नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहो-यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्। पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।