माघ २८, काठमाडौं । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।
नेपाल डेरी एसोसिएशन र डेरी उद्योग संघले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको बताएका हुन् ।
बिहीवार सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर रू. ९ ले बढाउने निर्णय गरेको थियो । डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघले बताएको छ ।
मूल्य वृद्धि भएसँगै अब ५०० एमएलको एक प्याकेटको खुद्रा विक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ ।
यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ रहेको थियो ।