काठमाडौं (अस) । स्वास्थ्य मन्त्रालय÷स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकुमा उद्योगी व्यवसायीका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
भदौ ४ गते आयोजित कार्यक्रममा महासंघका सदस्य संघ–संस्थामा आबद्ध उद्यमी व्यवसायी, कामदार कर्मचारी तथा परिवारजनलाई खोप दिइएको थियो । कार्यक्रममा करिव ६ सय जनाले भेरोसिल खोप लगाएको महासंघले बताएको छ ।
खोप कार्यक्रमको सुरुआत महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए । सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिडविरुद्धको खोप उपलब्ध गराएजस्तै सबै प्रदेशहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई प्राथमिकतामा राखेर खोप लगाउन महासंघले आग्रह गरेको छ ।