एक पत्रकारले भनेका थिए विदेशी पर्यटकहरू त्यस्ता ठाउँ जान रूचाउँछान कि त्यो स्थानमा कुनै पनि ठूलो दैविक प्रकोप वा द्वन्द्व सकिएको होस् । यसमा उनको फरक तर्क थियो । द्वन्द्व सकिएपछि त्यहाँ सुरक्षा बढी हुन्छ भने विपत्ती पछि त्यहाँ बन्ने संरचना नयाँ र मजबुत बनाइएको हुन्छ । यस्तो स्थानमा आम पर्यटक कम हुन्छन् बाठो पर्यटक बढी पुग्छन् । किनकी त्यहाँ हरेक कुरामा सतर्कता अपनाइन्छ अनि पर्यटक आकर्षित गर्ने विभिन्न अफर पनि ल्याइन्छ ।
उनले उदाहरण दिँदै थप भनेका छन्, 'भारतमा ताज होटलमा आक्रमण भएपछि त्यहाँ पर्यटन कम आए, सरकारले उच्च सुरक्षा सतर्कता सहित स्किम ल्यायो । जसको कारण आन्तरिकभन्दा बाह्य पर्यटकको आगमन बढ्यो । सुरक्षा र सस्तो पनि पाएपछि बाठो पर्यटक यहाँ पुगेको उनको निष्कर्ष थियो ।
नेपालको लामटाँङ क्षेत्र पनि यस्तै स्थानमा पर्छ । यस स्थानमा पनि भूकम्प र कोरोना कहर पछि नै पर्यटकको चहलपहल बढेको हो । पहिले पहिले विदेशी पर्यटक मात्रै पुग्ने यस स्थानमा अहिले आन्तरीक पर्यटकको पनि बाक्लो उपस्थिति देखिन्छ । पहिले वर्षमा मुस्किलले १०० जना नेपाली पर्यटक आउँथे, अहिले दैनिक १०० आन्तरिक पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पेम्वा तामाङ बताउँछन् ।
यो पंत्तिकार पनि गत चैत्रको २९ गते बिहान महाराजगञ्जबाट साथी समन शर्मा सहित लाङटाङ यात्रामा निस्किएको थियो । नुवाकोट हुँदै करीब १२० किलोमिटरको यात्रा पार गरेपछि स्याफ्रुबेशी पुगिन्छ । स्याफ्रुबेशीमा बाइक राखेर १६ किमिको यात्रापछि साँझ र्याम्चु पुगियो । जंगलको बीचमा ३ ओटा मात्रै घर थिए । यहाँ पुगेर खाना खाने भयौं । म सर्वभोगी थिए, साथि भने ननभेज । त्रिशूलीनै हालेको जस्तो दाल र मस्यौराको तरकारी त्यहि पनि समन एक्लैले झ्वाम पार्दियो । त्यहाँ पुग्दा नपुग्दै म भने विरामी परीसकेको थिएं ।
भूकम्प अगाडी मानिस लाङटाङमा बास बस्थे । अहिले भने क्याँङजिङ गुम्बा पर्यटकीय हब बनेको रहेछ । यसको कारण रहेछ ०७२ को बिनासकारी भूकम्प र त्यसको क्षति । यो भूकम्पको समय सबैभन्दा बढी क्षती भएको स्थान पनि हो । भिरालो स्थानमा रहेको लाङटाङमा ठूलो क्षति भएपछि पहिले गोठमात्रै रहेको क्याँङजिङ भन्ने स्थानमा बस्ती सरेको रहेछ । यसकारण पनि यहाँ आधुनिक घर होटल प्रशस्तै बनेका रहेछन् । नाकै ठोकिने उकालो चढ्दै यहाँ सम्म आउन हामिले १० घण्टामा २४ किमी पैदल यात्रा गरिसकेका थियौं ।
लाङटाङ- क्याँङजिङ यो रूटमा एउटा चर्चित नाम रहेछ 'लामा होटल' । यो होटलको नामभन्दा पनि ठाउँकै नामले बढी प्रख्यात रहेछ । यहाँ पर्यटकका लागि राम्रै सुविधाहरू पनि छन् । यो रूटमा यात्रा गर्दा बस्नै पर्ने स्थानमा पर्छ यो ।
यस्तै यहाँ रिभरसाइड भन्ने स्थान पनि छ । झ्याप्प सुन्दा ठूलै पर्यटकिय क्षेत्र हो जस्तो लाग्ने । तर, अचम्म लाग्ने कुरा के छ भने लाङटाङ रिभरको छेउमा एउटा सानो घर छ । त्यसलाई नै रिभरसाइड भनिदो रहेछ । यसपछि पुगिने स्थान घोडा तवेला हो । यो स्थानबाट बाट दृष्य हेर्न र क्यामेरामा कैद गर्न चाहनेका लागि अति नै राम्रो छ । ट्रेकको मजा लिने हो भने यहाँ बस्नै पर्ने स्थान हो । खानपान र वातावरणले पनि अनुकुल नै रहेको छ ।
यहाँका स्थानीय पेम्वा तामाङ र उनका ४ भाइ मिलेर गो हिमालय भन्ने टुर्स कम्पनी नै खोलेर ट्रेकिङको विस्तार गर्न लागिरहेका रहेछन् । यो एउटा सोसल प्रमोसनल प्रोजेक्ट भएको उनले बताए । यसबाट लाङटाङ र पर्यटनको जानकारी प्रदान गर्ने योजना सहित क्याङजुङमा सुविधा सम्पन्न होटल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको उनले बताए । पेम्वाका माइलोदाइ आइटीका विद्यार्थी हुन । उनले नै यो कन्सेप्ट अगाडि सारेका रहेछन् । यो कन्सेप्ट नेपालको लागि नौलो त होइन तर, लामटाङ क्षेत्रमा भने यो पहिलो भएको उनी बताउँछन् ।
पहिले फाउण्डेशनमा लगानी थप्नु भन्दा पनि यस क्षेत्रको प्रमोसनमा लागेको उनी बताउँछन । प्रमोसनको काम सरकारी तवरबाटै भइदिएको भए हुने हो, त्यो भएको छैन । भूकम्प र कोरोनाको कारण आँफै प्रमोसन भएको क्षेत्र हो यो । कोरोनाले घरमै बन्दक भएका मानिस रिफ्रेसमेन्टको लागि आउँदा केही चहलपहल बढ्यो । तर, यसलाई निरन्तरताका लागि प्रमोसनको जरूरी छ । हामीले यसलाई अझै ब्यापक बनाउने पहल थालेका छौं,' लामाले भने ।
हर्ल्ड नामक युट्युव च्यानल होष्ट गर्ने अमेरिकी नागरीकले यस स्थानको भ्लग बनाएर आफ्नो च्यानलमा राखेपछि विदेशी पर्यटकको संख्या समेत बढेको रहेछ । तामाङ दाजुभाइले उनै युट्युबरको सहयोगमा यस स्थानको प्रमोसनमा लागेका हुन् ।
हार्डरक क्याफे
तामाङकै सानीआमाले चलाएको चर्चित हार्डरक क्याफे कै नाम बाट सञ्चालनमा आएको एउटा क्याफे रहेछ यहाँ । चट्टान सँगै जोडर बनाइएकाले हार्डरक क्याफे नामाकरण भएको रहेछ । तर, ती युटुवरले भिडियो युट्युवमा राखेपछि उक्त कम्पनीले फ्रेञ्चाईज बाहेक अरूले सञ्चालन गर्न नपाइने भनेपछि नाम परिवर्तन गरी 'बिग हार्डरक' नामाकरण गरिएको रहेछ ।
क्याँङजिङ गुम्बा एउटा शहर नै हो । यहाँ पर्यटनका लागि आवस्यक धेरै संरचना तयार भइसकेका छन् । यहाँबाट भने धेरै पिकहरू चढ्न सकिन्छ । लोअर क्याँङजिङ र क्याँङजिङ -री यहि पर्छ भने यहाँ एउटा आइसलेक (हिमताल) पनि रहेछ । यस स्थानमा प्राय हिउँ पर्ने भएकोले ६ महीनामात्रै बस्ती बस्ने रहेछ । बाँकी समय कि त काठमाडौं कि त लाङटाङ बस्ने रहेछन् ।
भोलिपल्ट बिहान साथी समन क्याँङजिङ रि तर्फ लाग्यो । म हल्का बिरामी भएकोले क्याँङजिङ बजार नै घुमे । बिहानको खाना खाएपछि स्याप्रुबेशी फर्किने तय भयो । -निशान केसी
पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।
लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र ५२ वटा होटल, लज तथा चिया पसल सञ्चालन छन्। उनीहरूले ग्रेडअनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनु पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रुपैयाँ वार्षिक राजस्व तिर्नुपर्छ।