कोरोना भयावह : आईसीयू शय्या नपाउँदा छट्पटाउँदै मृत्यु

आईसीयू शय्या नपाउँदा रुपन्देहीको देवदहकी १ कोरोना संक्रमित महिलाले अस्पतालकै ‘फिवर क्लिनिक’मा छट्पटिएर ज्यान गुमाएकी छन् । रुपन्देहीको देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको मंगलवार साँझ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको क्लिनिकमा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका जनप्रतिनिधिकी पत्नी हुन् । ३ दिनअघि उनलाई ज्वरो आएपछि नजिकैको क्लिनिकमा गएर औषधि ल्याएर खाएकी थिइन । मंगलवार बिहान उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो । बिहान ९ बजे अस्पताल ल्याइएकी मह...

सम्बन्धित सामग्री

अहिले निजीक्षेत्रले नाफा कमाउने बेला होइन

गतवर्ष कोरोनाको पहिलो लहर देखिएपछि लामो समय गरिएको बन्दाबन्दीका कारण थलिएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै थियो, निजीक्षेत्र तङ्ग्रिदै थियो । तर बन्दान्दी खुलेको १ वर्ष नपुग्दै कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहर बढेपछि त्यसको नियन्त्रणका लागि देश पुनः बन्दाबन्दीको अवस्थामा पुगेको छ । यसले निजीक्षेत्रमा परेको प्रभाव, कोभिड नियन्त्रणमा निजीक्षेत्रको भूमिका, आगामी बजेटमा उद्योगी/व्यवसायीको अपेक्षा लगायत विषयमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार : कोभिडले थलिएको अर्थतन्त्र विस्तारै तङ्ग्रिन लागेकै बेला कोरोनाको दोस्रो लहरका कारण देश पुनः बन्दाबन्दीको अवस्थामा पुगेको छ । यसले समग्र निजीक्षेत्रमा कस्तो असर परेको छ ? कुल गार्हस्थ्य उत्पादनको क्षेत्र हेर्दा एक दिन मात्र बन्द नेपाल बन्द हुने हो भने औसत रू. १० अर्बको नोक्सान हुने गरेको छ । अघिल्लो बन्दाबन्दीकै बेला थलिएको निजीक्षेत्र अहिले अझै मारमा परेको छ । विशेषगरी साना तथा मझौला उद्योग प्रभावित भएका छन् । कोभिडको दोस्रो लहरले अहिले मुलुकमा जुन किसिमको अवस्था सृजना भएको छ, संक्रमण दर बढ्दै गएको छ, त्यो अघिल्लो वर्षको भन्दा धेरै भयावह भइसकेको छ । यो गम्भीर चिन्ताको विषय हो । अब के हुन्छ, कस्तो हुन्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन । मंगलवारकै तथ्यांक हेर्दा पनि २२५ को मृत्यु भएको छ । यो भनेको डरलाग्दो अवस्थामा हामी पुगेका छौं । अरू जे जस्तो भए पनि अहिले हामीले सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको जीवन रक्षा नै हो । स्वास्थ्यलाई नै प्राथमिकता दिएर कोभिडविरुद्ध लड्नुपर्छ । मुलुकमा अहिले कोभिड विरुद्धको औषधि, अक्सिजन, अक्सिजन सिलिन्डर, आईसीयू बेडको अभाव छ । व्यवस्थापनको पाटोमा हामी एकदमै कमजोर छौं । सरकार र निजीक्षेत्र सबैले यो स्वीकार्नैपर्छ कि, स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा हामी नराम्रोसँग चुकेका छौं । सरकारले अनुशासित बनाउन खोजेर नियन्त्रण गरिदिने मात्र