धरानमा शेयरबजारप्रति आकर्षण बढ्दो

धरान । प्रविधिको प्रयोगबाटै शेयर कारोबार गर्न पाइने भएपछि पूँजीबजारमा धरानवासीको आकर्षण बढ्दै गएको छ । घरमै बसेर अनलाइनमार्फत आईपीओ खरीदका साथै दोस्रो बजारमा कारोबार गर्न पाइने भएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो । पछिल्लोे ५ वर्षयता धरानमा शेयरमा लगानीकर्ता करीब पाँच गुणा बढेको अनुमान शेयरबजार लगानीकर्ता एवं प्रशिक्षक भक्तबहादुर रसाइलीको छ । उनले धरानमा शेयर बजारको विषयमा विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनका अनुसार धरानमा २०÷२५ वर्षअघि देखि नै शेयर लगानीकर्ता थिए । कुल कारोबारमा धरानले ५ प्रतिशत ओगट्ने उनको भनाइ छ । ‘पछिल्लो सयम अनलाइनमार्फत सूचना र जानकारीको पहुँच बढ्दै गएकाले पनि पूँजीबजारमा साना लगानीकर्ताको आकर्षण बढेको हो,’ उनले भने, ‘कक्षा ११÷१२ का विद्यार्थीको आकर्षण प्राथमिक बजारमा देखिन्छ, दोस्रो बजारमा विभिन्न कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी आकर्षित छन् ।’ यस्तै ‘फुल टाइमर’ लगानीकर्ता पनि बढ्दै गएको उनी बताउँछन् । देशमा उद्योगधन्दा÷कलकारखाना बन्द भएको समयमा नागरिक बेरोजगार हुन थालेपछि शेयर बजारमा लाग्ने क्रम बढेको लगानीकर्ता उद्धव श्रेष्ठ बताउँछन् । ‘साना साना पूँजी भएका लगानीकर्ता शेयर बजारमा आएका छन्,’ उनले भने । पूँजीबजारप्रति धरानका लगानीकर्ताको आकर्षण बढ्दै गएपछि हालै नासा इन्भेस्टमेन्ट प्रालि, विराटनगरले धरानमा शेयर बजार सचेतना कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले धरान लगानीकर्ताको शहर भएकाले कुनै पनि संस्थाले इमानदारीपूर्वक लगानी गर्ने वातावरण मिलाउनुपर्ने बताए । धरानमा विभिन्न समयमा भएका घटनाले लगानीकर्ताको पूँजी डुबेको स्मरण गराउँदै उनले सबै लगानीकर्ता सचेत रहनुपर्नेमा जोड दिए । कार्यक्रमका आयोजक संस्था नासा इन्भेस्टमेन्टका अध्यक्ष अरविन्द मेहताले शहरभन्दा गाउँ केन्द्रित कार्यक्रम आयोजना गर्दै तल्लो तहदेखि नै लगानीकर्तालाई जागरुक बनाउनुपर्ने बताए ।  

सम्बन्धित सामग्री

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

धरान (सुनसरी) । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै ओटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइ रहेका छन् । धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुन, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किनु भएको विश्वकर्माले आफ्नै पुख्यौली पेशालाई व्यावसायिक रुप दिने योजना बनाए । त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोल्नु भयो । शुरूमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नु भएको विश्वकर्मा आफैँ खुकुरी बनाउँछन् । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउँछन् । उनका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उनी भन्छन्, “यहाँ उत्पादन भएका खुकुरीहरु भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।” धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्छन्। दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनीहरूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् । घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दै आएका दीपक दर्नाल त्यसको एक उदाहरण हुन । उनले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहेका छन्। कोरोना महामारी भन्दा अगाडि त उनीको उद्योगमा ६० जना कालीगढ थिए । उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तराष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउँछन् । खुकुरी उद्योगबाट हाल मासिक रु ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।’’ उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ । सञ्चालकहरुले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० ओटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय ओटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् । खुकुरीसँग खुकुरीको दाप बनाउनेहरुले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ ओटा परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउँछन् । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सय रुपैयाँदेखि बढीमा १५ हजार रुपैयाँसम्म पर्छ । खुकुरी उद्योग संघ धरानका अध्यक्ष समेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउँछन् । ‘‘अहिले अन्तरराष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भएपनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ’’, उनी भन्छन्, ‘‘नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरुको हौसला बढ्ने थियो । उनीहरुले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यही आग्रह छ ।’’ बजार खस्किएकोमा चिन्ता कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरुका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ । एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउँछन् । उनका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रतिकेजी पर्छ । उनी भन्छन्, ‘‘महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।’’ अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नु पर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरुको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ । उनी भन्छन्, ‘‘सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरु फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउने मात्र होइन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।’’ संस्कृति र इतिहासमा खुकुरी खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रुपमा खुकुरीको पूजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ । नेपालीलाई विश्वमा गोर्खालीका रुपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातिका रुपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरुले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए । अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरुले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अंकित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिन्ह प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ । खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुर्ख्यौलीली पेशाका रुपमा चिनिन्छ । दलित समुदायका पुर्ख्यौली पेशाहरु संकटमा पर्दै गएको बेला खुकुरी बनाउने पेशामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरुमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन् । खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ । विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगतरुपमा काम गर्नुपर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाइ छ । उनी भन्छन्, “स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुर्ख्यौली पेशा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाईदा पुग्थ्यो ।” रासस

दलदलको रसातलबीच स्वतन्त्र संकथन

बालेनले काठमाडौँ र हर्क साम्पाङले धरानमा मेयर जितेसँगै स्वतन्त्रप्रतिको आकर्षण निकै बढेको छ । बडे–बडेका पार्टी बनाउँछु भन्दै राजनीति सुरु गरेकाहरू पार्टी विघटन गरेर वा सम्बन्ध टुटाएर स्वतन्त्र बनेको घोषणा गरिरहेका छन् । आफ्नो छुट्टै पेसा व्यवसाय गरिरहेकाहरू या राजनीतिकै फेर समातेर आफ्नो पेसा व्यवसायमा फस्टाएका स्वतन्त्र उम्मे...

साँच्चैको स्वतन्त्र, दलको `स्वतन्त्र´, चुनावका लागि दल छोडेर स्वतन्त्र !

बालेनले काठमाडौँ र हर्क साम्पाङले धरानमा मेयर जितेसँगै स्वतन्त्रप्रतिको आकर्षण निकै बढेको छ । बडे–बडेका पार्टी बनाउँछु भन्दै राजनीति सुरु गरेकाहरू पार्टी विघटन गरेर वा सम्बन्ध टुटाएर स्वतन्त्र बनेको घोषणा गरिरहेका छन् । आफ्नो छुट्टै पेसा व्यवसाय गरिरहेकाहरू या राजनीतिकै फेर समातेर आफ्नो पेसा व्यवसायमा फस्टाएका स्वतन्त्र उम्मे...

