आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

असार ८, काठमाडौं । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।  अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । काठमाडौं–दोहा गन्तव्यमा दुवै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौं–स्तानबुलमा साताको दुई, काठमाडौं–दुबईमा सातामा चार उडान हुने जानकारी दिइएको छ । काठमाडौं–दमाम गन्तव्यमा दुई, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौं–छेन्दु र क्वाङचाओ गन्तव्यमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ ।