मान्छेहरू भन्ने गर्छन्, ‘रुखहरूका पात झर्छन् र फेरि नयाँ पालुवा पलाउँछन् । मानिसको जीवनक्रम पनि त्यस्तै हो । हरेक मिनेट नयाँ जीवनले धरतीमा पदार्पण गर्छ र त्यसरी नै कतिले इहलीला समाप्त गरेर धरतीबाट विलीन हुन्छन् ।
जन्म र मृत्युको कुरा गर्दा पातसँग तुलना गरेको देख्दा मलाई भने उदेक लागेर आँउछ । रुखको त जरा यथावत् हुन्छ । हाँगाबिँगा पनि हुन्छन् । बस्, पातसम्म न झर्ने हो । पात झर्नुलाई मान्छेको मृत्युसित तुलना गर्न मिल्छ त ? कहाँ पात, कहाँ जीवन । म मेरो अस्तित्वभित्र कतै रहेको प्राण भनिने कुनै अमूर्त कुरालाई बडो जतनले सम्हाल्दै घरअगाडि उभिएका रुखबाट पात झरेको हेर्दैछु । भयभित पनि भइरहेकी छु । झरेको पात जति हेर्छु मनभित्र उति धेरै डर बढिरहेको छ । म किन यसरी डराएकी ? के मैले पनि पातको नियति भोग्नुपर्छ कि भन्ने आभास भएको हो मलाई ?