गरेको देखिन्छ । सरकारले कसरी नियन्त्रण गर्न खोज्यो भने अक्सिजन स्वास्थ्य मन्त्रालयको सिफारिशमा सीसीएमसीमार्फत मात्र अस्पताललाई दिने भन्यो । तर यसको कार्यान्वयन पक्ष एकदम फितलो भयो । अत्यावश्यक स्वास्थ्य सामग्री र अक्सिजनको माग बढेको छ, आपूर्ति कम छ । त्यसैले सुरक्षाकर्मी राखेरै राम्रोसँग परिचालन गरौं, कालोबजारी गर्नेलाई कानून अनुसार दण्डित गरौं भन्ने प्रस्ताव सीसीएमसीको बैठकमा मैले पनि राखेको थिएँ । तर सरकारबाट त्यसतर्फ काम भएको पाइएन । नियन्त्रण मात्र गर्ने भन्ने देखियो, गर्नुपर्ने ठाउँमा ठोस कार्यान्वयन नै देखिएन । अहिले सरकारको निर्णयका कारण अस्पतालले अक्सिजन भर्न चाहेर पनि पाएका छैनन् भने उद्योगले अक्सिजन उपलब्ध गराउन सकेका छैनन् । सरकारले यो संवेदनशील अवस्थालाई ध्यानमा राख्नुपर्छ । किनकि अक्सिजन आपूर्तिमा एक मिनेटको ढिलाइले पनि सयौं बिरामीको ज्यान जोखिममा पर्छ । यसमा गम्भीर हुनुपर्छ । सरकारले नियमनको तयारी गर्दै गर्दा संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई आवश्यक सिलिन्डरको प्रबन्ध गर्न दिनुपर्ने थियो, तर त्यसो हुन सकेन । सरकारले सिफारिशविना सिलिन्डर नबेच्नू भनियो । आपूर्ति सहज बनाउने सम्बन्धमा भने सरकारको उपस्थिति भने देखिएन । यसमा राज्य जवाफदेही हुनुपर्छ । यो महामारी विरुद्ध लड्न सरकार–निजीक्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्छ । यसका लागि निजीक्षेत्र तयार छ । सरकार–निजीक्षेत्र सहकार्य नभएकै हो त ? सरकार र निजीक्षेत्रबीच सहकार्यको पाटो कमजोर रह्यो । अक्सिजनका लागि मन्त्रालयको सिफारिश अनिवार्य गरेर अक्सिजनको अभावमा अस्पतालले चाहेर पनि बिरामीको उपचार गर्न नसकेको विषयले पनि यसलाई स्पष्ट पार्छ । सर्वप्रथम त जीवन जोगाउनुपर्छ । त्यसका लागि एक मिनेट पनि ढिलासुस्ती हुनुहुँदैन । सरकार मुलुकको अभिभावक हो । नागरिकको स्वास्थ्यजस्तो गम्भीर विषयमा उसले अभिभावकत्व लिनुपर्छ । यसमा सहयोग गर्न चेम्बर तयार छ । यसैगरी महामारीको बेला निजीक्षेत्रले निस्वार्थ सहयोगको भावना राख्नुपर्छ । नाफाको लोभ नगरी सहयोग गर्नुपर्छ । सीमित स्रोतबाट संगठनात्मक रूपमा होस् वा व्यक्तिगत रूपमा महामारी विरुद्धको लडाइँमा निजीक्षेत्र सहभागी हुनुपर्छ । संकटका बेला मुनाफा कमाउने दाउमा लाग्नुहुन्न । अत्यावश्यक सामग्रीको कालोबजारी गर्नेलाई राज्यले कानूनसम्मत दण्ड–सजाय गर्नुपर्छ । अहिले कोरोनाको आपत्कालीन उपचारमा प्रयोग हुने रेम्डिसिभर औषधि र अक्सिजनको अभाव छ । यसलाई जुटाउन लाग्नुपर्छ । सरकारले निजीक्षेत्रलाई विश्वास गरेर साझा सहकार्यबाटै कोभिड विरुद्ध लड्नुपर्छ । नियम बन्दै छ, हेरौंला, बुझौंला भन्ने अवस्था अहिले छैन । कोभिड विरुद्धको लडाइँमा निजीक्षेत्रको उपस्थिति देखिएन भन्ने चर्चा पनि हुने गरेको छ । यसमा अहिले निजीक्षेत्रको सहभागिता कस्तो छ ? चेम्बरको तर्फबाट भन्नुपर्दा