काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय सितल निवासमा बस्नेछ ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको सो बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुनेछ ।
राजमोले बर्तमान सरकारले संसद विघटन गरेर असंवैधानिक काम गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।
अध्यक्ष केसीले नेकपा (एमाले) र माओवादी केन्द्रबीच सम्भव भए पुनः पार्टी एकता गर्न र नभए वामपन्थी शक्तिका बीच कार्यगत एकता कायम गरी सरकार सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।
सर्वोच्च अदालतको आदेशसँगै सत्तारुढ दल नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि सरकार संकटमा परेको छ । अहिले विभिन्न दलहरुबीच सत्ता समीकरणको प्रयास भइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने सम्भावना भएका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जाँदै हुनुहुन्छ । विदेश जानुअघि राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।