चुक्तापूँजी वृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि भदौ १८ गतेदेखि २४ गतेसम्म गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिकमो बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।