फागुन २७, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ शुरु भएको छ । महोत्सवको उद्घाटन बिहीवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरे ।
महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । उनले यस्ता महोत्सवले स्थानीय रुपमा उत्पादन गरिएका वस्तुहरुलाई बजारीकरण गर्न र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ मुल नाराका साथ फागुन २६ गतेदेखि शुरु भएको औद्योगिक महोत्सवको बारेमा जानकारी दिदैं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं, महोत्सव मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जिल्ला उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि यस्ता महोत्सव विगतका समयदेखि लगाउँदै आएको बताए । यस महोत्सवले विशेष गरी दाङ जिल्लाको आर्थिक, सामाजिक र पर्यटन विकासमा टेवा पुर्याउने उनको भनाइ थियो ।
महोत्सवमा दाङसहित लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाका गरी करीब ३२५ ओटा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी स्टलहरु रहेका छन् ।
महोत्सव शुरु हुनुभन्दा अघि घोराही बजार क्षेत्रबाट विभिन्न झाँकीसहितको शोभायात्रा गरिएको थियो । चैत ८ गतेसम्म चल्ने महोत्सव अवधिभर करीब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।