सीमाक्षेत्र लक्षित पर्यटन प्रवर्द्धनका लागि ‘टुरिजम ट्राभल मार्ट’ शुरू

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले मुलुकभरका सातओटै प्रदेशमा चरणबद्ध रूपमा ‘टुरिजम ट्राभल मार्ट’ कार्यक्रम शुरू गरेको छ । पहिलो चरणमा बोर्डले फागुन २६ देखि २८ गतेसम्म नेपालगञ्जमा सीमाक्षेत्र लक्षित ‘वेस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिसकेको छ । दोस्रो चरणमा चैत ११ देखि १३ गतेसम्म धरानमा ‘इस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ‘टुरिजम ट्राभल मार्ट’ अवधारणा अघि सारेर कार्यान्वयन गरिएको बताएका छन् । विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तरराष्ट्रिय स्रोत–बजारका टुर–अपरेटरहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।   बोर्डले चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम अनुसार यी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवर्द्धन गर्न बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा फागुनमा नेपालगञ्जमा यस्तो मार्ट गरिएको छ । यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ मा सो कार्यक्रम गरिने उनले जानकारी दिए । यस्तै धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमो चैत २५, २६ र २७ गते ‘फारवेष्ट टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने उनले बताए । ‘इस्टर्न टुरिजम मार्ट’का संयोजक भवेशकुमार श्रेष्ठले प्रदेश १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्य कार्यक्रमको रहेको बताए । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आएको र यसपटक तेस्रो संस्करण भएको जानकारी उनले दिए । सो अवसरमा धनगढीमा आयोजना हुने मार्टमा ‘सुन्दर सुदूरपश्चिम–शुक्लादेखि अपी/साइपल’ ब्रान्डिङ गरी सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । बोर्डका अनुसार मार्टहरूमा सीमावर्ती भारतीय शहरका टुर अपरेटरहरूलाई खरीदकर्ताको रूपमा सहभागी गराइनेछ । साथै नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरूबीच यी क्षेत्रका टुर प्याकेजहरू विक्री प्रवर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ । यी मार्टमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलका साथ प्याकेजहरूको प्रवर्द्धन गर्न सक्ने ऐरले बताए । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रूपमा रहनेछन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान समेत हुने बोेर्डले बताएको छ ।

धरानमा शेयरबजारप्रतिको आकर्षण बढ्दो

असोज २३, धरान । प्रविधिको प्रयोग मार्फत शेयर कारोबार गर्न पाइने भएपछि पूँजी बजारमा आकर्षण बढ्दै गएको छ । घरमै बसिबसि विभिन्न कम्पनीको आईपीओ खरीद गर्न पाइने, दोस्रो बजारको पनि कारोबार गर्न पाइने भए पछि साना - साना लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । पूँजीबजारप्रति धरानका लगानीकर्ताहरुको आकर्षण बढ्दै गएपछि सचेतना कार्यक्रमहरु पनि हुने क्रम बढ्दो छ । यसबीच नासा इन्भेष्मेन्ट प्रालि विराटनगरले धरानमा शेयर बजार सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा करीब १०० जनाको उपस्थितीले पनि शेयरबजारप्रतिको आकर्षण बढ्दै गएको पुष्टि गरेको छ ।  पछिल्लोे ५ वर्ष यता धरानमा शेयरमा लगानीकर्ता करीब पाँच गुणा बढेको अनुमान शेयर बजारका सचेतक भक्त बहादुर रसाइली गर्छन् । उनी आफैले पनि धरानमा शेयर बजारको विषयमा विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । उनका अनुसार धरानमा २०/ २५ वर्ष अघि देखिनै शेयर बजारका लगानीकर्ताहरु थिए ।  देशकै कारोबारमध्ये ५ प्रतिशत कारोबार धरानले ओगट्ने उनको भनाइ छ । धरान स्टक मार्केटका लागि उपयुक्त नगर रहेको उनको दाबी छ ।  ५ वर्ष अघिको तुलनामा अहिले पाँच गुणा बढी शेयर बजारमा लगानीकर्ताहरु बढेको उनको भनाइ छ ।  उनले भने, ‘पछिल्लो सयम अनलाईन मार्फत सुचनाको पहुँच बढ्दै गएकाले साना साना लगानीकर्ताको आकर्षण बढेको हो, कक्षा ११/१२ का विद्यार्थीहरुको आकर्षण प्राथमिक बजारमा देखिन्छ, दोस्रो बजारमा विभिन्न कार्यालयहरुका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु छन्, फुल टाइमर लगानीकर्ताहरु पनि बढ्दै गएको उनी बताउँछन् ।  देशमा उद्योगधन्दा कलकारखानाहरु बन्द भएको समय नागरिकहरु बेरोजगार हुन थाले पछि शेयर बजारले अग्रगति लिएको लगानीकर्ता उद्धव श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘साना - साना पूँजी भएका लगानीकर्ताहरु ठूलो ठूलो उद्योगधन्दा चलाउन नसक्ने हुँदा शेयर बजारतर्फ आकर्षित भएका छन्, देशकै अर्थतन्त्रमा पूँजीबजार प्रभावकारी बन्दै गएको छ ।’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान लगानीकर्ताको शहर भएकाले कुनै पनि संस्थाले इमान्दारिता पुर्वक लगानी गर्ने वातावरण मिलाउनुपर्ने बताए । धरानमा विभिन्न समयमा भएका घटनाहरुले लगानीकर्ताको पूँजी डुबेको स्मरण गराउँदै लगानीकर्ता पनि सचेत रहनु पर्ने बताए । कार्यक्रमका आयोजक संस्था नासा इन्भेष्मेन्टका अध्यक्ष अरविन्द मेहताले शहरभन्दा पनि गाउँ केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै तल्लो तहदेखि नै लगानीकर्ताहरुलाई जागरुक बनाउनुपर्ने बताए । उनले भने, ‘गाउँमा रहेका साना पूँजीहरुलाई एकत्रित गर्न शेयर बजार सम्बन्धी सचेतना फैलाउन आवश्यक छ ।’  उनका अनुसार नासाले धरानसहित ७ ओटा नगरमा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ । बिहीवार सम्पन्न भएको शेयर बजार सचेतना कार्यक्रमका मुख्य प्रशिक्षक सुरज प्याकुरेल, प्रशिक्षक भक्त बहादुर रसाइली रहेका थिए ।

