पुस २७, काठमाडौं । मंगलवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजनपछि पनि ५ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ ।
नेप्सेले कम्पनीले प्रस्ताव गरेको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ६६० को आधारमा नेप्सेले ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २ हजार ६१४ तोकेको हो ।
समायोजनपछि पनि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३८ दशमलव ७१ ले बढेको छ । प्रतिकित्ता रू. २ हजार ६६६ दशमलव ५० मा खुला भएको कम्पनीको शेयरमूल्य अधिकतम रू. २ हजार ८४९ सम्म पुगेर अन्तिम मूल्य रू. २ हजार ७५३ कायम भएको हो ।
यसदिन कम्पनीको रू. ६ करोड ७८ लाख ५३ हजार बराबरको २४ हजार ५७२ कित्ता शेयर कारोबार भएको छ ।
यस वर्ष कम्पनीले ४० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यस वर्ष कम्पनीले गत वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड ९० लाख ५३ हजारको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ ६ गते आठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा क्रिक रिसार्ट, धादिङबेसी, धादिङमा बिहान ११ बजे सभा शुरु हुनेछ । सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आज अर्थात् मंगलवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा सोमवार (पुस २६ गते) सम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।