सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजारको सुविधा

पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारीमार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ । सुनवल नगरपालिका ९ स्वाठीस्थित स्वाठी कृषि सहकारी संस्थाले स्थानिय किसानहरुलाई कृषि कार्यका लागि लाखौं रुपियाँ पर्ने अत्याधुनिक कृषि औजारहरु सहुलियत दरमा उपलब्ध गराएको हो ।

सम्बन्धित सामग्री

आधुनिक होइन, दिगो र रैथाने कृषिको खाँचो छ

जीवनमा गरेका काम, हासिल गरेका सफलता र जोडिएका सम्बन्धले मानिसको परिचय पनि थपिँदै जान्छ । यस्तै अनेकौं परिचयबाट चिनिने व्यक्ति हुन् आङतेम्बा शेर्पा । हुन पनि ६० वर्षे उमेरमा उनी कहिले पर्यटकको भरिया, पर्वतारोही त कहिले मोडलसम्म बने । यस्तै आविष्कारक, लेखक र पर्यटन व्यवसायी तथा कृषि अभियन्ताको परिचय पनि बनाए । कक्षा ३ सम्मको औपचारिक शिक्षापछि पर्यटकको भारी बोक्न थालेका शेर्पाले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडल तथा ब्रान्ड एम्बासडरको भूमिका समेत निर्वाह गरेका छन् । त्यति मात्र होइन, अमेरिकामा पानीजहाज, लुगा तथा हेलिकोप्टर कम्पनीको विज्ञापनमा समेत उनले मोडलिङ गरिसकेका छन् । पछिल्लो समय भने उनको व्यस्तता पर्यटन व्यवसाय, कृषि तथा किताब लेखनमा बढेको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ छेप्लु (तत्कालीन सगरमाथा अञ्चल, सोलुखुम्बु, चौरीखर्क गाविस–७) मा जन्मिएर संसारका थुप्रै मुलुकमा विभिन्न काम गरिसकेका शेर्पासँग उनको जीवन संघर्ष, उतारचढाव र अनुभवबारे आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्काले गरेको कुराकानीको सम्पादित अंश :  तपाईंले विदेशी पर्यटकको भारी बोक्ने कामदेखि पर्वतारोहण, उद्योग, व्यवसाय सञ्चालन, वातावरण संरक्षण तथा स्वीस घडीको मोडलिङसम्मको काम गरिसक्नु भएको छ । खासमा तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ? संसारमा झन्डै ८ अर्ब मान्छेको बसोवास छ । सबै फरकफरक खालका छन् । तर सबैले श्वास फेर्छन् । म पनि श्वास लिएरै पृथ्वीमा आएको एउटा मानव हुँ । पृथ्वीमा मानव भएर आइसकेपछि केही न केही काम गर्नुपर्ने हुन्छ । प्रकृतिको नियम अनुसार मैले पृथ्वीमा जन्म लिइसकेपछि विभिन्न काम गरेको हुँ । अहिले म आविष्कारक पनि भएको छु । मानिसलाई पँखेटा बनाएर उड्न मिल्ने प्याराग्लाइडिङ र पावर प्याराग्लाइडिङ (पीपीजी) उपकरण निर्माणमा योगदान गरेको छु । यसको आविष्कार गर्ने तीनजना व्यक्तिमध्ये एउटा म हुँ । मानिस पँखेटा लगाएर उडोस् भन्ने मेरो चाहना छ । त्यस्तै पृथ्वीलाई प्राकृतिक रूपमा बचाइराख्न म वातावरण संरक्षणको दूत भएर पनि हिँडिरहेको छु, काम गरिरहेको छु । ‘पृथ्वी मेरो घर, स्वास्थ्य मेरो धन’ नाराका साथ देश–विदेश दौडाहामा छु । त्यस्तै मेरो ‘कृषि मेरो चाहना, कृषक मेरा साथी’ भन्ने अर्को नारा पनि छ । कृषि क्षेत्रबाट उत्पादित खाद्यान्नविना पृथ्वीमा बसोवास गर्ने कुनै पनि मानिसको जीवन चल्न नसक्ने भएकाले कृषि उत्पादन तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडसँग पनि जोडिएको छु । देशभित्रका २५–३० जिल्लाबाहेक जापान, दक्षिण अफ्रिका, अमेरिका र युरोेपमा पनि खाद्य बैंकको सञ्जाल विस्तार भइसकेको छ ।  