हामीले कोभिडबाट प्रभावितका लागि उपत्यकामा एम्बुलेन्स सेवा शुरू गरेका छौं । खाली सिलिन्डर संकलन गरेर अस्पताललाई दिएका छौं । स्वास्थ्य संस्थासँग सहकार्य गरेर हटलाइन नम्बरसहित बिरामीको उपचारमा सहयोगका लागि प्रयत्न गरिरहेका छौं । उपत्यका बाहिरका जिल्लामा कोभिड केयर सेन्टर राख्ने, राहत वितरण गर्ने लगायत काम पनि गरिरहेका छौं । कुनै पनि स्वार्थविना सहयोग गर्न चेम्बर तयार छ । सोही अनुसार अग्रसरता पनि लिएको छ । तर सरकार र निजीक्षेत्रबीच सहकार्यको पाटो फितलो भयो । सरकारले गरेको कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको नियमन ठीक हो । तर कोभिडको प्रतिकार्यमा जुन रूपमा काम हुनुपर्थ्यो, त्यो हुन सकेको पाइएन । बन्दाबन्दीअघि नै आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि अर्थमन्त्री, गर्भनर लगायत सरोकारवाला निकायसँगको भेट निजीक्षेत्रले तीव्र बनाएको थियो । आउँदो बजेटमा निजीक्षेत्रको अपेक्षा कस्तो छ ? राज्य सञ्चालनका लागि सरकारले आवश्यकता र औचित्यका आधारमा आफ्नै किसिमले बजेट ल्याउने गर्छ । तर अहिलेको विषम परिस्थितिमा मुख्यगरी कोभिड प्रभावित जनताको स्वास्थ्य सुरक्षा, औषधि र खोपको उपलब्धता लगायत विषयलाई प्राथमिकतामा राखेर बजेट आउनुपर्छ । अहिले सरकारले जनतालाई निःशुल्क खोप दिइरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ । तर भोलिका दिनमा किनेर लगाउनुपर्ने अवस्था आएमा नसक्नेलाई पनि खोप उपलब्ध गराउने र चाँडै सबैको पहुँचमा पुग्नेगरी निजीक्षेत्रलाई पनि खोप विक्री गर्न दिने व्यवस्था गर्नुपर्छ । सरकारी प्रक्रियामा ढिलासुस्ती हुने भएकाले अहिले माग धेरै भयो, आपूर्ति कम भयो । विगतमा व्यवसायले व्यापार व्यवसायबाट धेरै कमाए होलान् । तर यो बेला निजीक्षेत्रले निस्वार्थ सेवा गर्ने समय हो । यो महामारी अन्त्य हुन २–३ वर्ष पनि लाग्ला । तर हाम्रो जीवन त धेरै लामो छ । महामारीबाट बच्न सके त्यसपछि कमाउँला भन्ने सोच्नुप¥यो । यस्तो बेलामा नाफाबारे सोच्नु भएन । सरकार–निजीक्षेत्र सहकार्य गरेर महामारीसँग जुध्न सहज हुनेगरी बजेट ल्याउनुपर्छ ।  यस्तै आन्तरिक ऋण आवश्यक भएमा मात्र लिनुपर्छ । वैदेशिक ऋण नै ल्याएर बजेट सञ्चालन गर्नु राम्रो होइन । मुलुकमा स्वरोजगारी वृद्धि तथा उत्पादनमुखी व्यवसायलाई प्राथमिकता दिएर आयात प्रतिस्थापनमा सघाउनेगरी बजेट आउनुपर्छ । अहिले ५० प्रतिशतजति मात्र करको दायारामा छन् । सबैलाई करको दायरामा ल्याउनुपर्छ । बिचौलियाले गर्दा कृषकले मूल्य नपाउने, उपभोक्ताले महँगो मूल्य तिनुर्ने अवस्था छ । यसलाई नियमन गर्नुपर्छ । दर्ता नभई बिचौलियालाई काम गर्न दिनुहुन्न, कारबाही गर्नुपर्छ । ब्रोकरको काम गर्नेलाई दर्ता भएको कम्पनीबाट लाइसेन्समार्फत मात्र कारोबार गर्न दिनुपर्छ । शेयर कारोबारमा जस्तै घरजग्गा लगायतमा काम गर्नेलाई पनि नियमन गर्नुपर्छ । अघिल्लो पटकको बन्दाबन्दीपछि