गुजुल्टिएका तारका कारण कुरुप बन्दै धरान

असोज २०, धरान । गुजुल्टिएका तारका कारण करीब डेढ लाख मानिस बसोबास गर्ने धरानको सौन्दर्य नै पछिल्लो समय गुम्दै गइइरहेको छ । त्यतिमात्र होइन यी तारबाट मानवीय तथा भौतिक क्षति पनि हुने गरेको छ ।  विद्युतका पोलहरूमा गुजुल्टा परेका तार देख्दा रिगंटा नै लाग्छ । जता हेर्‍यो उतै माकुराले जालो लगाएजस्तै तारको जालो देखिन्छ । पोलमा मात्र हैन भुइँमा पनि त्यति नै मात्रामा छरपष्ट छन् तार । धरानमा दैनिक सयौंको संख्यामा पर्यटकहरु घुम्न आउने गरेका छन् । बजारकै बाटो हुँदै पहाडी जिल्लाका पर्यटकीय गन्त्वय जाने मुख्य प्रवेशद्वार पनि हो धरान ।  मुख्य बजार हुँदै जाने पर्यटकहरुले धरानको सौन्दर्य नियाल्न पाउँदैनन् । उनीहरुले बजार क्षेत्रमा रहेको असरल्ल तारहरुको जालोले छोपिएको विजुलीका पोल हेर्दै जान्छन् ।  धरान घुम्न आउने पर्यटकहरु धरानको मुख्य बजार क्षेत्रमा रहेको बसपार्कमा उत्रने गर्दछन् । उनीहरुको पहिलो नजर पर्ने मुख्य बजारलाई भने विजुली, टेलिफोन, केवलका अव्यवस्थीत तारको जालोले सौन्दर्यता नै बिगारिदिएको छ ।  बजारको सौन्दर्यताका लागि भानुचौकदेखि छाताचौंक सम्म गमलामा फुलहरु रोपिएका छन् । त्यही फुलेका फुलहरुलाई पनि तारको जालोले छोपिदिने गरेको छ । विद्युत, टिभी, इन्टरनेट र टेलिकमका तारको सञ्जाल बजारको मुख्य सडकमा मात्र नभई भित्रीगल्लीका हरेक छेउमा पनि साहै्र अव्यवस्थित छन् । पटक–पटक तारकै कारण आगलागीका घटना पनि हुने गरेका छन् । तर विद्युतका पोलमा टाँगिएका तारको सञ्जाल व्यवस्थित गर्न न त स्थानीय सरकार अग्रसर भएको छ, न त तार टाँगिएका पोल गाड्ने विद्युत् प्राधिकरण नै व्यवस्थित गर्न अग्रसर छ । पर्यटकीय क्षेत्र बनाउने अभियानमा लागेको धरान उपमहानगरपालिकाको मुख्य बजार बिजुली, केवलका तारहरुको जालोले कुरुप देखिन थालेको स्थानीय राजन राई बताउँछन् । धरानलाई सुन्दर बनाउन जनप्रतिनिधीहरुले चासो देखाउनुपर्ने उनको भनाइ छ ।  उनले भने, ‘धरानलाई सुन्दर बनाउन फूलबारीको शहर बनाउने अभियान थालिएको छ, तर पहिले अव्यवस्थीत तारको जालोलाई व्यवस्थीत गर्नुपर्छ ।’ धरान उपमहानगरपालिकाले वर्षेनी पर्यटन प्रवर्द्धनका लागि ठूलो बजेट विनियोजन गर्ने गरेको छ । धरान उपमहानगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आयमा बिजुलीको पोलको कर उठाउँदैछ । बिजुली, टेलिफोन, केवलवाला हरुसँग पनि कर उठाएको छ । त्यही पोलमा झाँगिएको तारको जालोलाई व्यवस्थीत गर्न सकेको छैन ।  अव्यवस्थीत तारको जालोले शहरलाई कुरुप बनाएको स्थानीय महेश ताम्राकार बताउँछन् । ‘साँच्चै नै यसले बजारलाई कुरुप बनाएको छ,’ उनले भनिन्, ‘तर केही गर्न सकेको छैन ।’ चाँडै नै सम्बन्धित निकायहरुसँग छलफल गरि व्यवस्थापन गर्न योजना बनाउन उनको सुझाव छ । पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न भौतिक संरचनाहरु निर्माण गरिरहँदा उनीहरुलाई नकारात्मक प्रभाव पार्ने अव्यवस्थीत संरचनाहरुलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थीत गर्नु पर्दछ । जसले गर्दा सामान्य आकर्षणबाट पनि पर्यटकहरुको मन जित्न सकिन्छ ।

