दाङ औद्योगिक महोत्सव हुँदै

दाङ (अस) । दाङ जिल्ला उद्योग वाणिज्य संघले ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ सञ्चालन गर्ने भएको छ । संघले आउँदो फागुन २६ देखि चैत ८ गतेसम्म घोराहीमा महोत्सव आयोजना गर्ने भएको हो । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ नारासहित सञ्चालन गरिने महोत्सवले विशेषगरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने महोत्सव मूल आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘उद्योग वाणिज्य संघले विभिन्न समय यहाँको उद्योग, व्यापार, कृषि एवं पर्यटनलगायत क्षेत्रको प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरतास्वरूप संघले महोत्सव आयोजना गर्दै छ ।’ महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी बजार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । महोत्सवले पर्यटन विकास एवं सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष बुढाथोकीको भनाइ छ । संघले विभिन्न समिति तथा उपसमिति गठन गरेर महोत्सवको तयारीमा जुटेको जानकारी दिएको छ । घोराही उपमहानगर–१४ झिगौंरामा आयोजना गरिने महोत्सवमा औद्योगिक तथा व्यापारिक वस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडीबुटी तथा पर्यटन एवं सूचना प्रविधिको प्रदर्शनी गरिनेछ । महोत्सवमा लुम्बिनी प्रदेश १२  जिल्लाबाट विभिन्न व्यापारिक स्टल रहनेछन् भने करिब ५ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित सामग्री

दाङ औद्योगिक महोत्सव बिहीवारदेखि शुरु, २० करोड बराबरको कारोबार हुने लक्ष्य

फागुन २७, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ शुरु भएको छ । महोत्सवको उद्घाटन बिहीवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरे ।  महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । उनले यस्ता महोत्सवले स्थानीय रुपमा उत्पादन गरिएका वस्तुहरुलाई बजारीकरण गर्न र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने बताए ।  ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ मुल नाराका साथ फागुन २६ गतेदेखि शुरु भएको औद्योगिक महोत्सवको बारेमा जानकारी दिदैं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं, महोत्सव मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जिल्ला उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि यस्ता महोत्सव विगतका समयदेखि लगाउँदै आएको बताए । यस महोत्सवले विशेष गरी दाङ जिल्लाको आर्थिक, सामाजिक र पर्यटन विकासमा टेवा पुर्‍याउने उनको भनाइ थियो ।  महोत्सवमा दाङसहित लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाका गरी करीब ३२५ ओटा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी स्टलहरु रहेका छन् ।  महोत्सव शुरु हुनुभन्दा अघि घोराही बजार क्षेत्रबाट विभिन्न झाँकीसहितको शोभायात्रा गरिएको थियो । चैत ८ गतेसम्म चल्ने महोत्सव अवधिभर करीब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।