मानिसले प्रकृति बिगार्दै गएकाले त्यसको संरक्षण आवश्यक देखिएकाले संरक्षणका लागि नयाँ सोच र योजनाका साथ काम गर्ने मेरो चाहना छ । त्यही भएरै पँखेटा लगाएर उड्न मिल्ने पीपीजीको आविष्कार गरिएको हो । पीपीजी आउनुअघि प्यारासुट, प्याराग्लाइडिङ, हेङग्लाइडिङ जस्ता विभिन्न माध्यमबाट पनि उडान हुँदै आएका थिए, भइरहेका पनि छन् । यस्तोमा इन्धनविना उड्न सक्ने अझै भरपर्दो साधनको आवश्यकता बोध भयो । सोही आवश्यकता पूर्तिका लागि पीपीजीको आविष्कार गरिएको हो । इन्धनविना आकाशमा उड्यो भने प्रदूषणबाट मुक्त हुन सकिन्छ । हवाईजहाज निर्माण गर्न, विमानस्थल बनाउन, गाडी किन्न धेरै पैसा लाग्ने भएकाले पीपीजीको प्रयोगले त्यो समस्या पनि समाधान हुने भयो । अहिले लाखौं मान्छे पीपीजीबाट उड्न थालेका छन् । यो काम सफल भएकोमा म खुशी छु । यी सबै काम गरे पनि म एउटा साधारण मानव हुँ भनेर परिचय दिन चाहन्छु ।  मेरो जीवनको करिअर भने पर्यटकको भरिया बोक्ने कामबाट शुरू भएको हो । तर मैले लिएको विचार महत्त्वपूर्ण भएकाले र सोहीअनुसार इमानदार भएर काम गरेकाले विभिन्न अवसर पाएँ । स्वीट्जरल्यान्ड, चेक रिपब्लिक, अमेरिका जस्ता देशमा पुगेर विचार राख्न पाएँ । त्यहाँका नागरिकले मेरा विचार र कर्मलाई पत्याए । अहिले म पर्यटन व्यवसायी पनि भएको छु । यतिखेर पर्यटनको सिजन भएकाले मेरो कर्मबाट रोजगारी सृजना भइरहेको छ । केही दिनपछि म हिमाल चढ्न जाँदै छु । किताब लेख्ने काम पनि गरिरहेको छु । सोलुखुम्बुको चौंरीखर्कमा जन्मिएको एउटा मान्छेका लागि यो सबै काम निकै बढी हो जस्तो लागे पनि मैले सहज रूपमा लिइरहेको छु ।  इमानदारीपूर्वक काम गरेकाले नाम, दाम कमाउन सफल भइयो । मानिस इमानदार हुने हो भने संसारमा जहाँ बसे पनि हुन्छ । कतिपयले मलाई धेरै धनी व्यक्ति पनि भन्छन् । त्यसो सुन्दा मलाई हाँसो लाग्छ । मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मान्छेको इमानदारी हो । जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या छ जस्तो लाग्दैन । मान्छेको जीवनमा धेरैभन्दा धेरै जनासँग सहकार्य गरेपछि मात्र केही न केही नयाँ योजना बन्ने हुन् । मेरो जीवनमा पनि त्यस्तै भइरहेको छ । मेरो विचारमा हरेक व्यक्तिका लागि जम्मा दुई दिन हुन्छ, एउटा जन्म र अर्को मृत्युको दिन हो । अरू समय व्यतीत गर्ने अवधि मात्र हो । जन्म र मृत्युबीचको अवधिमा सबैले केही न केही काम गर्छन् । सिद्धार्थ गौतम बुद्धले भनेझैं मानिस प्रकृतिप्रेमी हुनुपर्छ भन्ने मलाई लाग्छ । म पनि त्यसैबाट प्रभावित छु । गौतम बुद्धले आममानिसका लागि काम लाग्ने विचार दिएकाले अहिलेको पुस्ताले देवता मानेको हो जस्तो लाग्छ । मलाई पनि देवता भनेको त्यस्तो हो जस्तो लाग्छ, जसले अरूका लागि दिने काम गर्छ ।  हिजोको भरिया आङतेम्बा आज कसरी यतिखेर चर्चा गर्न लायक अवस्थामा पुग्यो ? मैले जीवनमा ठूलो मान्छे खोज्न भनेर सारा संसार चहारेँ । अहिले विगतलाई संस्मरण गर्दा यो सब नबुझेर भएको रहेछ भन्ने लाग्छ । वास्तविक रूपमा भन्ने हो भने भरिया हुँदाको आङतेम्बा र अहिलेको आङतेम्बा एउटै हो । त्यतिबेला भौतिक रूपमा उचाइ, मोटाइ केही कम थियो होला । अहिले केही वृद्धि भएको होला । अहिले मलाई अन्तरराष्ट्रिय स्तरमा दिइएका नाम सबै कृत्रिम हुन् । म हिजो जे थिएँ, अहिले पनि त्यही हुँ । तर यो सब कुरा ठूलो मान्छे खोज्दै हिँडेपछि मात्र थाहा भयो । मलाई अहिले प्राप्त भएको ज्ञान यो संसारमा आफूभन्दा ठूलो मान्छे कोही रहेनछ भन्ने हो । ठूला ठूला कम्पनीका ब्रान्ड एम्बासडर, अन्तरराष्ट्रिय बुद्धिजीवी, आविष्कारक जस्ता जे नाम दिए पनि मेरा लागि ती त्यति महत्त्वका छैनन् । बरु त्यस्ता नाम थपिँदै गएको देख्दा हाँसो लाग्छ । हिजो म जे थिएँ, अहिले त्यो नहुन सक्छु । परिचय फेरिँदै गएको मात्र हो । मैले यस अवधिमा विभिन्न संघसंस्थालाई सघाइरहेको पनि छु । शरीरमा श्वास रहँदासम्म विभिन्न काम र परिचय हुन्छ । प्रकृतिलाई माया गर्ने मान्छे असल हुन्छ । मैले पर्यटकको भरिया हुँदादेखि नै अवलम्बन गरेको कर्म र इमानदारी आजपर्यन्त कायम राखेको छु ।  सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ ।  नेपालमा राम्रो सिस्टमको विकास नहुँदा जनताले दु:ख पाइरहेका छन् ।  जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या हुँदैन । तपाईंले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडलिङ पनि गर्नुभयो । यो कसरी सम्भव भयो ? मैले स्वीस घडीको मात्र नभई सयौं विदेशी वस्तुको मोडलिङ गरेको छु । अर्बौं डलर पूँजी भएका कम्पनीले उत्पादन गर्ने वस्तुको मोडलिङ गरेको छु । ती कम्पनीले मलाई भयङ्कर ठूलो मान्छे भएको जस्तो बनाए । यो सब मेरो कामप्रतिको निष्ठाले सम्भव भएको हो । त्यसैले म सधैं निष्ठावान् भएर काम गर्न सबैलाई सल्लाह दिने गर्छु । काम नै सबथोक वा देवता जस्तो भयो भने नाम, दामका लागि कुनै समस्या हुँदैन । मैले शुरूमा काम नै देवता हो जस्तो गरेँ । देवताका लागि ढुंगा, पोखरी या अन्य वस्तुभन्दा पनि काम नै हो भन्ने बुझाइले यहाँसम्म पुर्‍यायो भन्ने मेरो बुझाइ छ । म कहिल्यै पनि पोखरी, हिमाल वा ढुंगा पूजा गर्नतिर लागिनँ । कामलाई महत्त्व दिएँ । कामप्रतिको मेरो इमानदारीले विदेशी कम्पनीले पत्याए । इमानदारीले नै मेरो काम सफल भएको हो । भरियाको काम गर्दागर्दै विदेश पुग्दाको अनुभव सुनाइदिनुहोस् न । मेरो विदेश यात्रा हङकङ, सिंगापुर, थाइल्यान्डबाट भएको हो । म १६–१७ वर्षको उमेरदेखि नै विदेश जान थालेको हुँ । विदेश जाँदा पनि पर्यटकको भारी बोक्ने काम गर्थें । तत्कालीन राजा महेन्द्रले मनाङमा बसोवास गर्ने नागरिकका लागि गरिखान झिटीगुन्टाको सुविधा दिएका थिए । किनकि त्यो बेला मनाङवासी एकदमै गरीब थिए । झिटीगुन्टाको सुविधा पाएकाले विदेशबाट सामान ल्याएपछि भन्सार लाग्दैनथ्यो । सोही सुविधा अनुसार विदेशबाट सामान आयात हुन थाल्यो । मैले पनि झिटीगुन्टाको सुविधा अनुसार राहदानी बनाएर पर्यटकको भरिया हुँदै हङकङ जाने मौका पाएँ । त्यसपछि सिंगापुर, थाइल्यान्ड र बंगलादेश पुगेँ । त्यही अवसरमा धेरै कुरा सिक्ने मौका मिल्यो । अनि धेरै विषयमा अनुसन्धान गर्न पाएँ । यद्यपि औपचारिक शिक्षा भने मैले ३ कक्षासम्म मात्र पढेको हुँ । त्यही अनुभव नै स्नातकोत्तर वा विद्यावारिधिभन्दा अब्बल ठहरियो, जसले गर्दा म वैदेशिक यात्राबाट प्रभावित भएँ । म झिटीगुन्टाको सुविधा अनुसार विदेश गएकाले मनाङेहरूले आयात गर्ने सामानको फारम भरिदिने, कुन जहाज कहाँ जाँदै छ भन्नेबारे जानकारी दिनेजस्ता काम गर्न थालेँ । नेपालमा ल्याउनुपर्ने सामान, भन्सारले लिने करको बारेमा मनाङेहरूलाई पनि जानकारी दिने काम गरेँ । हङकङको अनुभवले युरोेप जान पाएँ । युरोेप पुगेपछि रेल देखेँ । दिल्लीबाट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल हुँदै युरोप गएको हुँ । १९ वर्षको उमेरमा त्यहाँ पुगेँ । त्यहीँबाटै स्वीट्जरल्यान्ड गएँ ।  युरोेप पुगेपछि के गर्नुभयो ? मैले आफ्नो कामलाई निरन्तरता दिएँ । त्यहाँ पुगेपछि पैसा पनि कमाएकै हो । त्यही पैसाबाट नेपालमा बैंक स्थापना गर्न मद्दत पुग्यो । जनता बैंक स्थापना गर्ने संस्थापकमध्ये एक हुँ । तर बैंकमा पैसा लगानी भएपछि ‘फ्रिज’ हुँदो रहेछ । मलाई त्यसमा पनि दु:ख लागेन । किनकि त्यसबाट कैयौंले रोजगारी पाइरहेका थिए, छन् । मैले कमाएको पैसा विभिन्न व्यवसायमा लगाएको छु । अहिले पनि पैसा चाहियो भने विदेशबाट ल्याउन सक्छु भन्ने आँट छ । मैले इमानदारीलाई आत्मसात् गरिरहेकाले