प्रदेश १ को समृद्धिको आधार

पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ ओटा जिल्ला समेटिएको १ नम्बर प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र समेटिएको छ । प्रदेशमा १ सय ३५ स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ ओटा गाउँपालिका यो प्रदेशमा छन । प्रदेशका चौधै जिल्लामा गरी करीब साढे ४५ लाख जनसंख्या छ । स्रोतसाधनले सम्पन्न यसले कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि प्राप्त हुन सक्छ । लगानी गर्ने वातावरण र स्रोतसाधन परिचालन गर्न सक्ने नेतृत्वको अभाव छ । सुशासन हुन सक्यो भने मात्र लगानी दीर्घकालीन र दिगो भएर जनताले पनि प्रतिफल पाउन सक्छन् । नेपालमा औद्योगिक विकासको शुरुआत यही प्रदेशबाट भएको हो । खनिजदेखि अन्य सबै स्रोतको भण्डार यहीँ छ, मात्र सुशासनको खाँचो छ । प्रदेश १ मा विकासको मुख्य आधार पर्यटन हुन सक्छ । यस्तै, कृषि, जलविद्युत्, उद्योगको पनि पूर्वाधार बनाउँदै, थप्दै विकासमा अघि बढ्दा समृद्ध प्रदेश बन्छ । धरानमा सम्पन्न एउटा कार्यशालामा कार्यपत्र प्रस्तोता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले हालसम्म प्रदेश १ मा १२ हजार ९ सय ५३ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको जानकारी गराए । यो प्रतिशतमा कुलमध्ये १६ दशमलव १९ हो भने प्रदेश नं ७ र ५ पछिको ऊर्जा क्षमता हो । तर, योभन्दा पनि बढी विद्युत् उत्पादन क्षमता प्रदेश १ मा भएको उनको भनाइ छ । प्रदेश १ मा भएको तमोर, अरुण, दूधकोशी, लिखु, सुनकोशी, सप्तकोशीलगायत अन्य नदीमा २६ हजार ५ सय ४१ मेगावाटको जलविद्युत् उत्पादन क्षमता छ । तर, हालसम्म तमोरमा १६ मेगावाट, अरुणमा १०.६ मेगावाट र अन्यमा ७३.७ गरी सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । सबैभन्दा बढी प्रदेश ७ मा २२.६९ प्रतिशत र ५ मा १७.५४ प्रतिशत क्षमता छ । जलविद्युत्बाट विकास र समृद्धिको ठूलो सम्भावना छ । सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान झापाको कचनकवलसमेत समेटिएको यो प्रदेशका हिमाली र पहाडी अनि केही तराईका क्षेत्र पर्यटकीय दृष्टिले महŒवपूर्ण छन् । पाथिभरा, वराहक्षेत्र, हलेसीजस्ता धार्मिक पर्यटनका केन्द्र पनि यो प्रदेशका आकर्षण हुन् । जैविक विविधता यहाँको अर्को विशेषता हो । कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गुराँसको राजधानीका रूपमा चर्चित तीनजुरे मिल्के जलजले क्षेत्रजस्ता पर्यटकीय आकर्षणका क्षेत्रको उपयोग गरी अधिकतम लाभ लिन सकिने अवस्था छ । सरकारको नीतिगत योजना अभाव र पर्यटनसँग सम्बद्ध सरकारी संयन्त्रहरू तल्लो तहसम्म नहुँदा पर्यटनले गति लिन सकेको छैन । प्रदेश नं १ मा पर्यटन प्रोडक्ट र ब्रान्ड तयार गर्न नसक्दा पनि पछि परेको हो । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यवहारको पनि अभाव छ । पर्यटन विकासमा पनि सहकारिताको प्रयोग र अभ्यास गर्नुपर्छ । एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहुआकर्षण, एक गाउँ एक लगानीको अवधारणामा जानुपर्छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्राकृतिक स्रोतको भण्डार छ । मेची, कोशी, अरुण, तमोर, माइलगायत प्रसिद्ध नदी–खोला यहीँ पर्छन् । प्राकृतिक स्रोत र मौलिक सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था छ । पर्यटन विकास गर्न झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा ‘चिया पर्यटन’ को बेग्लै प्याकेज बनाउन सकिन्छ । यो प्रदेशको पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकास गुरुयोजना बनाउन आवश्यक छ । र्‍याफ्टिङ, क्यायाकिङजस्ता साहसिक जलक्रीडाका लागि यस प्रदेशका नदीहरू उपयुक्त छन् । यसक्षेत्रमा रहेका झर्नाहरूमा क्यानोनिङ विकास गर्न सकिन्छ । रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउन्टेन म्याराथन, हट बेलुनजस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छ । राजधानी र पहाडी÷हिमाली क्षेत्र आउजाउ गर्न हवाइ सुविधा छ । विराटनगर, भद्रपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, खोटाङका लामिडाँडा, खाडीडाँडा र खामखर्क, सोलुखुम्बुको नाम्चेमा गरी १३ ओटा विमानस्थल यहाँ छन् । पूर्व–पश्चिम राजमार्ग, मेची, कोशी राजमार्ग, हुलाकी मार्ग, सिद्धिचरण राजमार्गलगायत सञ्चालनमा छन् । प्रदेश १ प्रकृति, हावापानी र भूगोलले खाद्य भण्डारका रूपमा रहेकाले हिमाल, पहाड र तराई सबै क्षेत्रमा बाली लगाउन मिल्छ । प्रदेश १ मा समुद्र सतहबाट ५० मीटरदेखि ५ हजार मीटर उचाइसम्म कृषि तथा पशुपालन गरिँदै आएको छ । कृषिबाट पर्यापर्यटनको अवधारणा पनि विकास गर्न तराईका मोरङ, सुनसरी र झापा अन्न उत्पादनका भण्डार मानिन्छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छन् । वर्षमा सरदर १३ लाख मेट्रिकटन धान यी क्षेत्रमा उत्पादन हुन्छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कृषिक्षेत्रको आधुनीकीकरण गर्न सके प्रदेशभरलाई पुग्ने खाद्यान्न यहाँ उत्पादन हुन सक्छ । औद्योगिक हिसाबले पनि प्रदेश अग्रणी छ । नेपालकै पहिलो उद्योगका रूपमा कहलिएको विराटनगर जुटमिल स्थापना भएपछि विस्तारै खुलेका उद्योगहरूका कारण यहाँ ‘सुनसरी–मोरङ औद्योगिक कोरिडोर’ स्थापना भएको छ । कोरिडोर क्षेत्रमा ठूला–साना गरी ५ सयभन्दा बढी उद्योग छन् । औद्योगिक–व्यापारिक दृष्टिले महŒवपूर्ण यो प्रदेशमा आर्थिक विकासको प्रशस्त सम्भावना छ । चीनसँगको किमाथांका नाका, ताप्लेजुङको ओलाङचुङगोला, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको जोगबनी र सुनसरीको भण्टाबारी नाका व्यापारिक दृष्टिले महŒवपूर्ण छन् । प्रदेश १ मा आर्थिक विकासका प्रचुर सम्भावना छ । तर, सम्भावना दोहनमा राजनीतिक नेतृत्वमा स्पष्ट दृष्टिकोणको अभाव छ । नीतिगत अन्योल र अपर्याप्त लगानीका कारण प्रदेश १ ले अपेक्षित गति लिन नसकेको हो । कृषि, पर्यटन, जलस्रोत र उद्योग यहाँको विकासको मूल आधार हुन् ।

