उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदलको बैठक बिहीबार बस्ने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक बिहीबार बस्न लागेको हो ।
तथापि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले आन्दोलनबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले बिहीबार कार्यदलको बैठक बस्न लागेको र त्यसमा किसानका प्रतिनिधिलाई समेत बोलाइएको बताउनुभयो ।