पैसाको समस्या नभएको हो र यसका लागि अरूले पत्याएका हुन् भन्ने लाग्छ । तपाईंले नेपालमा कृषि अभियान पनि चलाइरहनु भएको छ, किन ? कृषि मानिसलाई बचाउने मुख्य क्षेत्र हो । कृषि नहुने हो भने भोकमरी हुन्छ । त्यही भएर म यो अभियानमा लागेको हु । मेरो जोड रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा छ । आकाश र जमीनले दिएको चिजबाट मानिस जिउनुपर्छ । कृषि उत्पादन नगर्ने हो भने भोकमरी हुन्छ । रैथाने बालीको उत्पादन गर्‍यो भने दीर्घकालीन पनि हुन्छ । त्यसविपरीत एकजनाले रोपेपछि हजार, लाखले खान पाउने खेती प्रणालीले मानिसलाई दीर्घकालसम्म हित गर्दैन । यस्तो खेती छिटो, मीठोका लागि मात्र हो । यसबाट उत्पादित कृषिउपज अखाद्य हुन्छ, यस्तो विधिको खेतीले जमीन नष्ट गर्छ । त्यही भएर मैले रैथाने खेतीलाई जोड दिइरहेको छु । मानिसले यसो गर्‍यो भने लामो समयसम्म कृषि गर्न सकिन्छ, नत्र चाँडै माटो मर्छ । आधुनिक नाममा भइरहेको खेतीले अनेकौं समस्या निम्त्याइरहेको छ । जमीन मर्‍यो भने खेती हुँदैन । म जापान, इटाली, हल्याण्डलगायत देशमा पनि खेतीकार्यमा लागिरहेको छु । त्यहाँ पनि रैथाने कृषि पद्धतिलाई जोड दिइरहेको छु । कृषि कर्ममा लाग्नुको मेरो उद्देश्य सबैले खान पाउनुपर्छ भन्ने हो । अहिलेका मान्छेले मात्र नभई २–३ सय वर्षपछि जन्मने मानिसले पनि खान पाउने गरी कृषि उत्पादन हुनुपर्छ भन्ने मेरो सोच छ । मेरो टिममा कृषिका विज्ञहरू पनि छन् । अहिलेको समयमा मेरो सोच फरक जस्तो लागे पनि यतिखेर पृथ्वीका लागि वैज्ञानिक कामभन्दा प्राकृतिक संरक्षणका काम गर्न बढी आवश्यक छ । केही वर्ष अघिसम्म मलाई पनि नेपालमा किन विकास नभएको होला जस्तो लाग्थ्यो । तर अहिले युरोेप, अमेरिकाजस्तो विकास नेपालमा भएको भए प्रकृतिको संरक्षण हुन्थ्यो होलात ? भन्ने लाग्छ । संसारका विभिन्न देशमा भ्रमण तथा बसोवास गरेकाले तपाईं नेपाल सरकारलाई के काम गर्न सल्लाह, सुझाव दिनुहुन्छ ? सर्वप्रथम त नेपालको सरकार चलाउने शैलीमा धेरै सुधारको खाँचो छ भन्ने मेरो ठम्याइ छ । नेपालमा राम्रो सिस्टम बन्न नसकेकाले जनताले दु:ख पाइरहेका छन् । सिस्टम बन्न नसकेकै कारण ठूलो संख्याका युवायुवती विदेश गइरहेका छन् । ठूलो संख्याका युवायुवती विदेश पस्दा खेतीयोग्य जमीन बाँझो छ । पुरुष विदेश पस्दा महिला एक्लै बस्न बाध्य छन् । यसले जनसंख्यामा पनि कमी ल्याइरहेको छ । त्यसैले विदेश गएकालाई नेपाल फर्काउन आवश्यक देखिएको छ । युवा देशमा फर्किएपछि बाँझो जमीनमा कृषि उत्पादन शुरू हुन्छ । सरकारले राम्रो काम गरेर देखायो भने विदेश गएकाहरू फर्कन्छन् । तर सरकारका गतिविधि हेर्दा राम्रो काम गर्न चासो छैन । विगतदेखि नै बन्ने गरेका सरकार राम्रो ट्र्याकमा आउन सकेका छैनन् । सरकारले दीर्घकालसम्म काम लाग्ने काम गरेको पनि देखिँदैन । सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ । अहिले सरकारमा बस्नेहरूले ठूला ठूला कुरा गर्नुभन्दा पनि साना ठानिएका, तर ती महत्त्वपूर्ण काम परिपक्व तरीकाले गर्नुपर्छ । कृषि मात्र सुधारिने हो भने देशले निकै प्रगति गर्ने सम्भावना छ । तर यो देशमा चाहिनेभन्दा नचाहिने कुरा गर्नेको समूह सक्रिय छ । तपाईंको आगामी योजना के कस्ता छन् ? अहिले मेरो इच्छा तपस्या गर्नेतिर भएकाले तपस्या पनि गरिरहेको छु । स्वच्छ र शान्त वातावरणमा बस्न चाहन्छु । मान्छेले जन्मदेखि मृत्युसम्म थुप्रै काम गर्नुपर्ने भएकाले मेरो पनि मृत्युसम्म इच्छा लागेका विषयमा अध्ययन, अनुसन्धान गर्ने विचार छ । तर अहिले नै यसै विषयको अनुसन्धान भन्न चाहिँ सकिँदैन ।

