जनकपुरधामको एक होटलमा अन्दाजी २२ वर्षीय युवतीको शव फेला परेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा ती युवतीको शव फेला परेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।सो होटलको कोठामा झुण्डिएको अवस्थामा आज साँझ फेला परेको प्रवक्ता मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएको खुलेको छ । मृतक युवतीको परिचय खुल्न सकेको छैन भने घटनाका सम्बन्धमा अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।