साउन १७, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।अव कम्पनीको शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीको शेयर एमकेएलबी स्टककोडबाट सूचीकृत भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि कम्पनीको आईपीओ कारोबारमा आउने भएको हो ।कम्पनीले सूचिकरण पश्चात दिन सम्पूर्ण आरटिएस सम्बन्धि सेवा एनएमबि क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने पनि नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
कम्पनीले आईपीओको बाँडफाँट गत असार २८ गते गरेको थियो । १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुमध्ये गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।
कम्पनीले पहिलो चरणमा बाँफाँट गरी बाँकी रहेको दुई कित्ता शेयरमध्ये २० कित्ता भन्दा बढी माथ गर्ने दुई जना आवेदकलाई गोलाप्रथाबाट थप एक एक कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले असार १७ गते देखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको ,१९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधरको लागि निष्कासन गरिएको थियो ।