प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको महामारी साझा समस्या रहेको बताउनुहुँदै यस लडाइँमा सक्रिय सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ ।
अहिलेको महामारीको सामना गर्न सकिने दृढता व्यक्त गर्नुहुँदै उहाँले महामारीको लडाइँमा सरकारले थुप्रै काम गरेको र आगामी दिनमा पनि गर्न उत्सुक रहेको बताउनुभयो । सरकारको प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायी, गैरसरकारी संस्था, गैरआवासीय नेपालीले सङ्गठित र एकद्वार प्रणालीमार्फत सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार जनस्वास्थ्यविद्, सुरक्षा निकायका प्रमुखहरू, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्सलगायतका सरोकारवालासँग सामूहिक छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले औषधि, भेन्टिलेटरलगायतका उपकरणमा कमी हुनुहुँदैन भन्नुभयो ।