घडीको सुई चार महिना एकै ठाउँमा

पूर्वको चर्चित र सुन्दर सहर धरान उपमहानगरमा पर्यटकको मुख्य आकर्षण भानु चोकमा अवस्थित घण्टाघर पनि हो तर विगत चार महिनादेखि घण्टाघरको घडी बन्द छ । झट्ट हेर्दा सबैभन्दा पहिला देखिने घण्टाघरको घडीले नै काम नगरेपछि यो फिक्का भएको छ । यहाँ पूर्व–पश्चिम जाने बाटो, बस बिसौनी र बजारीकरण गर्ने स्थान पनि भएकोले यसलाई धरानको मुख्य अङ्ग पनि भन्न सकिन्छ । धरानमा एसियाकै ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चलकै ठूलो क्याम्पस महेन्द्र क्याम्पस, हातीसार क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस छन्, जसले गर्दा विद्यार्थी, अस्पतालमा आउने बिरामी तथा धरानबाट

धरानमा ‘प्याराग्लाइडिङ’ तालिम केन्द्र

पछिल्ला दिनमा खेल पर्यटनको आकर्षण बन्न थालेको ‘प्याराग्लाइडिङ’ को तालिम केन्द्र स्थापनाका लागि पहल थालिएको छ । नेपाल प्याराग्लाइडिङ ह्याङग्लाडिङ संघ, केन्द्रीय समिति र सुनसरी जिल्ला समितिबीच तालिम केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ ।