पार्टीको विवाद मिलाउन नसकेपछि ओलीले संसदलाई दाउ लगाए : पौडेल

तिलक थापा, बागलुङ । ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि दुर्गा पौडेलले सम्बोधन गर्दै जनताबाट झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले संसद् विघटन गर्नु प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदम भएको बताउनु भएको छ । पार्टीको आन्तरिक कलहलाई मिलाउन नसकी आफ्नो पद र कुर्सी जोगाउन जनताको भावनामाथि खेलवाड गरिएको भन्दै उहाँले संसद्लाई दाउ बनाएर कानुन विपरीत संसद् भंग गर्नु असंवैधानिक कदम भएकाले यसको विरोध गर्न र संसद् पुनर्स्थापनाका लागि आम नेपाली जनता संघर्षमा होमिनुपर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा विशेष अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा प्रदेश मामिला सभापति एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, अतिथिहरु राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले मन्तव्य राख्नु भएको थियो । राष्ट्रिय जनमोर्चाको देशव्यापी विरोध कार्यक्रमको सिलसिलमा आयोजित उक्त विरोध सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म बहादुर कुँवर, सल्लाहकार गौरीश्वर पाण्डे, बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला समितिका सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा सदस्यहरु, पार्टी कार्यकर्ता, पत्रकार, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य एवं ढोरपाटन नगर कमिटीका अध्यक्ष दिपक थापाको अध्यक्षता, अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारीको स्वागत मन्तव्य र अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य युवराज महतको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

एमालेमा सहमति जुटाउन भीम रावलको सक्रियता, राष्ट्रपति भण्डारीसँग लामो छलफल

पार्टी विवाद मिलाउन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सक्रियता बढाएका छन् ।  १० बुँदे सहमति गर्न माधव नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका रावलले पार्टी विवाद मिलाउन शनिवार राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका हुन् ।  दिउँसो अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आजका लागि राखिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न लगाएका थिए । राष्ट्रपति भण्डारीसँग शनिवार साँझ शीतल निवासमा २ घण्टा लामो छलफल भएको थियो ।  भेटमा रावलले पार्टी एकताका लागि पहल गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका स्रोतले बतायो । रावलको ...