कृषि उत्पादकत्व किन कम बढ्यो ?

कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग बढेको देखिएको छ । तर, यिनको प्रयोग बढेको अनुपातमा कृषि उत्पादकत्व भने बढ्न सकेको छैन । रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग उत्पादन बढाउन प्रमाणित भएकैले यिनको प्रयोग बढेको हो । सरकारले कृषि उत्पादकत्व बढाउन यिनको प्रयोगमा उच्च प्राथमिकता दिएको पनि छ तर पनि तिनको अनुपातमा उत्पादकत्व बढ्न नसक्नुको अर्थ यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने देखिन्छ ।  जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्व बढ्न सकेको छैन । त्यसमा पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास अझै हुन सकेको छैन । खासमा कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन हरित क्रान्तिको अभियान नै चलाइएको छ जसमा आधुनिक प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । चीनपछि धानको प्रमुख उत्पादक भारतको उत्पादकत्व ३ दशमलव १ मेटन रहेको छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि गतवर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ ।  कृषि पेशाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्न आवश्यक छ । नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिसहरू कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन । यद्यपि तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले माटो खन्नेदेखि बाली भित्त्याउनेसम्मका काममा यन्त्रको प्रयोग बढेको देखाएको छ ।  रासायनिक मल र विषादीको प्रयोग पनि बढेको छ । रासायनिक मलले माटोमा अम्लीयपना बढाएको किसानको गुनासो रहेको छ भने आलीको विषादी थालीसम्म पुगेर मानव स्वास्थ्यमा गम्भीर असर पारेकामा चिन्ता बढ्दो छ । रासायनिक मल होस् वा विषादी, यिनको प्रयोग कति मात्रामा र कस्तो अवस्थामा गर्ने हो भन्ने जानकारी किसानलाई हुनुपर्छ । त्योभन्दा पनि बढी उपभोक्ता यसमा सचेत हुनुपर्छ । उपभोक्ताले विषादी हालिएको कृषि उपज चिनेर प्रयोग नगर्ने हो भने यसको खपत घट्न थाल्छ । कृषि उत्पादकत्व बढाउन रासायनिक मल र विषादीको योगदान रहेको छ । त्यसैले यिनको प्रयोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन । तर, विषादीबाट जोगिने तरीकाहरू किसान र उपभोक्ताहरूले पनि जान्नु आवश्यक छ ।  बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनै पर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । जसले गर्दा कृषिमा लगानी वृद्धि हुँदै गएर समग्र अर्थतन्त्रमा सुधार आउँछ ।

