विकास भाटक्षेत्री ।।
आजकल राजनीतिक बहसमा ‘युवा’ शब्द हावी भएको देखिन्छ । युवा भन्ने शब्द आफैमा उर्जावान छ । युवालाई ‘परिवर्तन’ को पर्यायवाची पनि रूप लिने गरिन्छ । युवाले नै केही न केही परिवर्तन ल्याउँछ भन्ने आम विश्वास छ ।
तर प्रश्न उठ्छ, के ‘युवा’ नै अन्तिम ढाल हो त ? देशले ‘युवा’ साँच्चिकै खोजेको हो कि युवाले अन्य देश खोजेको हो ?
नेपालमा १६ देखि ४० वर्षसम्मकालाई आधिकारिक रूपमा युवा मानिन्छ । तर हामीले रूपकको परिवेशमा मानिने ‘युवा’ बारे कसलाई युवा भन्ने वा नभन्ने, आफैमा विवादास्पद छ । विगतका सामाजिक, राजनीतिक उत्तरचढावलाई युवाको दृष्टिकोणबाट हेर्ने हो भने सन्देहास्पद प्रश्न उठ्छन् । आखिर युवा केका लागि ? ‘बलि’ का लागि वा ‘बल’ का लागि ?
धेरै नेपाली युवालाई बलि चढाएर यो देशमा आफ्नो परिपाटी बनाउने शैली थियो, दुर्भाग्यवश अहिलेसम्म यो प्रवृत्ति नेपाली समाज र राजनीतिमा कायमै छ । विभिन्न जनान्दोलनमा मात्र नभई आफ्नो घरभित्र पनि ‘फलानो’ को सपना देखाई युवायुवतीको भित्री आवाज र आकाङ्क्षालाई अँठ्याउने अर्धसामन्ती अभिभावकको कर्तुत पनि ‘बलि’ सरह हो ।
युवा ‘बल’ को कुरा गर्ने नै हो भने भारतीय नवयुवा करमचन्द गान्धी मात्र नभई हाम्रै नेपाली इतिहासले बोकेको नवयुवा सङ्गठित कमरेडको उदाहरण अझै जीवित छ । नेपालका डाँडाकाँडा, तराई–मधेस बाट एकजुट भई गणतन्त्र ल्याएर एक विन्दुमा सफल भएकै हुन् । तर आज आम जनताप्रति जवाफदेही नहुने गणतन्त्र “कागलाई बेल पाक्यो हर्ष न विस्मात्” जस्तै भएको छ । त्यस बेलाका कतिपय नवयुवा नेता सत्तासिन भए पनि आज नेपालले वास्तविक युवा नेता गुमाएको छ ।
तथ्याङ्कअनुसार अहिलेसम्म नेपालबाट ५० लाखभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि देश छाडेका छन् । तीमध्ये ८० प्रतिशत युवा खाडी मुलुक र मलेसिया गएका छन् । संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार नेपालमा धेरै युवा झुग्गीबस्ती र ग्रामीण क्षेत्रमा हुर्किएका छन् । नेपाली जनताको मध्यआयु २४ वर्ष रहेको छ । यसको मतलब यदि जनसङ्ख्यालाई आयुको हिसाबले आरोही क्रममा विभाजन गर्ने हो भने ...