कर्णालीमा गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन दिने योजना आगामी बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गोठालालाई मासिक भत्ता दिने योजना ल्याउने तयारी भएको  जानकारी दिए । मन्त्रालयको बजेटमा गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन र अनुसन्धान केन्द्र स्थापनाको योजना समेत समेटिने उनले बताए । ‘मन्त्रालयलाई प्राप्त बजेट सिलिङ अनुसार गोठालाका लागि भत्ता, वृद्ध कृषकलाई पेन्सन र अनुसन्धान केन्द्र स्थापनालाई विशेष प्राथमिकतामा राखेको छु,’ उनले भने, ‘यस अघिदेखि सञ्चालनमा रहेका योजनाहरू केलाएर प्राथमिकताका योजनालाई मात्रै निरन्तरता दिइनेछ ।’ यस्तै सिँचाइ कुलो तथा सिँचाइ पोखरी निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए । क्रमागत योजनाहरू निरन्तर हुने र अन्य नयाँ योजनालाई आगामी बजेटमा समेट्नेगरी मन्त्रालयले तयारी गरेको जानकारी उनले दिए ।   प्रदेशमा रहेका कृषि पेशामा आबद्ध कृषकलाई पेन्सन उपलब्ध गराउन मन्त्रालयको आगामी योजना ल्याउन लागिएको मन्त्री शाहीले प्रस्ट पारे । उनका अनुसार कृषि पेशामा आबद्ध रहँदै ६० वर्ष उमेर नाघिसकेका कृषकका लागि मासिक ५ सय रुपैयाँ पेन्सन उपलब्ध गराइनेछ । कर्णालीका वृद्धवृद्धाका लागि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आए पनि कृषिमा थप प्रोत्साहन हुनेगरी कृषकलाई मासिक पेन्सन प्रदान गर्न लागिएको उनले बताए । यस्तै पशुपालन गरिरहेका कृषक गोठालालाई प्रोत्साहनका लागि भत्ता उपलब्ध गराइने कृषिमन्त्री शाहीले जानकारी दिए । त्यस्ता कृषकलाई मासिक १ हजार भत्ता दिने योजनाका साथ मन्त्रालय तयारीमा लागेको छ । कम्तीमा पाँच भैंसी, पाँच गाई, पाँच चौरी गाई, ५० बाख्रा र ५० भेडा पालेका कृषक ‘गोठालो भत्ता’ योजनाबाट लाभान्वित हुनेछन् । कर्णालीमा पशुपालन प्रवर्द्धनमा सघाउन उक्त कार्यक्रम ल्याउन लागिएको मन्त्री शाहीले बताए । प्रदेशलाई कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रमुख चार अनुसन्धान केन्द्र स्थापनाको योजना प्राथमिकतामा राखिएको मन्त्री शाहीले जानकारी दिए । औपचारिक हिसाबले विभिन्न अनुसन्धान केन्द्र स्थापना भए पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ । ‘त्यसैले व्यावहारिक रूपमै कार्यान्वयन हुनेगरी अनुसन्धान केन्द्र स्थापनाका लागि मन्त्रालयको बजेट विनियोजन गरिनेछ ।’ उनका अनुसार प्रदेशमा कृषि अनुसन्धान, चौरी गाई अनुसन्धान, फलफूल अनुसन्धान र भेडा–बाख्रा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । कर्णालीमा सम्बन्धित विषयक्षेत्रका विज्ञ एवं वैज्ञानिक राखेर अनुसन्धानको दायरा फराकिलो बनाइने मन्त्री शाहीले बताए । ‘अनुसन्धान पश्चात् कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन गर्न सकिने अपेक्षा गरेका छौं, उत्पादन बढे आत्मनिर्भर हुन सकिन्छ, सबै क्षेत्र आत्मनिर्भर भए समग्र मुलुक नै समृद्ध बन्न सक्छ ।’

सम्बन्धित सामग्री

छत्रकोट गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई पनि पेन्सन दिने

२१ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ । यसअघि गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको थियो । अब ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस्था गर्न लागिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । […]

पेन्सन पाएपछि नरैनापुरका किसानमा खुसियाली

बाँके । व्यावसायिक भैंसीपालन गर्दै आएका बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियाका बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दंग छन् । ‘गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकामा धेरै खुसी लागेको छ’, ४९ भैंसी र ५ वटा गाईपालन गरी दूध बेचेर जीविकोपार्जन गर्दै आएका उनले भने, ‘अब कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।’ बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादवसहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको ६ महिनामा १२ कृषक  छनोट गरी जनही २ हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा चालू आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रतिकिसान २ हजारका दरले कृषक पेन्सन कार्यक्रम सुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनोट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ । कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीच स्पर्धा उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्‍याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए । ‘गाउँपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ’, उनले भने, ‘परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दै आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।’ गाउँपालिकाको कृषि शाखाबाट छनोटमा पर्ने ६ जनामा सबै व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा–५ मा १९ कठ्ठामा व्यावसायिक तरकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लगाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा–४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा–२ का रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा–१ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेका हुन् । यसैगरी पशुपालक किसानबाट २ हजार कुखुरापालन गर्दै आएका वडा–६ का अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैंसीपालन गरिरहेका वडा–५ का वलियासार यादव र वडा–२ का जहाँ इफरान अहमद कृषक पेन्सन छनोटमा परेका छन् । वडा–५ का हरिशंकर मुराउ, वडा–४ का छोटेलाल राढ र वडा–५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका  छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाई व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनोट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । रासस

किसानलाई पेन्सन दिने तयारीमा चौरजहारी नगरपालिका

पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ । आव २०७७/७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका …

किसानलाई व्यावसायिक बन्न उत्प्रेरणा दिने बुढीगंगाको कृषक पेन्सन कार्यक्रम

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरास्थित बुढीगंगा नगरपालिकाले कृषकलाई पेन्सन दिन्छ भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । सामान्यतया पेन्सन कुनै सरकारी कर्मचारी अवकाश भइसकेपछि पाउने गर्छन् तर बाजुरामा कृषकलाई पेन्सन कसरी दिने रहेछ यसबारे जोकोहीलाई कौतुहलता जाग्नु स्वाभाविकै हो । देशको कुल ग्राहस्थ उत्पादनको एक तिहाइ भन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र दुई […]