कृषि उद्योगलाई राज्यको विशेष संरक्षण आवश्यक

काठमाडौं । मुलुकका कृषि उद्योगलाई फरक तरीकाले हेर्नुपर्ने माग यस क्षेत्रमा संलग्न उद्योगी व्यवसायीले गरेका छन् । नेपाल चामल तेल दाल उद्योग संघमा आबद्ध व्यवसायीले देशको अधिकांश भूभाग कृषियोग्य भएको र धेरै जनसंख्या कृषि कर्ममा आबद्ध रहेकाले राज्यले कृषि उद्योगलाई फरक तरीकाले हेर्नुपर्ने बताएका हुन् । अहिले कृषि उद्योग र अन्य उद्योगलाई राज्यले हेर्ने दृष्टिकोणमा खासै फरक नरहेको व्यवसायीको गुनासो छ । राज्यले बेला मौकामा कृषि उद्योगलाई प्राथमिकतामा राखेको बताउने गरे पनि यथार्थमा त्यस्तो नभएको उनीहरूले बताएका छन् । राज्यले आफ्नो बोलीलाई व्यवहारमा लागू गर्दै कृषिक्षेत्रलाई प्राथमिकता दिएमा किसान, कृषिमा आधारित उद्योग र राज्य सबैलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ । ‘कृषि उद्योगलाई दिने सुविधाले उद्योगलाई मात्र होइन, किसानलाई पनि फाइदा पुर्‍याउँछ,’ नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने, ‘यो उद्योग किसानको बजार पनि हो, जहाँ उहाँहरूले आफ्ना उत्पादन बेच्न पाउनुहुन्छ । यो बजार मजबूत हुँदा किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउँछन् ।’ कृषि उद्योग अहिले अप्ठ्यारो स्थितिमा रहेको जानकारहरू बताउँछन् । कृषिमा आधारित लगायत अन्य उद्योग स्थापनाका लागि पनि सहज र सहुलियतपूर्ण रूपमा जग्गा उपलब्ध हुँदैन । जग्गा प्राप्तिमा कठिनाइका साथै उद्योग स्थापनाको लागि अन्य विभिन्न झन्झटिला प्रक्रिया पूरा गर्न धेरै समय खर्चनुपर्ने अवस्था छ । उच्च ब्याजदरको मार पनि अहिले उद्योगहरूलाई परिरहेको छ । नेपाल राष्ट्र बैंकका विभिन्न खाले नीतिनियमले यस्तो स्थिति सृजना भएको उद्यमी बताउँछन् । २/३ वर्ष अगाडि धेरै कम ब्याजदर रहेकोमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्दा चर्को ब्याजदरको सामना गर्नुपरेको उनीहरूको गुनासो छ । सरकारले ब्याजदर कम गर्ने भने पनि अवस्था सहज नरहेको व्यवसायीको भनाइ छ । निजीक्षेत्रले आगामी मौद्रिक नीतिमार्फत ब्याजदरमा धेरै ठूलो राहतको अपेक्षा राखेको छ । तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति थप लचिलो बनाउनेमा उनीहरू ढुक्क छैनन् । उद्योगी व्यवसायीले कर्जाको ब्याजदर एकल अंकको हुनुपर्ने माग गर्दै आएका छन् । देशको धेरै ठूलो जनशक्तिलाई प्रत्यक्ष र परोक्ष फाइदा पुर्‍याउने उद्योगलाई राज्यले अन्यभन्दा फरक दृष्टिकोणले हेरिदेओस् भन्ने आफूहरूको चाहना भए पनि उद्योग स्थापना एवं सञ्चालनका लागि बैंकबाट ऋण पाउन समेत गाह्रो रहेको संघमा आबद्ध व्यवसायी बताउँछन् । बैंकहरूबाट ऋण लिन धेरै अप्ठ्यारा प्रक्रिया पार गर्नुपर्ने उनीहरूको भनाइ छ । ‘प्रत्येक बैंकले निश्चित प्रतिशत लगानी उद्योगमा गर्नुपर्छ । यसबारे नेपाल राष्ट्र बैंकले सीमा नै तोकिदिएको छ, त्यो सुविधा अन्य उद्योगले पनि पाउँछन् । खाद्यान्न उद्योगले पनि त्यही सुविधा पाउने हो । त्योभन्दा बढी सुविधा केही पनि छैन,’ व्यवसायी प्रमोदकुमार शाहले भने । धितो राख्नेदेखि अन्य सबै खालका प्रक्रियामा अन्य उद्योगले जस्तै कृषि उद्योगले पनि झन्झटिलो व्यवस्थाको सामना गरिरहेको व्यवसायी बताउँछन् । राज्यले ऋण लिने प्रक्रिया सहज बनाए उद्योगको विकासमा धेरै टेवा पुग्ने विज्ञहरू बताउँछन् । यसको फाइदा एउटा उद्योगी व्यवसायीले मात्रै पाउने नभई किसानलाई पनि हुने उनीहरूको दाबी छ ।  सरकारले बिजुली दिने समय एवं बिजुलीको महशुल दरमा पनि कृषि उद्योगलाई फरक खालको व्यवहार गर्नुपर्ने उद्योगी व्यवसायी बताउँछन् । अहिले बिजुलीको मार पनि विभिन्न समयमा परिरहने गरेको र बिजुली महशुलमा कुनै खालको सहुलियत नरहेको उनीहरूको भनाइ छ । किसानका उत्पादन संकलन र विभिन्न खालका खाद्यान्न उत्पादन गर्ने उद्योगलाई औद्योगिक सामग्री आयातमा भन्सार दर फरक हुनुपर्ने उद्योगीहरूको माग छ । राज्यले कृषि उद्योगलाई अन्य उद्योगभन्दा फरक रूपमा बुभ्mनुपर्नेमा उनीहरूले जोड दिएका छन् । श्रमिकको समस्या अहिले नेपालका उद्योगले विभिन्न पक्षमा भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ । तर भारत र नेपालमा उद्योगका लागि चाहिने कामदार प्राप्तिको स्थितिमा धेरै फरक छ । भारतमा सहज तरीकाले कामदार पाइने, तर नेपालमा कामदार पाउनै मुश्किल पर्ने र पाए पनि लागत बढी पर्ने उद्योगी व्यवसायी बताउँछन् । ‘भारतमा औद्योगिक श्रमिकको उपलब्धता बढी छ, सोहीअनुसार श्रमिकमा गरिने लगानी पनि कम हुन्छ, जुन नेपालमा धेरै फरक छ । तुलनात्मक रूपमा सहज श्रमिक आपूर्तिका कारण भारतीय उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढी छ,’ अध्यक्ष गुप्ताले भने । नेपालमा विदेश जाने प्रचलन बढेर पनि कामदार पाउन कठिन भएको उनको बुझाइ छ । नेपाल र भारतीय कामदारको ज्याला पनि फरक रहेको जानकारहरू बताउँछन् । श्रमिकको ज्याला यहाँ बढी हुने र भारतमा सस्तो हुने उद्योगीहरूको भनाइ छ । यस्तै कामदारमा शीप तथा दक्षता अभावको समस्या पनि नेपालका कृषि उद्योगहरूले भोगिरहेका छन् ।  उद्योगीहरूका अनुसार दक्ष र शीपयुक्त कामदारका लागि भारतीयमै भर पर्नुपर्ने बाध्यता छ । खाद्य व्यवसायी वृजेशकुमार अग्रवालले भने, ‘दक्ष कामदार र मिस्त्री भारतबाटै ल्याउनुपर्छ । दाल, चामल, तेल त धैरै पुरानो उद्योग हो । यसका लागि कामदारलाई दक्ष बनाउने दायित्व राज्यको पनि हो । तर सरकारले अहिलेसम्म दक्ष श्रमिक उत्पादन गर्न सकेको छैन ।’   भारतीय कामदारले स्वदेशमा काम पाउनेबित्तिकै नेपाल छाडेर जाने गरेको उद्योगी व्यवसायी बताउँछन् । यसले उद्योगको उत्पादन चक्रमै असर पर्ने गरेको उनीहरूको भनाइ छ । यस्तो अवस्थामा नेपालकै दक्ष कामदार भए धेरै सहज हुने व्यवसायी बताउँछन् । उद्योगमा स्थानीय स्तरमै कामदार उपलब्ध भए बाह्य कामदारका लागि बाहिरिने रकम यहीँ रोकिन्छ । यसले समग्रमा अर्थतन्त्रमै टेवा पुग्ने सरोकारवाला बताउँछन् । उनीहरूका अनुसार राज्यले श्रमिकलाई दक्ष बनाउन ध्यान दिए स्वदेशी उद्योगले बाहिरबाट कामदार मगाउनुपर्ने बाध्यता हुँदैन । साथै रोजगारीका लागि बाहिरिने नेपालीले स्वदेशकै उद्योगमा गर्वका साथ काम गर्न पाउँछन् । स्वदेशमै रोजगारीका अवसर सृजना अर्थतन्त्रका लागि सहयोगी हुने उनीहरूको धारणा छ । यसका लागि सरकारले जनशक्तिलाई दक्ष बनाउने गरी पाठ्यक्रम स्तरबाटै सुधार गर्नुपर्छ । ‘त्यसरी दक्ष भएको जनशक्तिले नेपालमै काम गरे उद्योग र कामदार स्वयंलाई ठूलो फाइदा पुग्छ । दक्ष र शीपयुक्त श्रमिक रोजगारीका लागि विदेश गए त्यहाँ पनि तुलनात्मक रूपमा राम्रो तलब सुविधा पाउने सम्भावना बढी हुन्छ । त्यस्तो देखिएको पनि छ, तर विडम्बना हामीकहाँ दक्ष कामदारकै अभाव छ, यसतर्फ नीतिनिर्माता र राज्यले समेत ध्यान दिएको छैन,’ अध्यक्ष गुप्ताले भने । कृषिमा क्रान्तिको खाँचो  नेपालमा कृषि क्रान्ति आवश्यक भइसकेको व्यवसायी बताउँछन् । कृषि क्रान्तिपछि मात्र औद्योगिक क्रान्ति सम्भव हुने उनीहरूको भनाइ छ । ‘जबसम्म हाम्रो देशमा कृषिको आधुनिक विकास र किसानको मनोबल उच्च गर्न सकिँदैन, तबसम्म आर्थिक क्रान्ति वा औद्योगिक क्रान्ति आउन सक्ने सम्भावना छैन । औद्योगिक क्रान्तिका लागि कृषि क्रान्ति अपरिहार्य छ,’ अध्यक्ष गुप्ताले भने । यसका लागि कृषकलाई आधुनिक प्रविधि उपलब्ध गराउने, प्रविधि सञ्चालनको ज्ञान दिने, समयमा बिउबिजन, मलखाद उपलब्ध गराउने, कृषियोग्य जमीनमा सिँचाइको व्यवस्था गर्ने लगायत आधारभूत आवश्यकता राज्यले पूरा गरिदिनुपर्ने उद्योगी व्यवसायी बताउँछन् ।  नेपालमा परम्परागत रूपले खेती भइरहेको छ, जहाँ धेरै श्रम, समय र लगानी खर्चिंदा पनि अपेक्षित प्रतिफल पाउन सकिँदैन । यो अवस्था दल्न आवश्यक आधुनिक प्रविधि कतिपय ठाउँमा पुगेकै छैन । पुगेको ठाउँमा पनि किसानलाई पर्याप्त ज्ञान नहुँदा र महँगो भएकाले त्यसको प्रयोग गर्न नसकिएको हो । ‘हामीले आफ्नो देशको कृषिलाई प्रोत्साहन गर्नुपर्दछ । राज्यबाट दिने अनुदान बढाएर स्वदेशी उद्योगलाई चाहिने कच्चा पदार्थको उत्पादन यहीँ गर्न सकिन्छ । व्यापार घाटा कम गर्न र रोजगारीको सृजना गर्न सकिने यस्तो काम गर्नबाट सरकारलाई केले रोकेको छ,’ व्यवसायी धनञ्जयकुमार सिहंले भने । नेपालको अहिलेको व्यापार घाटा कम गर्न कृषिजन्य उत्पादनमा निर्यात अनुदान दिइनुपर्ने चामल तेल दाल उद्योग संघमा आबद्ध व्यवसायी बताउँछन् । सरकारले विगतमा यस्ता केही वस्तुमा दिँदै आएको अनुदान  अहिले बन्द गरेको र निर्यात कर समेत लगाएकाले निर्यातमा चुनौती सृजना भएको संघका अध्यक्ष गुप्ताले बताए ।

किसानका खेतबारीमा विद्यार्थी : पढ्दै, सिक्दै, कमाउँदै

गलेश्वर- शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय ।          म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबार...

७१ जना किसानले बुझे अनुदानमा हाते ट्र्याक्टर

पाल्पा – रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जनाले हाते ट्र्याक्टर अनुदानमा बुझेका छन् । खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताइन् । आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने […]

धरान कृषि बजारमा प्रदेशकै ठूलो शीतगृह निर्माण

धरान । धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि उपज बजार स्थलमा प्रदेश १ कै ठूलो शीतगृहको निर्माण सम्पन्न भएको छ । २ वर्षअघि ७५ टन क्षमताको शीतगृह बनाइएको बजारमा पुनः ९० टन क्षमताको अर्को शीत गृह निर्माण भएको हो । नवनिर्मित शीतगृह यसै साता सञ्चालनमा ल्याउने तयारी भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । यससँगै धरानमा अब १६५ टन क्षमताको शीतगृहको सुविधा रहनेछ । गत आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम अन्तर्गत प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दोस्रो शीतगृहका लागि ५० लाख (७५ प्रतिशत) रकम विनियोजन गरिदिएको थियो । कृषि बजार व्यवस्थापन समितिको १७ लाख गरी कुल ६७ लाख रुपैयाँमा शीतगृहको निर्माण सम्पन्न भएको हो । तीनओटा चेम्बर रहेको शीतगृहमा प्रत्येक चेम्बरको क्षमता ३० टनको रहेको छ । ठूलो भण्डारण क्षमता रहेको शीतगृहमा किसानले अब तरकारी, फलफूल लगायत उत्पादन राखेर बजार मूल्य र आवश्यकताका आधारमा विक्री वितरण गर्न सक्नेछन् । कृषि उपज बजार स्थलले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि प्रदेश सरकारकै सहयोगमा ७५ टन क्षमताको शीतगृह बनाई सेवा दिइरहेको छ । शीतगृहमा स्थानीय उत्पादन (किवी, नास्पाती, सुन्तला, बीउ प्रयोजनको आलु) लगायत कृषि उपजलाई प्राथमिकतामा राखेर भण्डारण सुविधा दिइने बताइएको छ । यसअघि निर्मित शीतगृहमा हाल ६० टनभन्दा माथि फलफूल भण्डारण गरिएको छ । आगामी दिनमा फलफूल पकाउन मिल्ने आधुनिक चेम्बर बनाई विषादीमुक्त फलफूल विक्रीवितरणको योजना अघि बढाइने कृषि उपज बजार स्थल धरानले बताएको छ ।

हेटौँडामा कृषि तरकारी थोक बजारको शिलान्यास

असार १८, हेटौँडा । मकवानपुरको हेटौँडामा अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजार निर्माणको शिलान्यास गरिएको छ । वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा उपमहानगरपालिकाको वडा नं ११ स्थित थानाभरयाङ्गमा दुई बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण गरिने अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार शिलान्यास गरेका हुन् ।  मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रको उत्पादन क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, ग्रेडिङ, प्रशोधन गरी प्याकिङसहित शीतभण्डारको व्यवस्थालाइ व्यवस्थित गर्न सरकारले यस्तो योजना निर्माण थालनी गरेको बताए ।  मन्त्रालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा परम्परागत कृषि प्रणालीलाइ रुपान्तरण गरी आधुनिक र व्यावसायिक बनाउन थोक बजारको निर्माण गर्न लागेको जानकारी दिइएको छ ।  यसले बजारीकरण गर्न व्यवस्थित एवम सुविधा सम्पन्न कृषि थोक बजार निर्माण गरी देशको कृषि तथा तरकारी खेतीलाई समय सापेक्ष विकास गर्न योगदान पुग्ने विश्वास लिइएको छ । सो योजनाको लागत २८ करोड ३६ लाख ५६ हजार रहेको छ । साथै २०८१ जेष्ठसम्म निर्माण सक्ने लक्ष्य छ । रासस

मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्डसहित कृषि कर्जा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानलाई […]

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ ।

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

मेगा बैंक नेपालडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । बैंकले कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान […]