काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तरराष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तरराष्ट्रिय उडान (काठमाडौं–दुबई) भरेका हुन् । पाइलट भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले शनिवार काठमाडौं–दुबईको अन्तरराष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
‘पाइलटद्वय भावना पन्त र सिर्जना राउतले पहिलोपटक अन्तरराष्ट्रिय उडान गर्नुभएको हो । निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड हो । आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ । अन्तरराष्ट्रियमा यो पहिलो हो,’ उनले भनिन् । निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिवार राति ११ बजे काठमाडौंबाट दुबई लगेका हुन् ।
उनीहरू दुबईबाट यात्रु लिएर बुधवार बिहान काठमाडौं फर्कने उडान तालिका छ । बुधवार अन्तरराष्ट्रिय महिला दिवसका दिन हुने उक्त उडानमा सम्पूर्ण चालक दलका सदस्य महिला हुने बताइएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानमा चार जना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन् । रासस