असार ८, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले असार २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले आफ्नै केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । सभामा उपस्थितिको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
सभाले शेयरधनीहरुलाई चुक्तापूँजीको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७ दशमलव ४२ प्रतिशत (१:१.४७५२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
सभाको अन्य प्रस्तावमा नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।