पनि पूर्ण क्षमतामा चल्न नपाउँदै उद्योगधन्दा पुनः बन्द हुने अवस्था आएको छ । उद्योगलाई पुनः सञ्चालनका लागि के गर्नुपर्ला ? अहिलेको महत्त्वपूर्ण काम भनेकै स्वास्थ्य रक्षा हो । एकाध महीना स्वास्थ्य मापदण्ड कडाइका साथ कार्यान्वयन गरेर बन्दाबन्दी गर्न सकिएला । तर मुलुकले धेरै लामो यसलाई थेग्न सक्दैन । कोरोनाको दोस्रो लहरको ‘चेन ब्रेक’ गरेर, स्वास्थ्य मापदण्ड कडाइका साथ कार्यान्वयन गरेर उद्योग कलकारखाना खोल्दै जानुपर्छ । यसका लागि सम्बन्धित मन्त्रालयमा चेम्बरको तर्फबाट हामीले परिपत्र गरेका छौं । चीनले पनि सबैलाई खोप लगाइसकेको छैन । तर उसको अर्थतन्त्र सामान्य अवस्थामै छ । हामीले चीनबाट पाठ सिकेर त्यसअनुसार अघि बढ्नुपर्छ । रेड, एल्लो र ग्रीन जोन बनाएर उद्योगधन्दा सञ्चालन गर्नुपर्छ । सरकारसँग भएका स्रोतसाधन परिचालन गरेर अर्थतन्त्र चलायमान बनाउनेगरी उद्योग सञ्चालन गर्नुपर्छ । यसैगरी, अहिले काम गर्न पाइएको छैन । कर राजस्व तिर्नुपर्छ । तर अहिलेको विषम परिस्थितिले कर्मचारी कार्यालय जान नपाएकाले खातापाता एक ठाउँमा, कर्मचारीको बसाइ अर्को ठाउँमा भएको छ । निषेधाज्ञाले कार्यालय पुग्ने अवस्था छैन । त्यसैले तत्कालका लागि कर राजस्व बुझाउने मिति सारेर सहज बनाइदिनुपर्छ ।

भयावह बन्दै कोरोनाको दोस्रो लहर

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार एकैदिन २८ जनाको मृत्यु भएको छ, जुन नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख ११९ मा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् । तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए । ‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् । कोरोना संक्रमणको दर बढ्दै गएपछि गत साताको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै राति ८ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कोरोनाको दोस्रो लहरलाई सामान्य रूपमा नलिऔं

जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए । यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । भारतमा यूके भेरियन्टको कोरोनाको दोस्रो लहर शुरू भएपछि पनि सतर्कता नअपनाएको कोरोना संक्रमणको चाप बढिसकेर भेन्टिलेटरको अभाव देखिन थालेको छ । अन्तिम बेलामा भर्खरै मात्र सरकारले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो लहरको सम्बन्धमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार : पछिल्लो समय संक्रमणको अवस्था कस्तो छ ? परीक्षणमा कोरोना संक्रमणको दर २ प्रतिशतभन्दा तल झरिसकेकोमा पछिल्लो समय ह्वात्तै बढ्दै गएर अहिले संक्रमण दर २० प्रतिशतसम्म पुगिसकेको छ । सिकिस्त बिरामीको संख्या बढ्दो छ । अस्पतालका शय्या, भेन्टिलेटर र आईसीयु भरिन थालेका छन् । मंगलवार मात्रै १ हजार ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । छोटो समयमै यति ठूलो संख्यामा संक्रमण देखिनु त्यति राम्रो संकेत होइन । अहिलेको अवस्था गम्भीर देखिन्छ । अब केही दिनमै अस्पतालमा शय्या नै नपाउने अवस्था देखिन सक्ने सम्भावना देखिएको छ । लगभग आईसीयू र भेन्टिलेटर भरिसकेको छ । अब आगामी दिनमा बिरामी आए भने ठाउँ पाउन गाह्रो हुने अवस्था सृजना भएको छ । अघिल्लो वर्षदेखि नै दोस्रो चरणको कोरोना फैलिन सक्ने भएकाले सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिइरहेका थिए । तर सरकार पक्षबाटै पनि भिडभाडका क्रियाकलाप भएको पाइयो । यो बीचमा के गर्न सकिन्थ्यो ? जहाँ धेरै मानिसको जमघट हुन्छ, त्यहाँ कोरोनाको जोखिम त्यति नै धेरै हुन्छ । अघिल्लो वर्षबाट हामीले पाठ सिकेनौं, वास्ता गर्न छाड्यौं । बन्दाबन्दी सकिएसँगै कोरोना संक्रमण शून्य भए जसरी नागरिकदेखि सरकारमा भएकाहरूबाट समेत भीडभाडका क्रियाकलाप गरियो । हुलमुल, जमघट नगरौं भनेर हामीले भन्दै आएका हौं । यो कतिपयलाई मन नपर्ला । तर कोरोनालाई सामान्य रूपमा लिने हो भने अवस्था भयावह हुन सक्छ । अहिले अस्पताल लगभग भरिइसकेको अवस्था छ । दोस्रो लहरको यो शुरुआती समय हो, उत्कर्षमा पुगेकै छैन । आउँदो केही हप्तामै हाम्रा लागि समय निकै चुनौतीपूर्ण हुन सक्छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम राखौं । धेरै संक्रमित भएपछि अस्पतालमा ठाउँ पाउने अवस्था रहँदैन । भौतिक संरचना जे जति छ, त्यसले धान्न सक्दैन । जनशक्तिको अभाव पनि हुन्छ । त्यो बेला कतिपय बचाउनै सकिने संक्रमित छन् भने पनि उपचार नै नपाएर मृत्यु हुने अवस्था आउन सक्छ । यो सुन्दा नराम्रो लाग्छ, कतिपयलाई मन नपर्न पनि सक्छ । तर यथार्थ यही हो । मैले २०औं वर्षसम्म सरुवा रोगमा काम गरेको अनुभवका आधारमा भन्नुपर्दा कोरोनाको संक्रमण सबैभन्दा खतरनाक छ । त्यसैले समयमै सतर्कता अपनाउन आवश्यक छ । यसबीचमा हामीले कोरोना संक्रमण नियन्त्रणका लागि पनि चुस्त तयारी गर्नुपर्ने थियो । बन्दाबन्दीसम्म गरेर पहिलाको स्थितिमा पुग्दा कुन बेला के गर्ने भन्ने तयारी गर्नुपर्थ्यो । यो हामीलाई सिक्ने राम्रो समय थियो । तर त्यो चाहिँ देखिएन । सरकारले यो बीचमा पनि कन्ट्र्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेशन लगायतलाई निरन्तरता दिनुपर्थ्यो । यसलाई व्यापक बनाउनुपर्थ्यो । संक्रमणको लहर रोक्ने, कम गर्ने हो भने नयाँ कुरा थप्न त्यति धेरै आवश्यक छैन । पहिले अपनाइएकै मापदण्डलाई निरन्तरता दिन सके धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न सकिन्छ । नयाँ लहरका रूपमा देखिएको यूके भेरियन्टको कोरोना अघिल्लो लहरको भन्दा के फरक छ ? पहिलो लहरमा वृद्धवृद्धा र दीर्घरोग भएका व्यक्तिमा बढी जोखिम देखिएकोमा अहिले भने ५० वर्षमुनिका स्वस्थ व्यक्ति र बालबालिकामा पनि जोखिम देखिएको छ । अहिले सबैभन्दा बढी संक्रमण युवामा देखिएको छ, त्यो पनि जोखिमसहितको छ । बालबालिका पनि संक्रमित देखिएका छन् । नयाँ भेरियन्ट अलिकति तीव्र गतिमा फैलिने खालको हुन्छ भनेर पहिले अनुसन्धानले देखाएको थियो । अहिले नेपालमा पनि हरेक साता गएको वर्षभन्दा पनि छिटो छिटो फैलिएको छ । सरकारले हालै मात्र विद्यालयदेखि केही क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । संक्रमण फैलिन नदिन के के गर्न आवश्यक छ ? बन्द गर्ने काम उचित होइन । सामान्यतया म बन्दाबन्दीको पक्षमा कहिल्यै रहिनँ । किनभने बन्दाबन्दी समाधान होइन । संक्रमण नियन्त्रणका लागि यो अल्पकालीन विकल्पका रूपमा देखिएको छ । यसमा दुईमत छैन । सरकारको प्रयास हुँदाहुँदै पनि नियन्त्रण गर्न सकिएन भने मात्रै छोटो समयका लागि बन्दाबन्दी गर्न सकिन्छ । तर यो आत्मसर्मपण गरेजस्तो हो । सबैभन्दा महत्त्वपूर्ण त स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो जीवनशैली बदल्नु हो । भौतिक दूरीसहितको नयाँ जीवनशैलीमा हामीले आफूलाई तयार गर्नैपर्छ । यसको विकल्प नै छैन । तर धेरै लामो समयसम्म बन्दाबन्दी गरेर कुनै समाधान हुँदैन भन्ने प्रमाणित भइसक्यो । बन्दाबन्दी गरेर केही दिन घरमा बसेर फेरि भीडभाड गरेर बस्ने हो भने त्यसको पनि कुनै मतलव हुँदैन । कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ । अहिले देखिएका संक्रमितमध्ये खोप लगाएका संक्रमित कति छन् र उनीहरूमा कत्तिको जोखिम देखिन्छ ? खोप लगाएकाहरू सामान्य केही संक्रमित देखिने गरेका छन् । तर हालसम्म खोप लगाएकामा संक्रमणको जटिल समस्या भने देखिएको छैन । खोप लगाउँदैमा संक्रमण नहुने भन्ने हुँदैन । जोखिमको अवस्था हुन्छ, संक्रमण हुने र सार्न सक्ने सम्भावना हुन्छ । त्यसैले सबैलाई खोप लगाएर अवस्था सामान्य नहोउन्जेल भौतिक दूरी कायम राखी स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प छैन । पछिल्लो समय भारतमा भयावह रूपमा कोरोना फैलिएको छ । त्यहाँ काम गर्न गएका नेपाली फर्किने क्रम पनि बढेको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन के गर्नुपर्छ ? नेपालमै समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ । गतवर्ष सीमामा सतर्कता अपनाए पनि पुग्ने अवस्था धेरै हदसम्म रहेकोमा यो वर्ष समुदायस्तरको र सीमाको कोरोना नियन्त्रणका लागि सरकारले काम गर्नुपर्ने देखिन्छ । संक्रमणको चक्र त चलिनै रहेको छ । तर यसलाई व्यापक हुन नदिन सीमामै संक्रमितको पहिचान गरेर व्यवस्थापन गर्न सकिएमा धेरै सहज हुन्छ । त्यसका लागि स्थानीय निकायले पनि सक्रियता बढाउन जरुरी छ । बालबालिकामा पनि कोरोना संक्रमण फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न के गर्नुपर्छ ? गतवर्ष विशेषगरी वृद्धवृद्धामा बढी संक्रमण देखिएकोमा यस वर्ष युवा र बालबालिकामा पनि देखिएको छ । बालबालिकाको आइसोलेशन र उपचार प्रक्रिया फरक हुन्छ । त्यसैले बालबालिकालाई केन्द्रित गरी छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।