एप्पललाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

कात्तिक १३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।  एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो । बजार पूँजीकरण १० खर्ब डलर र २० खर्ब डलर नाघ्ने एप्पल पहिलो कम्पनी थियो ।  गतवर्ष बजार पूँजीकरणमा साउदी अराम्कोलाई उछिनेर यो विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनी पनि बनेको छ । माइक्रेसफ्टले यसअघि बजार पूँजीकरणम ाएप्पललाई सन् २०२० मा उछिनेको थियो । यसको बजार पूँजीकरण २० खर्ब ८० माथि भने गएको जुनमा आएको थियो ।  यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ । सोही अवधिमा एप्पलको शेयर मूल्यमा करीब १३ प्रतिशतको वृद्धि भएको छ । एजेन्सी

सम्बन्धित सामग्री

गूगलभन्दा लोकप्रिय अनलाइन साइट बन्यो टिकटक

पुस ९, लन्डन । अमेरिकी सर्च इञ्जिन गूगललाई उछिनेर पहिलो स्थानमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक आएको छ ।  सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक बनेको बताएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकको गूगलको भन्दा बढी अनलाइनमा खोजी हुने गरेको छ । अर्थात् प्रयोगकर्ताहरू गुगलमाभन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको पनि उसले बताएको छ । इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा  टिकटकले गूगललाई शीर्ष स्थानबाट पछि पारेको र  त्यसपछि अगस्ट महीनायता टिकटक नै नम्बर एक स्थानमा कायमै रहेको छ । गत वर्ष गूगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम १० स्थानमा थिए।सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।  क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ। उसले टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान पनि गरेको छ। उसको विश्लेषण अनुसार कोरोना महामारीको समयमा घरैमा बस्नुपर्ने बाध्यतामा रहेका कारण प्रयोगकर्ताहरुको ध्यान मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा परेको हुनसक्छ। यो वर्षको जुलाई महीनासम्ममा टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले बताएको छ। टिकटकको हाल विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको अनुमान छ । बीबीसी