महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै छ । सोमबार २ पटक बसेको बैठकले भागवण्डा मिलाउन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक ११:३० मा बस्ने छ । हिजोको बैठकले पोखरा बाहेकका सबै महानगरको भागवण्डा टुंगो लगाएको छ । जस अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने तथा जसपाले वीरगञ्ज पाउने र माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरामा भने कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको छैन । आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान छ भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै आएका छन् । यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका छन् । सत्ता गठबन्धनको बैठकले महानगर सहित उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।